भर्खरै :

सक्वको म राजदास–११६ / साँखुमा पहिलो रुसी र अन्य साहित्यको ‘निभा’ पुस्तकालय

सन् १९७० को दशकमा तत्कालीन सोभियत सङ्घमा अध्ययन गर्दै गर्दा सन् १९७२ मा मैले रुसी नागरिक भालेन्टिनासँग विवाह गर्न मेरो बुबाको स्वीकृति परराष्ट्र मन्त्रालयबाट आउँदा भालेन्टिनाको खुसीको सीमा रहेन । उनी नेपाल नै पुगेजस्तो गरी रमाउन थालिन् र बिहे गर्नु पहिले नै नेपाल जाँदा के के काम गर्ने भन्ने योजना बनाउन थालिन् । सबभन्दा पहिले नेपाल आएपछि हाम्रो गाउँ साँखुमा एउटा पुस्तकालय खोल्ने उनको इच्छा थियो । त्यसकारण, हरेक शनिबार÷आइतबार उनी हामी बस्ने उक्राइनाको खार्काेभ सहरका पुस्तक बजारहरू घुम्न जान्थिन् र सस्तो सस्तोमा पुराना–पुराना रुसी साहित्यका पुस्तकहरू किनेर ल्याउँथिन् । हामी हरेक हप्ता ती पुस्तकहरू स्थानीय पोष्ट अफिसमा गएर नेपाल साँखु घुँला टोल, काठमाडौँ, तुल्सीदास श्रेष्ठको नाममा पार्सल गरी पठाउँथ्यौँ । पुस्तक काठमाडौँ सुनधारा हुलाक कार्यालयमा आउँथ्यो र साँखुबाट मेरा भाइहरूले पुस्तकहरू साँखुमा लगेर एउटा ठूलो सन्दुकमा सम्हाली राख्थे । हामी आउँदा ती सबै पुस्तकहरू राम्रो अवस्थामा सुसज्जित भइराखेको पायौँ । हजारौँ ती पुस्तकहरू हामीले आफू जहाँ गए पनि साथ साथ लान्थ्यौँ ।
४ वर्षअगाडि शङखरापुर सक्वमा मेरा गुरु महाकवि गिरिजाप्रसाद जोशीको ८० औँ जन्मदिवसमा मैले भालेन्टिनाको नामबाट एक पुस्तकालय स्थापना गरेँ । नेपालका एक साहित्यकार जनकवि दुर्गालाल श्रेष्ठको हातबाट उक्त रुसी भाषाको पुस्तकालयको उद्घाटन भयो ।
भालेन्टिनाको मृत्युपश्चात् भए पनि उनको सदीक्षा मैले पूरा गरिदिएँ । हुन त साँखुमा मबाहेक थोरैले मात्र रुसी किताब पढ्न सक्छन् । तर, पनि रुसी साहित्यको ज्ञानको भण्डार, तत्कालीन सोभियत सङ्घमा प्रतिपादित ‘सोभियत इन्साइक्लोपेडिया’, अनि रुसी भाषामा लेखिएको ‘विश्व इतिहास’ (ड वल्ड हिस्टोरी) जस्ता बहुमूल्य पुस्तकहरूले भरिएको मेरो ‘भालेन्टिना’ पुस्तकालय देखेर यदाकदा साँखुको भ्रमणमा आउने रुसी पर्यटकहरू धेरै अचम्मित हुन्छन् र भन्छन्, “यो त सोभियत/रुसी साहित्यको एक ऐतिहासिक म्युजियम हो ।”

तत्कालीन सोभियत सङ्घमा अध्ययन गरिरहँदा भालेन्टिनाले नेपालमा पुस्तकालय स्थापना गर्न पठाएका पुस्तकहरू सफा गर्दै


हो, मेरो पुस्तकालयमा भएका पुस्तकहरू तत्कालीन सोभियत सङ्घमा छापिएका हुनाले आजकल ती पुस्तकहरू रुसी बजारमा उपलब्ध छैनन् । कतिपय पुस्तकहरू प्रतिबन्धित घोषित भइसकेका छन् । त्यसकारण, यो पुस्तक सङ्कलनको महत्व धेरै छ । भविष्यमा यो पुस्तकालयको महत्व अझ बढ्दै जानेछ भन्ने हेतुले ‘भालेन्टिना’ पुस्तकालयलाई सजावत गरेर राखेको छु ।
रुसी भाषाबाहेक यस पुस्तकालयमा अङ्ग्रेजी, हिन्दी, संस्कृत र नेपाली/खस भाषाका पुस्तकहरू पनि सङ्कलित छन् । ‘भालेन्टिना’ को सम्झनाजस्तै मेरी दोश्री पत्नी निर्मला श्रेष्ठको नाममा पनि त्यसैबेला नेपालभाषाका पुस्तकहरू सङ्कलन गरी ‘निर्मला पुस्तकालय’ स्थापना गरेको थिएँ । नेपालभाषाका मुर्धन्य साहित्यकारहरूका पुस्तकहरू रहेकोे यस ‘निर्मला पुस्तकालय’ त्यसै दिन नेपालभाषाका अग्रज साहित्यकार मथुरा कृष्ण सायमीको हातबाट उद्घाटन भयो ।
निभा पुस्तकालय
निर्मला पुस्तकालय र भालेन्टिना पुस्तकालय दुवैलाई एउटै ठाउँमा राखेर संयुक्तरूपमा मैले उक्त पुस्तकालयको नाम ‘निभा’ पुस्तकालय राखेँ । यो सबैको लागि अद्यापि खुला रहेको छ । निजी पुस्तकालय भए पनि यो पुस्तकसङ्ग्रह सबैको लागि सधैँको लागि खुला रहेको छ । धेरै साहित्यप्रेमी साथी भाइहरूले यसबाट लाभ पाइरहेका छन् । बेलाबेलामा स्थानीय स्कूलका स–साना विद्यार्थीहरू आएर अध्ययन गर्छन् ।
‘निभा’ पुस्तकालय उद्घाटन भएकै दिन साँखुका नेपालभाषाका एक साहित्यकार महाकवि गिरिजाप्रसाद जोशीको एक प्रतिमा पनि मैले आफ्नै निवासमा स्थापना गरँे । २०१४/१५ सालतिर म ८/९ वर्ष हुँदा साँखुको सबभन्दा पहिलो माध्यमिक विद्यालय ‘भाग्योदय माध्यमिक विद्यालय’ मा पढ्न जाँदा बहुप्रतिभाशाली महाकवि गिरिजाप्रसाद मेरा पनि गुरु हुनुहुन्थ्यो ।
महाकवि गिरिजाप्रसाद जोशीको ८० औँ जन्म जयन्ती उत्सवको अवसरमा स्थापित महाकविको अर्धकदको प्रतिमा उद्घाटन गर्न आउनुभएको थियो नेपालका संस्कृतिविद् शताब्दीपुरुष डा. सत्यमोहन जोशी ।
यसरी नेपालभाषाका विद्वान साहित्यकारहरू शताब्दीपुरुष डा. सत्यमोहन जोशी, जनकवि दुर्गालाल श्रेष्ठ अनि भाषाविद् मथुराकृष्ण सायमीको उपस्थितिमा एक भव्य साहित्य समारोह भएको थियो ।
भालेन्टिनाले सोभियत सङ्घमा हामीसँगै केमिकल इन्जिनियरिङ्ग अध्ययन संस्थानमा पढ्दै गर्दा सोभियत सरकारबाट प्रतिमहिना तत्कालीन रुसी पैसा ३५ रूवल छात्रवृत्तिस्वरूप पाउँथिन् र प्रत्येक महिना आफ्नो उक्त स्टेपिन्डबाट ५÷६ रुवल बचाएर सो पैसाबाट साहित्यिक र राजनीतिक पुस्तकहरू किनेर ल्याउँथिन् । हरेक हप्ता पोस्ट अफिस गएर तीे पुस्तकहरू नेपाल पठाउँथिन् । एक दिन हाम्रो बिहे भइसकेपछि भालेन्टिना एउटा सानो गाडीभरि पुस्तकहरू राखेर मकहाँ आइन् र भनिन्, “राज, तिमीलाई यो मेरो हाम्रो विवाहको उपहार” भन्दै एउटा पुस्तक किनेको बिल देखाइन् । बिल रहेछ ५० रुवलको । पुस्तकहरू रहेछन् ५१ भोलुमको ‘डि ग्रेट सोभियत इन्साइक्लोपेडिया’ ।
ठूलो ठूलो आकारको ५१ भोलुमको सोभियत इन्साइक्लोपेडिया एउटा पुराना पुस्तकहरू बेच्ने सडक/गल्लीमा बेच्न राखिएको ‘कमिखिआनेनी’ बजारबाट किनेर ल्याएकी रहिछन् । कहाँबाट आयो ५० रुवल भनेर सोध्दा भालेन्टिनाले भनिन्, “मेरी आमाले हाम्रो विवाहको उपलक्ष्यमा तिम्रो लागि केही उपहार किनिदेउ भनेर मलाई गाउँमा जाँदा दिनुभएको हो । सो पैसाबाट मैले तिमीलाई उपहारस्वरूप यो इन्साइक्लोपेडिया किनेर ल्याएको थिएँ ।
यो अनुपम उपहार र उनको मप्रतिको माया ममता देखर मेरा आँखा धेरै रसाए । सो ५० रुवल उनकी आमा आन्ना अलेक्सियेभ्नाले छोरीको बिहे हुने कुरा सुनेर आफ्नो सहर÷गाउँको एक मेडिकल क्लिनिकमा गएर आफ्नो शरीरको एक पिन्ट रगत बेचेर ल्याएको कुरा मलाई भ्यालेन्टिनाले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *