भर्खरै :

जनता झुक्याउने राजनीतिक शब्दावलीको खेल

शनिबार माओवादी केन्द्रका प्रदेश सम्मेलनहरूको अनलाइन उद्घाटनको क्रममा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आगामी महाधिवेशनमा ‘क्रमभङ्ग ल्याउने कार्यक्रम’ को तयारी गरिरहेको बताए । सुन्दा के के न जस्तो लाग्ने राजनीतिक शब्दावली (जार्गन) प्रयोग गर्नमा माओवादी, विशेषतः विगतको मसाल समूह कहलिएका छन् । जनतालाई राजनीतिकरूपमा सचेत बनाउन लेखिएका राजनीतिक पर्चाहरूमा समेत जटिलभन्दा जटिल राजनीतिक शब्दावली प्रयोग गरी विषयवस्तुप्रतिको बुझाइ अझ गोलमटोल बनाउनु यो प्रवृत्तिको विशेषता हो । तर, यो तरिकाले जनतालाई झुक्याउन, भ्रममा राख्न र के के न भइरहेको जस्तो बनाउन भने काम लाग्ने गरेको छ ।
माओवादी सशस्त्र सङ्घर्षमा छँदा ‘प्रचण्डपथ’ शब्दावलीको प्रयोगले त्यस्तै काम गरेको थियो । माओवादी नेताहरू प्रचण्डपथलाई अनेक विशेषण जोडेर प्रशंसा गरेर थाक्दैनथे । खासमा स्रोता, आम जनता माओवादी नेताहरूले गरेका त्यस्ता जुझारू भाषणका धेरै कुरा बुझ्दैनथे । उनीहरूले प्रयोग गर्ने राजनीतिक जार्गनको शब्दार्थ नबुझेर जनता रणभुल्लमा पर्थे । नबुझेकै कारण के के न भइरहेको होला भने मनोविज्ञानबाट चुपचाप बस्थे । धेरै कार्यकर्ताहरूको हालत पनि उस्तै हुन्थ्यो । नेताहरू यस्तै शब्दावली फेरि फेरि प्रयोग गरेर जनतालाई लगातार झुक्याइरहेका हुन्थे । माओवादीहरूले त्यत्तिबेला खुब प्रशंसा गर्ने गरेको प्रचण्डपथ के हो भन्ने कुरा आज न उनीहरूले व्याख्या गर्न सकेका छन्, न जनताले नै त्यसप्रति कुनै चासो राखेका छन् । त्यो शब्दावली जनतालाई झुक्याउने कुटिलताबाहेक केही नभएको समयान्तरमा पुष्टि भयो ।
शनिबार दाहाल फेरि उही तरिकाबाट नयाँ सिद्धान्तको दाबी गर्दै थिए । खासमा उनको त्यो दाबी आजको राजनीतिक परिस्थितिको अनिवार्य परिणति पनि हो । देशै जितेको आडम्बरले गमक्क फुलेका माओवादीहरूले एमालेलाई पनि माओवादीसँग मिलाएर संसारकै सबभन्दा ठूलो उपलब्धि हासिल गरेको फूर्ति गरिरहेका थिए । तर, कुटिल राजनीतिका पोख्त खेलाडीहरूको चालमा परेर माओवादी घरको न घाटको भएपछि निराश बनेका कार्यकर्ताहरूलाई उत्साहित गर्न दाहाललाई यस्तै केही गर्नैपर्ने बाध्यता थियो । ‘नयाँ कुरा’ भनेर च्युँदोमा हात राखेर बसेका कार्यकर्तालाई उत्साहित बनाउन उनले यस्तो भनेका हुन् । तर, खासमा नयाँ कुरा केही आउने छैन । अब माओवादी केन्द्रबाट क्रान्तिकारी र साँचो समाजवादी सिद्धान्त आउने आशा गर्नु आकाशको फल आँखा तरी मर भन्नेजस्तै हुनेछ । माओवादी केन्द्र पूर्णतः पुँजीवादी पार्टीमा पतन भइसकेको पार्टी हो । काङ्ग्रेस र एमालेजस्तै माओवादी पनि पुँजीवादी भासमा फसिसकेको छ । बदमास ठेकेदारदेखि घुस्याहा सरकारी अधिकारी, कालाबजारीदेखि गुण्डाहरूको सहयोगमा माओवादी अघि बढिरहेको छ । यो चक्रव्युहबाट माओवादी केन्द्रलाई निस्कन सम्भव छैन । चक्रव्युहबाट निस्कने दाहालको चाहनासम्म हुनसक्छ ।
आगामी महाधिवेशनमा दाहालले कुनै ‘युगान्तकारी’, ‘क्रान्तिकारी’, ‘नवीनतम’ कार्यक्रम ल्याएर फेरि पनि कार्यकर्तालाई के के न होला जस्तो पार्न सक्छन् । फेरि पनि जटिल राजनीतिक जार्गन प्रयोग गरी जनतालाई पनि माओवादी ‘नयाँ बाटो’मा हिँडिरहेको भ्रमसम्म छर्न सक्छन् । तर, आजको परिस्थितिसम्म आइपुग्दा माओवादी के हो भन्ने कुरा नेपाली जनताले राम्ररी बुझिसकेका छन् । माओवादीका नेता दाहालले प्रस्तुत गरेको एक्काइसौँ शताब्दीको जनवाद कार्यक्रम पुँजीवादी कार्यक्रम अथवा एमालेको जनताको बहुदलीय जनवादको परिवर्तित रूप हो भन्ने कुरा नेपाली जनताले बुझिसकेका छन् । तसर्थ, अब माओवादीले ठूला कुरा गरेर जनताको आँखामा परिवर्तनकारी देखिने प्रयास अब सफल हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *