भर्खरै :

‘प्रजातन्त्र’ शिखर सम्मेलन र संरा अमेरिकी साम्राज्यवादका झूटहरू !

३२ वर्षअघि संरा अमेरिकाले चलाएको ‘प्रजातन्त्र’ को थोत्रो हतियार !
आजभन्दा ३०–३२ वर्षअघि अर्थात् सन् १९९० को दशकमा प्रजातन्त्रबारे चर्को बहस विश्वभरि चलाइएको थियो । कुन देश प्रजातान्त्रिक र कुन देश अप्रजातान्त्रिक भनेर अमेरिकाले कित्ताकाट गर्दै थियो । प्रजातन्त्रकै नाउँमा संरा अमेरिकाले विभिन्न देशमा हस्तक्षेप तीव्र पारेको थियो । ‘सीआईए’ द्वारा पालित–पोषित तथा प्रायोजित संस्था, व्यक्ति, सङ्गठन, सञ्चारमाध्यम आदि प्रजातन्त्रको हो–हल्ला गर्दै थिए । समाजवादी देशहरूविरुद्ध विषवमन गर्दै थिए । प्रजातन्त्रको अभूतपूर्व लहर आएको दाबी गरियो । ‘प्रजातन्त्र’ को त्यो अभियान आफ्ना विरोधी तह लगाउने, साम्राज्यवादविरोधी नेताहरूलाई सिध्याउने र समाजवादी व्यवस्थाहरू उल्टाउने तथा वामपन्थी सरकार ढाल्ने उद्देश्यका साथ अगाडि बढाइएको थियो ।
त्यही क्रममा सन् १९८९ को नोभेम्बर ९ मा ‘बर्लिन पर्खाल’ ढालियो । अर्थात्, पूर्वी जर्मनीको समाजवादी व्यवस्था ढालियो । त्यो सँगसँगै दशकौँ पुरानो शीतयुद्धमा पुँजीवादको जित भएको व्यापक प्रचार गरियो । अमेरिकी साम्राज्यवादले ठूलो विजयोत्सव मनायो । सन् १९८९ को अप्रिल–जूनमा चीनको पेइचिङमा ‘सीआईए’ प्रायोजित उपद्रव मच्चाइएको थियो । राजधानीको थिआनमन चोकमा भएको त्यो उपद्रव संरा अमेरिकाले प्रजातन्त्रको नाउँमा चिनियाँ समाजवाद समाप्त पार्न गरेको असफल प्रयास थियो । संरा अमेरिका त्यसमा असफल साबित भयो । सोभियत समाजवादलाई सिध्याउनुअघि रणनीतिकरूपमा अर्को विशाल तर तत्कालीन अवस्थामा तुलनात्मक रूपमा ‘कमजोर’ चीनलाई सिध्याउनुपर्छ भन्ने योजनाका साथ अमेरिकाले त्यो पाइला चालेको थियो । तर, उसले अनपेक्षित नतिजा व्यहो¥यो । तत्पश्चात् संरा अमेरिकी साम्राज्यवादको पूरै ध्यान सोभियत सङ्घमा केन्द्रित भयो । त्योभन्दा अगाडि पूर्वी युरोपमा सोभियत सङ्घको प्रभाव मेट्ने र पुँजीवादको पुनः स्थापना गर्ने अभियान सकाइसकेको थियो । पूर्वी युरोपमा सन् १९९० को जून–जुलाईसम्ममा पुँजीवाद पुनःस्थापना भइसकेको थियो । सोभियत सङ्घभित्र र त्यहाँको कम्युनिस्ट पार्टीमा विभाजन ल्याउने कामसमेत उसले सकाइसकेको थियो ।
डिसेम्बर २५, १९९१ मा मस्कोको क्रेमलिन दरबारमा सन् १९१७ देखि फहरिरहेको हँसिया–हथौडा अङ्कित रातो झन्डा खसालियो । विशाल सोभियत सङ्घ पन्ध्र वटा स–साना राज्यमा विभाजित भयो । यी सबै काम संरा अमेरिकी साम्राज्यवादले ‘प्रजातन्त्र’, ‘स्वतन्त्रता’, ‘विधीको शासन’, ‘मानवअधिकार’ को नाउँमा गरेको थियो । ‘प्रजातन्त्र’ संरा अमेरिकी साम्राज्यवादले समाजवादविरोधी हतियारको रूपमा प्रयोग ग¥यो ।
सोभियत समाजवादको अस्थायी हारसँगै विश्व एक धु्रवीय बन्यो । संरा अमेरिकी साम्राज्यवाद ‘एकमात्र महाशक्ति’ को रूपमा देखाप¥यो । तत्पश्चात् ‘प्रजातन्त्र’ कै नाउँमा हमला, हस्तक्षेप, युद्ध झन् तीव्र बन्यो । युद्धको धम्की, युद्धको उत्तेजना, मुक्ति योद्धाहरूको हत्या तथा नरसंहार दैनिक समाचार या घटना बन्न थाल्यो । विश्व समाजवादी आन्दोलन रक्षात्मक स्थितिमा पुग्यो । संसारभरी संरा अमेरिकी साम्राज्यवादको दादागिरी सुरु भयो । उसको हतियारको व्यापार, ‘प्रजातन्त्र निर्यातको धन्धा’ निर्वाध चलिरह्यो !
सोभियत समाजवादको हारलाई पुँजीवादी राजनीतिक चिन्तकहरूले ‘एक युगको अन्त्य’, ‘इतिहासको अन्त्य’, ‘समाजवाद सदाका निम्ति अन्त्य’ आदि उद्घोष गरे । यही सेरोफेरोमा अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले सन् १९९२ मा ‘इतिहासको अन्त्य र अन्तिम मानव’ पुस्तक नै प्रकाशित गरे । सो पुस्तकमार्फत उनले पश्चिमा उदार प्रजातन्त्र विश्वव्यापी हुने शङ्खघोष गरे ।
‘प्रजातन्त्र शिखर सम्मेलन’ भनेको ‘अन्तिम इच्छा’ पूरा गर्ने चाहना मात्र !
३०–३२ वर्षपछि संरा अमेरिकी साम्राज्यवाद आफ्नो म्यानबाट फेरि उही पुरानो ‘प्रजातन्त्र’ को भुत्ते हतियार निकाल्दै छ ! ‘प्रजातन्त्रको ठेकेदार’ बन्ने सौखबाट अझै ऊ मुक्त हुन नसकेको प्रस्ट छ । ऊ त्यही भ्रममा अझै बाँचिरहेको यसले प्रस्ट पार्छ । गत डिसेम्बर ९ र १० मा ‘प्रजातन्त्र शिखर सम्मेलन’आयोजना गरी आफ्नो मुकुट चम्काउने दुष्प्रयास ग¥यो । उसको मुकुटमा खिया नै लागिसकेको स्वीकार्न अझै ऊ तयार छैन !त्यस सम्मेलनमार्फत अमेरिकी राष्ट्रपति बाइडेनले ‘गुमेको साख’ फिर्ता लिने प्रयास गरेको बुझ्न  गा¥हो छैन । तर, यो पटक ऊ सफल नहुने निश्चितप्रायः छ । जगमा यो जाहेर भइसकेको छ कि अमेरिकी राष्ट्रपति बाइडेनले नस्विकार्नु र स्वीकार्नुले अब खासै अर्थ राख्दैन । त्यस अर्थमा उसको ‘प्रजातन्त्र शिखर सम्मेलन’ भनेको ‘अन्तिम इच्छा’ पूरा गर्ने चाहनाको प्रकट रूपबाहेक केही होइन !
त्यस शिखर सम्मेलनमार्पmत समाजवादी देशहरूलाई एक्ल्याउन खोजेको बुझ्न नसकिने होइन । एक आपसमा भिडाएर समाजवादी देशहरूलाई समाप्त पार्न विगतमा पनि खोजिएकै थियो । ६० वर्षसम्म क्युवा, कोरियालाई नाकाबन्दी लगाएर पनि एक्ल्याउन नसकेको जगजाहेर छ । क्षेत्रीयता तथा जातीयता उछालेर, प्रचार युद्ध तथा व्यापार युद्ध छेडेर पनि चीनलाई एक्ल्याउन नसकेको सर्वविदित नै छ । कोभिड महामारीमा महाशक्ति अमेरिका स्वयम् एक्लिएको ताजा घटना हो । क्युवाको विषयमा संयुक्त राष्ट्र सङ्घको बैठकमा, महासभाको निर्वाचनमा सधैँसधैँ अमेरिका एक्लो परेको कसलाई थाहा छैन र ? तसर्थ, कुनैपनि बहानामा समाजवादी देशहरू, शान्तिकामी तथा स्वतन्त्रताप्रेमी देशहरूलाई बहिष्कृत गर्ने या एक्लो पारेर सिध्याउने दुःस्वप्नबाहेक केही नहुने ऐतिहासिक यथार्थ हो । विगत तीस वर्षमा विश्वको राजनीतिमा धेरै हेरफेर भइसकेको र नब्बेको दशकभन्दा आज संसार निकै पर पुगिसकेको त्यति नै सत्य हो । यसबारे संरा अमेरिकी प्रशासन पक्कै पनि बेखबर छैन !
संरा अमेरिका प्रजातन्त्रलाई तोडमोड गर्दै छ
संरा अमेरिका विभिन्न भ्रमबाट मुक्त हुन ढिलो भइसकेको आज सर्वत्र अनुभव गरिँदै छ । हिजोझैँ आज पनि संरा अमेरिका आपूmलाई प्रजातन्त्रको एकमात्र व्याख्याता या ठेकेदार सम्झने गल्ति गर्दै छ । प्रजातन्त्र निर्यात गर्ने सपना आजसम्म पनि देख्दै छ । पश्चिमा प्रजातन्त्र या पुँजीवादी प्रजातन्त्र नै एकमात्र प्रजातन्त्र हो भन्ने झूटमै ऊ रमिरहेको देखिन्छ । आवधिक निर्वाचन र त्यस निर्वाचनबाट साम–दाम–दण्ड–भेद अपनाएर चुनिनेहरूको शासन नै प्रजातन्त्रको वास्तविक रूप हो भन्ने दाबी गर्दै छ । आफ्नो विरोध गर्ने जतिलाई प्रजातन्त्रविरोधी या आतङ्ककारी देख्दै छ र समाप्तै पार्ने प्रयास गर्दै छ ।
विश्वका सचेत मानिसहरू प्रजातन्त्रको एकल स्वामित्व या एकल परिभाषा अस्वीकार गर्दै छन् । एउटा देशले दिएको परिभाषाको सिमारेखामा प्रजातन्त्रजस्तो विराट अवधारणा कैद हुन नसक्ने भन्दै कुनैपनि देशको सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक पृष्ठभूमि र परिस्थितिले प्रभाव पार्ने धारणा राख्छन् । प्रजातन्त्र कुनै ‘तयारी वस्तु’ नभएकोले आयात–निर्यात गलत हुने तर्क गर्दछन् । सबै देशमा प्रजातन्त्रको एउटै ‘मोडल’ को कल्पना गर्नु इतिहासप्रति आँखा चिम्लिनु हो भने भविष्यप्रति गैरजिम्मेवार बन्नु हो । प्रजातन्त्रको अन्धनक्कल पनि आत्मघाती हुने निर्विवाद छ । प्रजातन्त्र लाद्न खोज्नु स्वयम् गैरप्रजातान्त्रिक हुन्छ । यही बहस आज चर्को ढङ्गमा चल्दै छ ।
पुँजीवादी प्रजातन्त्र संसारमा कहाँ सफल छ ?
पश्चिमा पुँजीवादी प्रजातन्त्र नै वास्तविक प्रजातन्त्र हुँदो हो त दुई–तीन सय वर्षपछि पनि मानव समाजको दुःखकष्ट किन झन् भयावह बन्दै छ ? समाजमा अशान्ति, असुरक्षा किन व्याप्त छ ? आतङ्कवादले किन सताउँदै छ ? युद्धहरू रोक्न किन सम्भव भएन ? वातावरणीय समस्याले किन विकराल रूप लिँदै छ ? चारैतिर विनाशै विनाश किन हुँदै छ ? एसिया, अफ्रिका, ल्याटिन अमेरिका या युरोपको कुन देशमा पुँजीवादी प्रजातन्त्र सफल छ ? कुन देश विद्रोहबाट टाढा छ या जनआक्रोशको तारो बनिरहेको छैन ? गरीबी निवारण, बेरोजगारी, भोकमरीको समस्या समाधान आजसम्म किन सम्भव भएन ? भ्रष्टाचार पुँजीवादको छाया कसरी प्रमाणित भयो ? यी गम्भीर सवालको यथोचित जवाफ आजसम्म दिइएको छैन ।
पुँजीवादी निर्वाचनको औचित्यमाथि पनि गम्भीर प्रश्न तेर्सिएका छन् । निर्वाचन ज्यादै महँगो बन्दै गएको, पैसाको खोलो बग्न थालेको, महँगीको कारण बन्न थालेको, उम्मेदवारको टिकटको खरीद–बिक्रीदेखि नोटसँग भोट साट्ने विकृतिले पराकाष्ठा नाघेको सर्वत्र गुनासो छ । राजनीतिक दल र तिनका नेता ‘व्यापारिक घरानियाँ’ या ‘कर्पोरेट हाउस’ का कठपुतली बन्ने गरेको गुनासो पनि नौलो होइन । पुँजीवादी व्यवस्थाले ऐन, नियम–कानुन आपूm अनुकूल निर्माण गर्ने र सरकार पुँजीपति वर्गको सञ्चालक समितिको रूपमा प्रस्तुत हुने केवल आरोप जरूर होइन । तसर्थ, पुँजीवादी व्यवस्था समाजको बहुसङ्ख्यक मजदुर–किसानको व्यवस्था नभई दुई–चार प्रतिशत धनाढ्य तथा नवसम्भ्रान्त वर्गको सेवक बनिरहेको अनुभवसिद्ध यथार्थ हो । पुँजीवादी व्यवस्थामा निर्वाचन स्वच्छ तथा धाँधलीरहित हुन असम्भव भएको सबै स्वीकार्दछन् । निर्वाचनमा विचार, सिद्धान्त, नैतिकता, विद्वता, नीति, कार्यक्रम, विधि त व्यर्थका कुरा साबित भइसकेका छन् । पशुबल र पैसा नै निर्णायक बनिरहेको छ । गलत आश्वासन बाँड्नु सामान्य बनिसकेको छ । यसप्रकार पुँजीवादी प्रजातन्त्र दिन प्रतिदिन उदाङ्गो बन्दै छ । निर्वाचनताका जनतालाई दिइने आश्वासन, गरिने प्रतिबद्धता निर्वाचन जितिसकेपछि झूटा साबित हुने विडम्बना संसारभरिका पुँजीवादी देशमा व्याप्त छ । निर्वाचनले पुँजीवादी व्यवस्थाको असफलता ढाकछोप गर्न असम्भव भइसकेको छ । त्यसकारण, पुँजीवादी प्रजातन्त्र केवल देखाउने दाँत भएको प्रमाणित हुँदै छ ।
कोभिडसँगै झन् उदाङ्गिएको पुँजीवादी प्रजातन्त्र
पछिल्लो पटक पुँजीवादी प्रजातन्त्र कोभिड महामारीसँगै उदाङ्गो भयो । अमेरिका, बेलायत, फ्रान्स, भारत, ब्राजिल, स्पेन, इटाली आदि पुँजीवादी देशहरूमा दसौँ लाख मानिस मरे । असङ्ख्य मानिस भाइरसबाट सङ्क्रमित भए । जीवन–मरणको दोसाँधमा परे । ती देशको स्वास्थ्य सेवा असफल साबित भयो । सामाजिक बन्दोवस्त ध्वस्त भयो । सरकार निकम्मा साबित भए । असङ्ख्य मानिसको जीवनमाथि यति खेलबाड पछिल्ला तीन–चार दशकमा सायदै भएको थियो ¤ तसर्थ, विश्वले जान्यो र देख्यो पुँजीवादी प्रजातन्त्रले सङ्कटमा काम गर्दैन । साथै, पुँजीवादी प्रजातन्त्रले मानिसको जीवन रक्षा गर्न सक्दैन । पुँजीवादी प्रजातन्त्रले मानिसको बाँच्ने हकको सुनिश्चितता दिन सक्दैन । मानव जगतमा रोग, भोक, शोकको कारण नै पुँजीवादी व्यवस्था हो ।
कोभिडलाई चिनियाँ समाजवाद बदनाम गर्ने मौकाको रूपमा उपयोग गर्ने संरा अमेरिकाले कोसिस गरेको कसैबाट लुकेको छैन । त्यो उसको अपरिपक्वता मात्र होइन दुष्ट्याइँ सिद्ध भयो । त्यो त ‘विनाशकालमा विपरीत बुद्धि’ ठहर भयो । कोभिड महामारी सुरु हुनुभन्दा अगाडि संरा अमेरिकाले चीनविरुद्ध व्यापारयुद्ध सुरु गरेको थियो । चीनलाई पहिलो अर्थतन्त्र बन्नबाट रोक्ने उद्देश्यले त्यो युद्ध छेडिएको थियो । त्यो पनि उसका निम्ति प्रत्युत्पादक साबित भयो । आर्थिक, सांस्कृतिक कुनैकुनै हमलाबाट पनि चीन र अन्य समाजवादी देशलाई गाल्न नसकेपछि अमेरिकाले ‘प्रजातन्त्र’ को भुत्ते भइसकेको राजनीतिक हतियार उठाएको हो । अन्य हमलामा झैँ यो राजनीतिक हमलामा पनि पराजयबाहेक अमेरिकाको हातमा केही नलाग्ने निश्चित छ ।
एकदिन संसार वास्तविक प्रजातन्त्रको आभाले जग्मगाउनेछ
संरा अमेरिकाले आफ्ना सारा कमीकमजोरी, असफलता, जघन्य अपराधको प्रायश्चितस्वरूप ‘प्रजातन्त्र शिखर सम्मेलन’ आयोजना गरेको भए कमैले आपत्ति जनाउलान् ! होइन, अझै पनि संसारको महाशक्तिको सिंहासन जोगाइराख्न ‘प्रजातन्त्र’ को लौरो टेकिएको हो भने त्यो जति मूर्खता अरू केही हुने छैन । ‘प्रजातन्त्र’ विपक्षी दबाउने अस्त्र, समाजवादी देशहरूविरुद्ध क्षेप्यास्त्रको रूपमा प्रयोग गर्न खोजिएको हो भने आत्मघाती ठहरिने निश्चित छ । ‘प्रजातन्त्र’, ‘मानव अधिकार’ को पुरानो हतियार प्रयोग गरी कसैलाई तह लगाउन खोज्नु दरिद्र मासिकताबाहेक अरू केही हुने छैन । कामदार जनताको प्रजातन्त्र समाजवादको बदनाम गर्न समय बर्बाद गर्नुभन्दा आफ्नो अपराध नदोहो¥याउनु बुद्धिमानी हुनेछ । बेला छँदै सम्भव भएसम्म सुध्रिनु जाती हुनेछ ।
बहुसङ्ख्यक कामदार जनताको दीर्घकालीन हित, शोषणको अन्त्य, व्यक्तित्व विकासमा समान अवसर, योग्यताअनुसार काम र कामअनुसार ज्याला, आर्थिक समानतासहितको स्वतन्त्रता, वर्गभेदको अन्त्य, निर्णय निर्माणमा मजदुर–किसानको सम्मानजनक प्रतिनिधित्व, एकाधिकार पुँजीको अत्याचारबाट मुक्त समाज निर्माण, उत्पादनका मुख्य–मुख्य साधनको सामाजिकीकरण, आत्मनिर्भर अर्थतन्त्रको विकास, आदिको सुनिश्चितताविना प्रजातन्त्र केवल गफगाफ साबित हुनेछ । प्रजातन्त्र ‘मुखमा राम–राम बगलीको छुरा’ हुनु हुँदैन । प्रजातन्त्र शोषणविहीन नयाँ सुन्दर मानवसमाज निर्माणको साँचो हुनु आवश्यक छ । विज्ञानसम्मत यथार्थ हो कि युग अगाडि बढिरहनेछ । र, एकदिन संसार वास्तविक प्रजातन्त्रको आभाले जग्मगाउनेछ । त्यो नै जनताको प्रजातन्त्र हुनेछ । त्यो दिन यो सिङ्गो पृथ्वी एउटा साझा घर बन्नेछ र मानिस अन्तर्राष्ट्रिय जाति हुनेछ ।
तस्वीर : नागरिक न्यूज -नागरिक नेटर्वक

Leave a Reply

Your email address will not be published. Required fields are marked *