भर्खरै :

चन्द्रागिरी नपाका प्रतिनिधि भक्तपुर नगरपालिकामा

भक्तपुर, १९ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग चन्द्रागिरी नगरपालिका वडा नं. १४ का वडाध्यक्ष रामहरि बस्नेतको नेतृत्वमा आएको चन्द्रागिरी नपा विधायन समितिको टोलीले सोमबार भेट ग¥यो ।
भक्तपुर नगरपालिका विधायन समितिबाट भए—गरेका कार्यहरूको अध्ययन अवलोकन गर्ने क्रममा भक्तपुर पुगेको उक्त टोलीलाई भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले खादा, भादगाउँले टोपी र परम्परागत थैलीबाट संयुक्तरूपमा स्वागत गर्नुभयो ।
भेटमा नगर प्रमुख प्रजापतिले स्थानीय तह निर्वाचन २०७४ पश्चात् भक्तपुर नपाले १० वटा नगरसभा सम्पन्न गरी ४६ वटा ऐन, कानुन, नियमावली तथा कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याएको अवगत गराउनुभयो ।
सांस्कृतिक नगरको रूपमा परिचित भक्तपुर नपाले यहाँको कला र संस्कृति संरक्षणमा विशेष जोड दिँदै उहाँले पुरानो सम्पदा क्षेत्रमा मौलिक शैलीमा घर बनाउने नगरवासीहरूलाई घरको मोहडामा लाग्ने इँटा, झिंगटी र काठको लागि लाग्ने खर्चको ३५ प्रतिशत अनुदान प्रदान गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाले २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएका ११८ वटाभन्दा बढी सम्पदाहरू जनताको आर्थिक सहयोग, जनश्रमदानबाट पुनःनिर्माण तथा जीर्णोद्धार सम्पन्न गरिसकेको जानकारी गराउँदै उहाँले सम्पदा पुनःनिर्माणमा भक्तपुर नपाले उपभोक्ता समितिमार्फत स्थानीय सीप र ज्ञानको प्रयोग गरी काम अघि बढाइरहेको बताउनुभयो ।
कोभिडको समयमा भक्तपुर नपाले स्थापना गरेको आइसोलेसन केन्द्रबाट ४५५ जना कोभिडका बिरामीहरूलाई निःशुल्क उपचार गरेको जानकारी दिँदै उहाँले भक्तपुर नपाले समाजवादी देशहरूबाट सिक्दै शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिँदै जनताकेन्द्रित गतिविधिलाई अगाडि बढाइरहेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नपाले भर्खरै भक्तपुर दरबार क्षेत्रको ऐतिहासिक नृत्य वत्सला मन्दिर पुनःनिर्माण सम्पन्न गरेको अवगत गराउँदै उपभोक्ता समितिको काम भक्तपुरको विशेषताको रूपमा रहेको बताउनुभयो ।
भेटकै क्रममा चन्द्रागिरी नपा १४ नं. वडाका वडाध्यक्ष रामहरि बस्नेतले भक्तपुरको सम्पदा क्षेत्रको विषयमा जानकारी लिने उद्देश्यले भक्तपुरको भ्रमणमा आएको बताउँदै न्यायिक समितिबाट सम्पादित कार्यहरूबारे आफूहरूले पनि सिक्न चाहेको बताउनुभयो । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा भक्तपुर नपाले अग्रणी स्थान हासिल गरेको उहाँले बताउनुभयो ।
भ्रमण टोलीमा चन्द्रगिरी नपाका वडाध्यक्षसहित नगर सभा सदस्य, न्यायिक समिति संयोजक र सदस्य, कर्मचारी, कानुनी सल्लाहकार, इन्जिनियर तथा न्यायिक सहजकर्तालगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *