अव्यवहारिक र अपरिपक्व निर्णय : देशमा अन्योल
- बैशाख ६, २०८३
सत्तारूढ नेपाली काङ्ग्रेसको नेतृत्वदायी पदमा केही युवाहरू निर्वाचित हुनुलाई केही सञ्चारमाध्यमले अनेकन विशेषण दिएका छन् । ‘ई कागज’ अनलाइनले यसलाई ‘रूपान्तरणको आशा’ भनेको छ । सेतोपाटी अनलाइनले लेखेको छ – ‘काङ्ग्रेससँग आममानिसका आशा र निराशा यी दुई युवातिरै सोझिनेछन् ।’ सामाजिक सञ्जालमा कतिपयले यसलाई ‘नयाँ युगको आरम्भ’, ‘ऐतिहासिक’ जस्ता अनेक शब्द प्रयोग गरी टिप्पणी गरेका छन् । तर, वास्तविकता के हो भने राजनीतिमा उमेरले भन्दा विचारले महत्व राख्ने गर्छ । नेकामा अहिले पुरानो पुस्ता गनिएका नेताहरू राजनीतिमा होमिँदा युवाहरू नै थिए । तथापि, उनीहरूको नेतृत्व आज देशको निम्ति बोझ स्वयम् नेकाकै कार्यकर्ताहरूले गरिरहेका छन्, किन ? किनभने, उनीहरू उमेरले युवा भएर पनि विचारले युवा हुन सकेनन् । बरू सम्भावनाका अनेक ढोका देखिँदा पनि उनीहरूले देशमा जनताको अपेक्षाअनुसार परिवर्तन गर्न सकेनन् ।
४६ वर्षको उमेरमा शेरबहादुर देउवा गृहमन्त्री बनेका थिए । त्यसपछि उनी पटक–पटक सरकारको प्रमुखमा पुगे । अहिले उनी प्रधानमन्त्री छन् । उमेर नै परिवर्तनको पर्यायवाची हुँदो हो त उनले पटक–पटक मन्त्री बन्दा किन कुनै परिवर्तनको ठोस परिणाम देखाउन सकेनन् ? किनभने उनले अँगीकार गरेको विचार पुरानो थियो । पुरानो विचार बोकेको युवाले समाजलाई अझ गहिरो खाल्डोमा जाक्ने सम्भावना बढी हुन्छ ।
जब राजनीतिमा विचारमाथिको बहस समाप्त हुन्छ, तब उमेर, लिङ्ग, जातिजस्ता गौण कुराको बढी प्रचारबाजी र चर्चा हुन्छ । कुन उमेर, लिङ्ग, जाति वा रङको मान्छेले बोल्यो भन्दा पनि उसले कस्तो विचार बोल्यो भन्ने कुरा महत्वपूर्ण विषय हो ।
२००७ सालयता देशमा लामो समय पटक–पटक सरकार चलाएको नेकाको नेतृत्वमा युवाहरू निर्वाचित भएको यो पहिलो पटक होइन । तथापि नेकाले देशलाई किन उँभो गति लगाउन सकेन ? त्यसको मूल कारण नेकाले पछ्याएको विचार हो । नेकाको विचारले बनाउने समाजले बहुमत नेपाली जनताको हित गर्नसक्दैन । नेकाको प्रजातान्त्रिक समाजवाद कस्तो हुन्छ भन्ने कुरा नेपाली जनताले लगातार भोग्दै आएका छन् । नेकाका सरकारले देशलाई लगातार पराधीन बनाउँदै गयो । शिक्षा र स्वास्थ्यजस्ता जनताका आधारभूत पक्षलाई निजीकरण गरेर समाजमा विभेदको खाडल अझ गहिरो बनाउने काम नेकाले ग¥यो । नेपाली युवाहरूलाई खाडी मुलुकमा सस्तो ज्यामी बनाउने नेकाको नीति रह्यो । देशको अर्थतन्त्रलाई उत्पादनशील बनाउनुभन्दा पराधीन र दलाली गर्ने बाटोतिर डो¥याउने काम नेकाले गरेको हो ।
जबसम्म नेकाले यी विचार र नीतिमा परिवर्तन गर्दैन, कुनै पनि उमेर र रङ्गको व्यक्ति नेतृत्वमा आए पनि खास फरक हुनेछैन । बरू नेपाली जनताको हरेक आशा निराशामा परिणत हुनेछ । कुनै पनि नयाँ कुरा देख्दा खुसी हुने मानिसको स्वभाव हो । त्यसकारण, नेकामा केही नयाँ नेताहरू देखिँदा काङ्ग्रेसजनमा खुसी हुनु स्वाभाविक हो । तर, त्यसै आधारमा ठूलो अपेक्षा र विशेषणको थुप्रो लगाउनु भने अर्को निराशाको बिजारोपण गर्नु हो । नेकाले बोकेको पुँजीवादी प्रजातन्त्रको विचारलाई जुनसुकै व्यक्तिले बोक्दा पनि आउने परिणाम एउटै शोषणमूलक समाज हो । त्यसैले नेपाली समाजलाई उँभो लगाउने कुनै उमेर, रङ, जात, भाषाले होइन, विचारले गर्ने हो । यसरी सोच्दा हामी अझ वस्तुगत हुनेछौँ ।
Leave a Reply