भर्खरै :

नाजी यातनागृहमा जीवनको खोजी

गएको बिहीबार (जनवरी २७) मा संसारले ‘अन्तर्राष्ट्रिय होलोकोस्ट (सर्वनाश) स्मृति दिवस’ मनायो । सन् १९३३ देखि १९४५ सम्म जर्मनीका नाजीवादी शासकहरूले युरोपका ६० लाख यहुदी र अन्य असङ्ख्य अल्पसङ्ख्यक जातिका जनतामाथि गरेको चर्को दमन र अमानवतालाई संसारले ‘होलोकोस्ट’ को रूपमा अद्यापि सम्झेको छ । सन् १९४५ को जनवरी २७ को दिन सोभियत लाल सेनाले यहुदीहरूमाथि दमनको लागि नाजीवादी जर्मनीले बनाएको ‘आस्वीज यातना गृह’ माथि आक्रमण ग¥यो । र त्यहाँ कैद बनाइएका सबै बन्दीहरूलाई रिहा ग¥यो । नाजीवादको अमानवीय ‘नर्क’ भोग्दै गरेका लाखौँलाख मानिसले मुक्ति पाएको त्यही दिनलाई ‘अन्तर्राष्ट्रिय होलोकोस्ट स्मृति दिवस’ को रूपमा मनाइँदै आएको छ ।
यसै सन्दर्भमा नाजी यातना गृहमा तीन वर्ष बिताएर बाँचेर फर्किएका एक जना मनोचिकित्सकले लेखेको पुस्तक ‘म्यान्स सर्च फर मिनिङ’ बारे आज चर्चा गरिनेछ । भिक्टर ई फ्रान्क पोल्यान्डका मनोचिकित्सक थिए । वर्षौं वर्षको मनोचिकित्सकीय अभ्यासपछि उनले मनोचिकित्सामा आफ्ना केही नवीन निष्कर्ष निकालेका थिए । मनोचिकित्सामा नाम कमाएका सिग्मन फ्रायड र एड्लरलगायतले अघि गरेका मनोवैज्ञानिक अध्ययनभन्दा फ्रान्कको निष्कर्ष मौलिक खालको थियो । मनोचिकित्सामा उनको त्यो निष्कर्षलाई ‘लोगोथेरापी’ भनी न्वारन गरियो ।
दोस्रो विश्वयुद्धमा जर्मनीको नाजी सेनाले उनलाई पक्राउ गर्दा उनको कोटको गोजीमा आफ्नो मनोविश्लेषणात्मक सिद्धान्तको लेख्दै गरेको पाण्डुलिपि थियो । यातना शिविरबाट त्यो पाण्डुलिपि जोगाउनु मानिसको ज्यान जोगाउनुभन्दा कठिन काम थियो । तीन वर्षपछि उनी आफ्नो ज्यान जोगाउन सफल भए । पाण्डुलिपि जोगाउन उनले सकेनन् । तथापि, आस्विज यातना गृहका बन्दीहरूको व्यवहार र मनोविज्ञानको अध्ययनले उनको सिद्धान्तलाई अझ बढी समृद्ध र परिपक्व बनायो ।

त्यस्तो विकराल अवस्थामा पनि मानिस कसरी बाँच्न सक्छ ? त्यस्तो नर्कमा पनि बाँचिरहन मानिसलाई के कुराले अभिप्रेरित गर्छ ? त्यत्तिबेलाको कठिन मानसिक अवस्थाबीच पनि बन्दीहरूले कसरी जिजिविषा जोगाउन सके ?

खचाखच यहुदी बन्दीहरू भरिएको रेल जब आस्विज यातना गृहको ढोकाअघि रोकियो, सबै बन्दीहरू रुन, चिच्याउन र दुःख मनाउन थाले । आस्विज यातना गृहमा प्रवेश गर्नुको अर्थ जीवनलीला समाप्त हुनु थियो । उनीहरूले शिविर प्रवेश गर्दैगर्दा बाँच्ने आशा त्याग्न थालेका थिए ।
यातना गृहमा प्रवेश गर्दा केही बन्दीहरू हाँसीखुशी यताउता गरिरहेको देख्दा बन्दीहरूले केही हलुका अनुभव गरे । सोचिएजस्तो बन्दी जीवन कष्टकर नहुने उनीहरूले सोचे । तर, त्यो सुरुआतमा बन्दीहरूलाई देखाइएको झूटो दृश्य मात्र थियो । एवम्रितले लामबद्ध बन्दीहरूलाई दुई वटा विकल्पमध्ये कुनै एउटा छान्न लगाइयो । एउटा विकल्प : काम गर्न नसक्ने र दोस्रो विकल्प : काम गर्ने । शारीरिकरूपमा असक्त र कमजोर मान्छेहरूले पहिलो विकल्प छाने । केही मान्छेहरूले भने दोस्रो अर्थात् काम गर्ने विकल्प छाने । सामान्यतः अथवा मानवीय कोणबाट हेर्दा पहिलो विकल्प छान्ने मानिसले गा¥हो काम गर्न नपर्ने शिविरमा पठाइने अपेक्षा गरे । तर, पछि थाहा भयो – पहिलो विकल्प छान्नेहरूलाई विषाक्त ग्यासको प्रयोग गरी निर्मम हत्या गरियो ।
ख्याउटे भए पनि लेखकले दोस्रो विकल्प छाने । उनी जोगिए ।

उनले दुःख, पीडा, चुनौती आदि पनि जीवनको अभिन्न हिस्सा भएको लेखेका छन् । ती अभिन्न हिस्साबाट भागेर होइन, सामना गर्न अग्रसर हुनुपर्ने उनको निष्कर्ष छ । दुःख पाएँ भनी दुःखी हुँदा दुःख अझ बढ्ने, बरु दुःखको सामना गर्दै अघि बढे सन्तोषका ठाउँहरू भेटिँदै जाने फ्रान्कको निष्कर्ष देखिन्छ ।

लेखकले बन्दीगृहमा बन्दीहरूको जीवनबारे गरेको वर्णन कहालीलाग्दो छ । उनीहरूलाई राखिएको ठाउँ, गराइने काम र दिइने खाना पूर्वीय लोककथाहरूमा वर्णन गरिएका ‘नर्क’ भन्दा कम थिएन । बन्दीहरूबीचबाटै बन्दीहरूलाई तह लगाउन अगुवा छानिएको हुन्थ्यो । त्यस्ता मान्छेहरूलाई क्यापोस भनिन्थ्यो । उनीहरूबाट बन्दीहरू अझ बढी पेलिन्थे । स–साना गल्ती गरेवापत पनि बन्दीहरूलाई ज्यानै जान सक्ने जोखिमपूर्ण सजाय दिइन्थ्यो । काममा निस्कँदा सबै बन्दीहरू सकभर समूहको बीचमा हिँड्न खोज्थे । त्यसो गर्दा उनीहरू एकातिर चिसोबाट थोरै भए पनि जोगिन्थे भने अर्कोतिर क्यापोसहरूको आँखी हुनबाट जोगिन्थे । बन्दीहरू विगतमा जस्तोसुकै काम वा पृष्ठभूमिबाट आएका भए पनि उनीहरूलाई मानिस बाँच्न गा¥हो हुने जाडोमा कठिन शारीरिक श्रम गराइन्थ्यो । तर, खाना भने निकै कम मात्र दिइन्थ्यो । कतिपय चुरोटका लतीहरू आफ्नो खाना दिएर अरू बन्दीका भागका चुरोट खाएर पनि केही बेर सन्तोषको श्वास फेर्थे । यातना शिविरको चरम अवस्था सहन नसक्ने कतिपय बन्दीहरू विद्युत्त् प्रवाह गरिएका काँडेतारमा टाँसिएर आत्महत्या गर्थे ।
त्यस्तो विकराल अवस्थामा पनि मानिस कसरी बाँच्न सक्छ ? त्यस्तो नर्कमा पनि बाँचिरहन मानिसलाई के कुराले अभिप्रेरित गर्छ ? त्यत्तिबेलाको कठिन मानसिक अवस्थाबीच पनि बन्दीहरूले कसरी जिजिविषा जोगाउन सके ?
मनोचिकित्सक भिक्टर फ्रान्कले बन्दीहरूको यही मानसिक अवस्थाको अध्ययन गरी आफ्नो मनोचिकित्सासम्बन्धी सिद्धान्त र बुझाइलाई अझ परिपक्व र समृद्ध बनाए । जीवनमा केही गर्नुपर्ने लक्ष्य वा गहिरो चाहना बोकेको मान्छेले प्रतिकूलताको पहाड जतिसुकै अग्लो भए पनि छिचोलेर अघि बढ्ने निष्कर्ष लेखकले यातना शिविरका बन्दीहरूको अध्ययनबाट निकाले । जुन मानिसको जीवनमा कुनै लक्ष्य हुँदैन, जीवनमा मैले केही गर्नुपर्छ भन्ने इच्छाशक्ति हुँदैन, त्यस्ता मान्छेलाई आफू किन बाँचिरहेको छु भन्ने प्रश्नको उत्तर नपाउँदा पनि कमजोर बनाइरहेको हुन्छ । त्यस्ता लक्ष्यहीन मानिसले अस्तित्वको रिक्तता (Existentisl Vaccum) को अनुभव गरिरहेको हुन्छ । उनीहरू कुनै पनि साना समस्या वा चुनौती आउने बित्तिकै कमजोर हुने वा आत्महत्याको शरणमा पुग्ने कुरा लेखकले बन्दीहरूको मनोवैज्ञानिक अध्ययनबाट निचोड निकालेका छन् ।

नाजीवादी यातना शिविरको अमानवीय अवस्थामा मानिस आफ्नो जीवन जोगाउन मर्न लागेको मानिसले अन्तिम श्वास नलिँदै छेउमा बसेको जिउँदो मानिसले उसको शरीरमा भएको काम लाग्ने वस्तु जस्तै लुगा, कोट, जुत्ता आदि लिने गरेका दृश्यको चित्रण हृदयविदारक खालको छ ।

उनले दुःख, पीडा, चुनौती आदि पनि जीवनको अभिन्न हिस्सा भएको लेखेका छन् । ती अभिन्न हिस्साबाट भागेर होइन, सामना गर्न अग्रसर हुनुपर्ने उनको निष्कर्ष छ । दुःख पाएँ भनी दुःखी हुँदा दुःख अझ बढ्ने, बरु दुःखको सामना गर्दै अघि बढे सन्तोषका ठाउँहरू भेटिँदै जाने फ्रान्कको निष्कर्ष देखिन्छ ।
लेखक आफै पनि शिविरको अस्पतालमा काम गर्दा दैनिक मानिसको लासबीच काम गर्नुपथ्र्यो । तर, उनलाई आफूले लेख्ने जमर्को गरेको पुस्तक लेखेर मात्र संसारबाट बिदा हुनुपर्ने भावनाले कहिल्यै छोडेन । फलतः उनी अस्पतालमा दैनिक मरिरहने बन्दीका लास र कठिन शारीरिक श्रमबीच पनि आफ्ना सिद्धान्तका विभिन्न पक्ष नभुलोस् भनी एकान्तमा बसेर बरोबर स्मरण गरिरहन्थे । अस्पतालमा बिरामी भएर मृत्युको मुखमा पुगिसकेका बिरामीहरू पनि झ्यालबाट बाहिर देखिने रुखसँग संवाद गरी जीवनको सार्थकताको खोजी गरिरहेका हुन्थे । कतिपय अवस्थामा मर्न लागेको बिरामीको छेउमै अर्को शय्यामा मानिसको लास पसारिएको हुन्थ्यो । तथापि, जिजिविषा र जीवनलाई बुझ्ने तरिकाले मानिसलाई मृत्युबाट जोगाएको हुन्थ्यो ।
नाजीवादी यातना शिविरको अमानवीय अवस्थामा मानिस आफ्नो जीवन जोगाउन मर्न लागेको मानिसले अन्तिम श्वास नलिँदै छेउमा बसेको जिउँदो मानिसले उसको शरीरमा भएको काम लाग्ने वस्तु जस्तै लुगा, कोट, जुत्ता आदि लिने गरेका दृश्यको चित्रण हृदयविदारक खालको छ । तर, त्यस्तो परिस्थितिमा पनि मानिसभित्र मानवता भने समाप्त नहुने कुरा उनले केही बन्दीहरूको सद्गुणी व्यवहारको उदाहरण सहित प्रस्तुत गरेका छन् । आफू कतिबेला मर्ने हो, कुनै टुङ्गो नभएका बन्दीहरू समेत अरू बन्दीहरूलाई सहयोग गर्न तत्पर भएका उदाहरणबाट मानवताको अमरत्वको चर्चा गरेका छन् । परिस्थिति जतिसुकै प्रतिकूल भए पनि मानिसभित्र भ्रातृत्व र सद्भावको बिउ कहिल्यै नमर्ने लेखकको बुझाइ देखिन्छ ।
लेखक र उनका एक जना मित्र यातना शिविरबाट भाग्ने अन्तिम तयारी गरिरहेका थिए । सबै कुरा अनुकूल भइसकेको थियो । तर, लेखकले उपचार गरिरहेका एक जना पोल्यान्डकै बन्दीले उनी भाग्न लागेको सङ्केत पाएर दिएको अभिव्यक्तिले लेखक नभाग्ने निर्णयमा पुगेका थिए । आफ्नो भविष्य र नियति फेरि पनि समयको हातमा छोडेर उनले यातना शिविरमै बस्ने निधो गरे ।
लेखकले आफू धेरै पटकको संयोगले पनि मर्नबाट जोगिएको संस्मरणमा लेखेका छन् । उनीजस्तो कमजोर शारीरिक अवस्थाको व्यक्ति यातना गृहबाट जीवित फर्कन असम्भव प्राय थियो । तथापि, उनी पटक–पटक मृत्युबाट अनेक संयोगले जोगिएको लेखेका छन् ।
मृत्युबारे उनले पुस्तकमा लेखेको एउटा कथा रोचक खालको छ । ‘तेहरानमा मृत्यु’ शीर्षक दिइएको कथा यस्तो छ :‘एक दिन मालिक र नोकर यात्रा गरिरहेका थिए । अचानक नोकरको यमदूतसँग जम्काभेट हुन्छ । नोकर आत्तिएर मालिकलाई भन्छ,“मालिक मैले भर्खर यमदूतलाई देखेँ । ऊ मलाई लिन आए जस्तो छ । मलाई देखेर झस्कियो । कृपा गरेर मलाई एउटा तेज दौडिने घोडा दिनुहोस् । म यहाँबाट तेहरानमा गएर मृत्युबाट जोगिनेछु ।”
मालिकले उसलाई घोडा दियो । नोकर तेहरानतिर तेज गतिमा दौडियो । त्यसको केही बेरपछि मालिकको पनि यमदूतसँग भेट भयो । भेटमा मालिकले यमदूतलाई सोधे, “तपाईं मेरो नोकरलाई देखेर किन झस्किनुभयो ?”
“त्यही त आज राति तेहरानबाट उठाउँछु भनी योजना बनाएको मान्छेलाई तपाईंसँगै यहाँ देखेर म झस्किएको हुँ । अब यहाँबाट म जाने तेहरानमा नै हो”, यमदुतले भने ।’
यो कथाबाट लेखकले कसैले चाहँदैमा मात्र कोही पनि मानिस मरिहाल्दैन भनेका छन् । उनी पनि यातना शिविरमा पटकपटक मृत्युको मुखमा पुगेर पनि संयोगहरूबाट जोगिन सफल भएको लेखेका छन् ।
सानो आकारको यो पुस्तक फ्रान्कले आस्विजमा बिताएको समयको संस्मरण त हो नै । साथै यो एउटा मनोविश्लेषणात्मक कृति पनि हो । यो पुस्तकको अध्ययनले मानिसले भोग्ने मनोवैज्ञानिक समस्याको समाधान चिकित्सकीय तरिकाबाट मात्र नहुने देखाउँछ । मानिसलाई जीवनको सार्थकता, अर्थ, महत्व, अपरिहार्यताको कुरा बताएर पनि उसलाई जीवनमा आइपरेका समस्यासँग लड्न अभिप्रेरित गर्न सकिने लेखकको निचोड हो ।
पुस्तकको सबभन्दा पहिलो प्रकाशन सन् १९५९ मा भएको थियो । त्यसपछि यो पुस्तक धेरै पटक प्रकाशित भएको छ । मानिसलाई जीवनमा आइलाग्ने चुनौती र प्रतिकूलताका पहाड छिचोल्न यो पुस्तकले मद्दत गर्न सक्छ ।
कोभिड महामारीको कारण आज संसारमा मानिसको जीवन कष्टकर बन्दै गएको छ । जलवायु परिवर्तनले निम्त्याएका अनेक विपत्तिले मानिसको जीवन अझ कठिन बन्दै जाने देखिन्छ । खतरा, चुनौती र मृत्युसँग पौंठेजोरी खेल्दै मानिस अघि बढ्नुपर्नेछ । त्यसकारण प्रतिकूलताबीच पनि मानिसलाई उत्साहका साथ जीवनको रथ अघि बढाउने साहित्यको अझ बढी प्रचार गर्दा चुनौतीमाथि सहज जीत हासिल गर्न सम्भव हुनेछ ।
फेरि पनि मानिसले ‘होलोकोस्ट’ भोग्न नपरोस् भनी होलोकोस्टमा मानिसले भोगेको नरकीय जीवनको स्मरण र चर्चा गरिरहनु आवश्यक छ । मानिस कतिसम्म खराब हुन सक्छ र त्यही खराबी बीच पनि मानिसभित्रको मानवताको आगो कसरी अक्षुण्ण रहन सक्छ भन्ने कुरा ‘म्यान्स सर्च फोर मिनिङ’ पढ्दा अनुभव हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *