भर्खरै :

सक्वको म राजदास–१२१ / दोलखाको माग्नेसाइट खानीको दुर्दशा

दोलखाको म्याग्नेसाइट खानी
नेपाल प्राकृतिक स्रोतमा धनी देश हो । वनस्पति तथा घना वनजङ्गलको साथै विभिन्न प्रकारका ढुङ्गा खानीहरूमा पनि नेपाल धनी छ । ठूल्ठूला धातुजन्य खनिज पदार्थहरू अहिलेसम्म नभेट्टिए पनि निर्माण कार्यको लागि अति उपयोगी ढुङ्गा खानीहरू यहाँ प्रशस्त छन् । खानी तथा भूगर्भ विभागले धेरै वर्षदेखि यस प्रकारका ढुङ्गा खानीहरूको अध्ययन अनुसन्धान गरिरहेको छ । काठमाडौँ लैनचौरस्थित खानी तथा भूगर्भ विभागले अध्ययन अनुसन्धान गरी पत्ता लगाएका औद्योगिक उपयोगी ढुङ्गा खानीहरूमध्ये एक महत्वपूर्ण खानी हो– दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–९ अवस्थित लाकुरीडाँडामा रहेको खरी ढुङ्गा र माग्नेसाइट ढुङ्गा खानी । सन् १९७० को दशकमा खानी विभागले वैज्ञानिक अध्ययन अनुसन्धान गरी उक्त लाकुरेडाँडामा झन्डै १८ करोड टन उच्च कोटीको माग्नेसाइट र खरी ढुङ्गा भएको निष्कर्ष निकालेको थियो ।
सन् १९७६–१९७७ मा म एक केमिकल इन्जिनियरको रूपमा खानी तथा भूगर्भ विभागमा अनुसन्धानको काम गर्दै थिएँ । मेरो विषय ढुङ्गा, माटो र बालुवासम्बन्धी भएको कारण उक्त खानीको अध्ययनमा मेरो पनि ठूलो चाख थियो । मलाई उदयपुरको चुनढुङ्गाको अध्ययन गरी त्यसको आधारमा नेपालमा के कस्तो उद्योगको सम्भावना छ भन्ने विषयमा ‘सम्भाव्यता अध्ययन’ (फिजिबिलिटि स्टडी) गर्नु थियो । त्यसकारण, दोलखाको माग्नेसाइट र खरी ढुङ्गाबारे त्यतिको अध्ययन गर्न पाइनँ । तापनि, म पटक–पटक दोलखा चरिकोट पुगेर त्यहाँको भौगोलिक अवस्था र खनिज पदार्थहरू हेर्न गएँ । चरिकोट र नजिकैको लाकुरेडाँडा धेरै सुन्दर थियो । त्यहाँ अति राम्रो खरी ढुङ्गा र माग्नेसाइट जमिनको सतहमै छ । धेरैजसो खनिज पदार्थ उत्खनन गर्न धेरै गा¥हो हुन्छ र विशेष प्रकारको प्रविधि अपनाउनुपर्ने हुन्छ । तर, लाकुरे डाँडामा रहेको ढुङ्गा सतहमै रहेको हुनाले ‘ओपन माइनिङ्ग’ गरी सजिलै निकाल्न सक्ने खालको छ ।
मैले आफ्नो पारिवारिक समस्याले गर्दा खानी विभागमा धेरै समय काम गर्न पाइनँ । प्रतिमहिना ७५० रूपैयाँ तलब खाएर ४०० रूपैयाँ कोठा भाडा तिरेर चार जनाको परिवार पाल्न सम्भव नभएको कारण मैले उक्त खानी विभागको काम छाडेर त्रिभुवन विश्वविद्यालयमा काम गर्न गएँ । त्यहाँ मलाई र मेरी श्रीमती भालेन्टिना श्रेष्ठलाई ‘व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रमा केमिकल इन्जिनियर अनुसन्धान अधिकृतको रूपमा काम गर्न अवसर मिलेको थियो ।
त्रिभुवन विश्वविद्यालयमा पनि मेरो अनुसन्धानको विषय चुनढुङ्गा, माटो, बालुवा नै भएको कारण, दोलखाको माग्नेसाइट र खरी ढुङ्गाको विषयमा सँगसँगै काम गर्दै गएँ । दोलखाको माग्नेसाइट ढुङ्गा प्रयोगशालामा अध्ययन गरी विभिन्न प्रकारका निर्माण सामग्रीहरू परीक्षणको रूपमा उत्पादन गर्नुको साथै सोही खानीमा उपलब्ध हुने खरी ढुङ्गा प्रयोग गरी लुगा धुने साबुनका स्याम्पलहरू पनि उत्पादन भयो ।
दोलखा जिल्लामा अवस्थित उक्त खरी ढुङ्गा र माग्नेसाइट खानीबारे सन् १९७३ मा खानी तथा भूगर्भ विभागले जर्मनी सरकारको सहयोगमा प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययन गरेको थियो । सोही अध्ययनको आधारमा लामोसाँगुमा एउटा कारखाना स्थापना गर्ने उद्देश्य लिइएको थियो ।
सो निर्णयअनुसार सन् १९७८ मा नेपाल सरकारले भारतको ‘उडिसा औद्योगिक लिमिटेड’ सँग मिली ५०/५० प्रतिशतको स्वामित्वको आधारमा ‘ओरिएन्टल माग्नेसाइट’ कारखाना स्थापना गरेको थियो ।
कारखाना स्थापना गर्ने सम्झौताअनुसार २५ वर्षको लागि उक्त कारखानाको व्यवस्थापनको जिम्मा ओरिस्सा कम्पनीलाई दिइएको थियो ।
दोलखाको माग्नेसाइट खानी
दोलखा जिल्लास्थित माग्नेसाइट खानी नेपालको मात्र होइन विश्वकै एक ठूलो खानीमा पर्दछ । उक्त क्षेत्रमा खानी विभागको सर्भेअनुसार १८ करोड टनको डिपोजिट छ । गुणस्तरको हिसाबले पनि उक्त माग्नेसाइट खनिज पदार्थ धेरै उच्च छ । रासायनिक कम्पोजिसनको हिसाबले उक्त ढुङ्गामा अठासी प्रतिशत (८८ प्रतिशत) शुद्ध माग्नेसियम तत्व भेट्टिएको छ ।

दोलखा जिल्ला दादरास्थित म्याग्नेसाइट उत्खनन प्रशोधन स्थल


माग्नेसाइट भनेको चुनढुङ्गाजस्तै एक प्रकारको प्राकृतिक अधातु (नन्–मेटालिक) पदार्थ हो । चुनढुङ्गामा क्याल्सियम तत्व अधिक मात्रामा हुन्छ भने माग्नेसाइटमा माग्नेसियम तत्व अधिक मात्रामा हुन्छ । चुनढुङ्गाबाट सिमेन्ट र चुन बनाउन सकिन्छ भने माग्नेसाइटबाट मुख्यतया माग्नेसियम अक्साइड उत्पादन हुन्छ र अत्यधिक तापक्रममा पोलिएको माग्नेसाइटको आधारमा उच्च तापक्रम सहन सक्ने ‘फायर–ब्रिक’ भन्ने इँटा उत्पादन गरिन्छ । जुन इँटाहरू ठूल्ठूला कलकारखानाहरूमा उच्च तापक्रममा चल्ने भट्टीहरूमा प्रयोग हुन्छ । जुन भट्टीहरू ग्लास (सिसा), स्टील, फलाम, कपर, चाँदी तथा अन्य धातुहरू पगालिन्छ ।
चुनढुङ्गा यत्रतत्र जहाँ पनि भेटिन्छ । तर, दोलखा चरिकोटमा जस्तो उच्चकोटीको माग्नेसाइट बिरलै भेटिन्छ ।
माग्नेसाइटबाट फायरप्रुफ इँटाहरूबाहेक भवनहरू निर्माण गर्न विभिन्न प्रकारका इन्सुलेटिङ्ग बोर्डहरू पनि बन्दछन् ।
सन् १९८७ मा खानी विभाग तथा ओरिस्साको संयुक्त लगानीमा लामोसाँगुमा माग्नेसाइट ढुङ्गा पोलेर ‘डेड बन्र्ट माग्नेसाइट’ (उच्च तापक्रममा पोलिने) निकाल्ने एक उद्योग स्थापना भयो । जर्मनीबाट आवश्यक सबै उपकरणहरू खरिद गरी ल्याइए । माग्नेसाइट ढुङ्गा उत्खननदेखि ढुङ्गा खानी (लाकुरेडाँडा) लामो साँगुमा स्थापित कारखानासम्म ल्याउने रोप वे र ढुङ्गा पोल्ने भट्टी सबै उपकरणहरू जर्मनीबाट खरिद गरी उत्पादन सुरु गरिएको थियो । तर, आशातीतरूपमा उच्च गुणस्तरको डेड बन्र्ट माग्नेसाइट निस्किएन ।
प्राविधिक यन्त्रहरू उच्च गुणस्तरको थिएनन् । ती उपकरणहरू नयाँ थिएनन् । कुनै ठाउँबाट पुराना उपकरणहरू खरिद गरी रङ्ग रोगन लगाई नयाँरूप दिएको जस्तो लाग्यो । त्यही कारण कारखानाबाट राम्रो गुणस्तरको माग्नेसियम पदार्थ उत्पादन भएन । पटक–पटक उक्त प्राविधिक औजारहरूको नवीकरण गर्ने प्रयास हुँदा पनि सफल भएन । अतः कारखाना खोलेको केही समयभित्रै बन्द भयो । सन् १९९० मा कारखाना सञ्चालन भएको तीन वर्षभित्रै नेपाल सरकार र उक्त कारखाना सञ्चालन गर्न आर्थिक सहयोग गर्ने एक अन्तर्राष्ट्रिय संस्थाले कारखाना बन्द गर्ने निर्णय ग¥यो । देशकै एक महत्वपूर्ण दोलखा जिल्लाको प्रसिद्ध खरी ढुङ्गा, माग्नेसाइट ढुङ्गा र सँगै रहेको एक स्लेट ढुङ्गा खानी पनि बन्द भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *