भर्खरै :

भक्तपुर नपालाई दुई प्रश्न

‘मजदुर’ दैनिकमा भक्तपुर नगरपालिकाका गतिविधिबारे हालै भएको छलफल रोचक लाग्यो । नगरवासीले ‘मजदुर’ दैनिकमार्फत उठाएका मुद्दा र गुनासो सम्बोधन गर्न पत्रिकामै नगरपालिकाले दिएको स्पष्टीकरण पढ्दा अझ खुसी लाग्यो । नगरवासीको भावनाप्रति नगरपालिकाको संवेदनशीलता र जिम्मेवारीबोध कदरयोग्य लाग्यो । यही मौकामा भक्तपुर नपाका गतिविधिबारे मलाई लागेका एकाध कुरा मजदुर दैनिकमार्फत व्यक्त गर्न चाहन्छु ।
क) केही दिनअघि मर्निङ वाक्को सिलसिलामा भक्तपुरको सल्लाघारी–व्यासी–इतापाकेको बाटो हिँड्दै गर्दा फुटपाथमा रोपिएका केही बिरुवा भाँचिएको, हाँगा लुछिएको देख्दा आफ्नो मन खिन्न भयो । रुख हुर्काउनु बच्चा हुर्काउनुजस्तै गा¥हो र बढी समय लाग्ने कुरा नबुझेका मान्छेहरूले यसरी नगर र सडकको सौन्दर्य बनेका बिरुवालाई चोट पु¥याएका रहेछन् । कस्ता बदमासहरू ! हिँड्दा हिँड्दै मैले भक्तपुर नगरपालिकाले गरेको हरियाली प्रवद्र्धन कार्यक्रम सम्झेँ । भक्तपुर नगरका विभिन्न सम्पदा क्षेत्र र चोकहरूमा हरियाली प्रवद्र्धन गर्ने भन्दै नगरपालिकाले गमलामा बिरुवा रोपेको थियो । गमलामा बिरुवा रोपेर हरियाली प्रवद्र्धन त के हुने थियो ! तैपनि बिरुवाले सम्पदा क्षेत्र अझ बढी सुन्दर देखिएको थियो । सञ्चार माध्यमहरूले पनि वाहवाही नै गरेका थिए । मलाई पनि त्यो कार्यक्रम रचनात्मक नै लागेको थियो । त्यही भएर एक रात ढिला घर फर्किंदै गर्दा केही केटाहरूले गमला लछारपछार गर्दै गरेको देखेर म उनीहरूसँग झगडा गर्न तम्सिएको थिएँ । एक जना सचेत नगरवासीले गर्ने त्यत्ति त हो ।
तर, दुई–तीन महिनापछि भने ती गमलाहरू क्रमशः एक–दुई वटा गर्दै हराउन थाले । अहिले त कुनै कुनामा फोहोर गमला बाँकी भए थाहा छैन, नत्र कुनै पनि गमला कहीँ पनि देखिँंदैन । न गमला, न बिरुवा न हरियाली न हरियाली प्रवद्र्धन कार्यक्रम । बिरुवा रोपेपछि हुर्काउने र संरक्षण पनि गर्नुपर्ने होइन र !
हरियाली प्रवद्र्धनकै क्रममा नगरपालिकाकै अगुवाइमा जगातीदेखि लामगालसम्मको फुटपाथमा बिरुवा रोपिएको थियो । तर, तीमध्ये केही बिरुवा हुर्केका छन् । तिनको संरक्षण गर्ने जिम्मेवारी स्थानीयवासीको पनि हो । तर, नपाले पनि बेलाबेला आफूले रोपेको बिरुवा के कस्तो भयो, निगरानी राख्नुपर्ने होइन र !
ख) धेरै वर्षपछि हुन लागेको भक्तपुर महोत्सव सुरु हुन केही दिन बाँकी हुँदा कोभिड–१९ महामारी आइलाग्यो । पहिलो गाँसमै ढुङ्गोजस्तै भयो । संसार हल्लाएको महामारीको कारण महोत्सव स्थगित भयो । कसलाई के भनुँ र ! महोत्सवको तयारीकै क्रममा भक्तपुर नपाले सम्पदा रात्रिकालीन यात्रा गरेको थियो । त्यो कार्यक्रममा सौभाग्यवश म पनि सहभागी बन्ने मौका पाएको थिएँ । नगरवासीको नाताले त्यो हुलमा हिँड्न पाउँदा र विभिन्न स्थानका सम्पदाबारे जानकारी पाउँदा म दङ्ग थिएँ । सम्पदा यात्रा अब समय–समयमा हुने कुरा सुन्दा अर्को खुसी लागेको थियो । विडम्बना ! बीचमा कोभिड आइलाग्यो । तर, कोभिडको प्रभाव कम हुँदै गएपछि र जनजीवन सहज बन्दै गएपछि सम्पदा यात्राले निरन्तरता पाउने अपेक्षा गरेको थिएँ । हरेक पटकको सम्पदा यात्रामा फरक–फरक क्षेत्र र समुदायका व्यक्तिहरूलाई आमन्त्रण गरेर सम्पदा यात्रा गरे भक्तपुरको मूर्त र अमूर्त सम्पदा क्षेत्र संरक्षणको काम गतिशील र जीवन्त हुने मैले सोचेको थिएँ । हिजोआज मान्छेहरूको निम्ति कोरोना महामारी गर्नुपर्ने काम नगर्दा पन्छिने बहाना बनेको छ । सम्पदा यात्राको लागि महामारी त्यस्तै त पक्कै होइन होला । मनमा विश्वास छ, सम्पदा यात्रा अझै सुरु हुनेछ र नगरका विभिन्न सांस्कृतिक सम्पदासँग परिचित हुने मौका पाउनेछु । सकीमना पुन्हिको दिन मैले व्यक्तिगत सम्पदा यात्रा गरेको थिएँ । हिँड्दै गर्दा लाग्यो, नगरपालिकाले आजको दिन सम्पदा यात्रा आयोजना गरेको भए क्या गज्जब हुने थियो । हरेक महिनाको पुन्हिमा सम्पदा यात्रा गरे आकाशमा गोलो रोटीजस्तो चन्द्रमा अनि वरपर उज्यालो मूर्त अमूर्त सम्पदा । क्या गज्जब होला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *