न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
दोलखाको म्याग्नेसाइट खानी
नेपाल प्राकृतिक स्रोतमा धनी देश हो । वनस्पति तथा घना वनजङ्गलको साथै विभिन्न प्रकारका ढुङ्गा खानीहरूमा पनि नेपाल धनी छ । ठूल्ठूला धातुजन्य खनिज पदार्थहरू अहिलेसम्म नभेट्टिए पनि निर्माण कार्यको लागि अति उपयोगी ढुङ्गा खानीहरू यहाँ प्रशस्त छन् । खानी तथा भूगर्भ विभागले धेरै वर्षदेखि यस प्रकारका ढुङ्गा खानीहरूको अध्ययन अनुसन्धान गरिरहेको छ । काठमाडौँ लैनचौरस्थित खानी तथा भूगर्भ विभागले अध्ययन अनुसन्धान गरी पत्ता लगाएका औद्योगिक उपयोगी ढुङ्गा खानीहरूमध्ये एक महत्वपूर्ण खानी हो– दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–९ अवस्थित लाकुरीडाँडामा रहेको खरी ढुङ्गा र माग्नेसाइट ढुङ्गा खानी । सन् १९७० को दशकमा खानी विभागले वैज्ञानिक अध्ययन अनुसन्धान गरी उक्त लाकुरेडाँडामा झन्डै १८ करोड टन उच्च कोटीको माग्नेसाइट र खरी ढुङ्गा भएको निष्कर्ष निकालेको थियो ।
सन् १९७६–१९७७ मा म एक केमिकल इन्जिनियरको रूपमा खानी तथा भूगर्भ विभागमा अनुसन्धानको काम गर्दै थिएँ । मेरो विषय ढुङ्गा, माटो र बालुवासम्बन्धी भएको कारण उक्त खानीको अध्ययनमा मेरो पनि ठूलो चाख थियो । मलाई उदयपुरको चुनढुङ्गाको अध्ययन गरी त्यसको आधारमा नेपालमा के कस्तो उद्योगको सम्भावना छ भन्ने विषयमा ‘सम्भाव्यता अध्ययन’ (फिजिबिलिटि स्टडी) गर्नु थियो । त्यसकारण, दोलखाको माग्नेसाइट र खरी ढुङ्गाबारे त्यतिको अध्ययन गर्न पाइनँ । तापनि, म पटक–पटक दोलखा चरिकोट पुगेर त्यहाँको भौगोलिक अवस्था र खनिज पदार्थहरू हेर्न गएँ । चरिकोट र नजिकैको लाकुरेडाँडा धेरै सुन्दर थियो । त्यहाँ अति राम्रो खरी ढुङ्गा र माग्नेसाइट जमिनको सतहमै छ । धेरैजसो खनिज पदार्थ उत्खनन गर्न धेरै गा¥हो हुन्छ र विशेष प्रकारको प्रविधि अपनाउनुपर्ने हुन्छ । तर, लाकुरे डाँडामा रहेको ढुङ्गा सतहमै रहेको हुनाले ‘ओपन माइनिङ्ग’ गरी सजिलै निकाल्न सक्ने खालको छ ।
मैले आफ्नो पारिवारिक समस्याले गर्दा खानी विभागमा धेरै समय काम गर्न पाइनँ । प्रतिमहिना ७५० रूपैयाँ तलब खाएर ४०० रूपैयाँ कोठा भाडा तिरेर चार जनाको परिवार पाल्न सम्भव नभएको कारण मैले उक्त खानी विभागको काम छाडेर त्रिभुवन विश्वविद्यालयमा काम गर्न गएँ । त्यहाँ मलाई र मेरी श्रीमती भालेन्टिना श्रेष्ठलाई ‘व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रमा केमिकल इन्जिनियर अनुसन्धान अधिकृतको रूपमा काम गर्न अवसर मिलेको थियो ।
त्रिभुवन विश्वविद्यालयमा पनि मेरो अनुसन्धानको विषय चुनढुङ्गा, माटो, बालुवा नै भएको कारण, दोलखाको माग्नेसाइट र खरी ढुङ्गाको विषयमा सँगसँगै काम गर्दै गएँ । दोलखाको माग्नेसाइट ढुङ्गा प्रयोगशालामा अध्ययन गरी विभिन्न प्रकारका निर्माण सामग्रीहरू परीक्षणको रूपमा उत्पादन गर्नुको साथै सोही खानीमा उपलब्ध हुने खरी ढुङ्गा प्रयोग गरी लुगा धुने साबुनका स्याम्पलहरू पनि उत्पादन भयो ।
दोलखा जिल्लामा अवस्थित उक्त खरी ढुङ्गा र माग्नेसाइट खानीबारे सन् १९७३ मा खानी तथा भूगर्भ विभागले जर्मनी सरकारको सहयोगमा प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययन गरेको थियो । सोही अध्ययनको आधारमा लामोसाँगुमा एउटा कारखाना स्थापना गर्ने उद्देश्य लिइएको थियो ।
सो निर्णयअनुसार सन् १९७८ मा नेपाल सरकारले भारतको ‘उडिसा औद्योगिक लिमिटेड’ सँग मिली ५०/५० प्रतिशतको स्वामित्वको आधारमा ‘ओरिएन्टल माग्नेसाइट’ कारखाना स्थापना गरेको थियो ।
कारखाना स्थापना गर्ने सम्झौताअनुसार २५ वर्षको लागि उक्त कारखानाको व्यवस्थापनको जिम्मा ओरिस्सा कम्पनीलाई दिइएको थियो ।
दोलखाको माग्नेसाइट खानी
दोलखा जिल्लास्थित माग्नेसाइट खानी नेपालको मात्र होइन विश्वकै एक ठूलो खानीमा पर्दछ । उक्त क्षेत्रमा खानी विभागको सर्भेअनुसार १८ करोड टनको डिपोजिट छ । गुणस्तरको हिसाबले पनि उक्त माग्नेसाइट खनिज पदार्थ धेरै उच्च छ । रासायनिक कम्पोजिसनको हिसाबले उक्त ढुङ्गामा अठासी प्रतिशत (८८ प्रतिशत) शुद्ध माग्नेसियम तत्व भेट्टिएको छ ।

दोलखा जिल्ला दादरास्थित म्याग्नेसाइट उत्खनन प्रशोधन स्थल
Leave a Reply