भर्खरै :

सजग बनौँ, निसासिनबाट जोगिऔँ 

हाम्रो देशमा जब हिउँद याम आउँछ तातोका लागि बालिएका आगोले घरमा आगलागी हुने र कोठा तातो बनाउन झ्यालढोका पूरै बन्द गरेर कोइला वा आगो बालेर सुत्दा निसासिएर मृत्यु हुने घटना भइरहन्छन् । हिजोमात्र बाँकेको नेपालगञ्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मेडिकल स्टोरको क्वार्टरमा निसासिएर चार जनाको ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० मा रहेको भेरी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका रूपमा काम गर्दै आएका कालीकोट खाँडाचक्र नगरपालिका–६ का २४ वर्षीय धनप्रसाद भट्टराईसहित चार जना स्टोरको क्वार्टरमा मृत भेटिएको थियो । बुधबार राति खाना खाएर सुतेका सातमध्ये चारजना मृत भेटिएका हुन् भने बेहोस रहेका तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । बुधबार देशभर वर्षा हुँदा चिसो बढेको थियो । राति कोइला बालेर सुतेको र निसासिएर मृत्यु भएको हुनसक्ने कोठाको स्थितिले देखाउँछ ।
मौसम परिवर्तनलाई हामीले चाहेर पनि रोक्न सक्दैनौँ तर प्रकृतिले हाम्रो शरीरलाई मौसमको कहर सहन सक्ने क्षमता दिएको हुन्छ । गर्मी याममा गर्मीले र हिउँद याममा चिसोले केही कष्ट दिने कुरा स्वाभाविक हो । शरीरलाई थोरैमात्र पनि कष्ट नहोस् भन्ने मनसायले सही गलत जुनसुकै तरिका अपनाउँदा ज्यानमालको नोक्सानी हुन्छ । थोरै चिसो छल्ने उद्देश्यले कोठाको झ्यालढोका पूरै बन्द गर्दा कोठामा श्वास फेर्नका लागि आवश्यक अक्सिजन ग्यासको कमी हुन जान्छ । त्यसमाथि कोइला, काठ वा कुनै चिज बाल्दा छिट्टै कोठमा भएको अक्सिजन सिद्धिने र कार्बन डाइअक्साइड तथा कार्बन मोनोअक्साइडले कोठा भरिने हुन्छ । अक्सिजन ग्यासको कमी र कार्बन डाइअक्साइडमात्र हुँदा मानिस बेहोस बन्न पुग्छन् । समयमै अक्सिजन उपलब्ध गराउन सकिएन भने बेहास अवस्थामै मानिसको मृत्यु हुने हुन्छ । त्यसैले यस्तो गल्ती हुनबाट सजग बनौँ, निसासिनबाट जोगिऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *