भर्खरै :

एमसीसी पारित गर्ने प्रयास साझा कार्यक्रमविपरीत

नेकाका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकार केपी ओलीको सरकार ढाल्न हो, देशको विकास र जनताको सेवा गर्न होइन । देशका ठूला राजनीतिक दलहरू सत्ता ढाल्ने र जोगाउनेमा केन्द्रित भएपछि देश विकास र जनताको सेवा कसरी हुन्छ ? केपी ओलीको सरकार ढाल्ने र आफ्नो सरकारको पालामा निर्वाचन गराउने नै वर्तमान गठबन्धन सरकारको उद्देश्य देखिन्छ । अतः सरकारले केही गर्न चाहेन र केही गर्न सकेन । सरकार गठन भएको लामो समयपछि संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको थियो । त्यो साझा कार्यक्रममा एमसीसी सम्झौतासम्बन्धी कुनै कुरा उल्लेख छैन । संसद्मा एमालेका अध्यक्ष केपी ओलीले कार्यक्रममा एमसीसी सम्झौता खोइ भनी जिज्ञासासमेत राखेका थिए । तर, अहिले साझा न्यूनतम कार्यक्रममा नरहेको एमसीसी सम्झौता लागु गर्न देउवा सरकार जोडतोड गर्दै छ । के यो साझा कार्यक्रमको मर्मविपरीत भएन ?
एमसीसी सम्झौता पारित गर्न हतार भएका प्रम देउवालाई अन्य गठबन्धनमा रहेका नेताहरूले एमसीसी प्रक्रिया अघि बढाउनु हुँदैन भनी रोक्नुपर्दैन ? गठबन्धन सरकारमा रहेका दलका नेताहरू पद र पैसाको लोभमा फस्नु हुँदैन । पद र पैसामा फसेका नेताहरूले सिद्धान्त र विचारको राजनीति गर्दैनन्, मूल्य र मान्यताको राजनीति गर्दैनन् । नेकाको नेतृत्वमा बनेको गठबन्धन सरकार यसैमा फसिरहेको छ । यो सरकारले कामचलाउ सरकारले जति पनि काम गर्न सकिरहेको छैन ।
केही काम गर्न नसकेको सरकारको के मूल्याङ्कन गर्ने ? केही काम गर्न नसक्नुमा बढ्ता दोषी प्रम देउवाको भए पनि गठबन्धनका अन्य नेताहरू पुष्पकमल दाहाल, उपेन्द्र यादव, माधव नेपाल र चित्रबहादुर केसी पनि जिम्मेवार छन् । यो सरकारले मन्त्रिपरिषद् विस्तार गर्न पनि महिनौँ लगायो । संयुक्त साझा कार्यक्रम पनि समयमा ल्याउन सकिएन । सामाजिक–आर्थिक रूपान्तरणको आधार निर्माण गर्दै उच्च र समन्यायिक आर्थिक विकास गर्ने कुरा कागजमा मात्र सीमित भयो । अरू त अरू देउवा सरकारले संसद् पनि चलाउन सकेन ।
यही समयमा प्रधानन्यायाधीश …शमशेर राणाको खुब विरोध भयो या न्यायालय विवादमा फस्यो । व्यवस्थापिकाको मूल्य र मान्यता तोडेको आरोपमा प्रधानन्यायाधीश जवराविरुद्धको आन्दोलन अझै रोकेको छैन । यसबारे पनि संयुक्त सरकारले आफ्नो धारणा राख्न सकेको छैन । यसको कारण हो, केपी ओलीको सरकार ढालेर गठबन्धन दलको सरकार बनाउने । गठबन्धन दलको सरकारको उद्देश्य सत्तासँग केन्द्रित भएको हुँदा वर्तमान सरकारले देशमा दिशा निर्देश गर्न नसकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *