“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका विभिन्न भेरियन्टहरूले मानव सङ्कट निम्त्याइरहेका छन् । कोरोना भाइरस रोगले सन् २००२ मा SARS (Severe Acute Respiratory syndrome) र सन् २०१२ मा MERS (Middle East Respiratory Syndrome) महामारीको रूप लिएको थियो । सन् २०१९ मा देखा परेको कोरोना भाइरसलाई SARS COV 2 (Severe Acute Respiratory Syndrome Corona Virus 2) नामकरण गरियो । छोटो समयमै निकै छिटो फैलिएको कोरोना भाइरस उत्परिवर्तन (Mutation) गर्दै विभिन्न भेरियन्ट उत्पत्ति भएको छ । अल्फा, बिटा, गामा, कप्पा, डेल्टा हुँदै ओमिक्रोनसम्म पुगेको छ । हाल विश्वभरि नै नयाँ नयाँ भेरियन्टहरू देखापरेको विभिन्न अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनले डेल्टा र ओमिक्रोनलाई Variant of concern भनेर व्याख्या गरेको छ । Variant of concern मा कोभिड निकै चाँडै फैलिने, सङ्क्रमितहरूलाई धेरै सिकिस्त बनाउने (धेरैलाई अस्पताल भर्ना गर्नुपर्ने वा मृत्यु हुने) खोप वा पहिलेको सङ्क्रमणबाट मानिसको शरीरमा बनेको रोग प्रतिरक्षात्मक क्षमतालाई घटाउने वा हालको उपचार विधिभन्दा फरक उपचार हुने कोरोना भाइरसको variant लाई राखेको छ ।
नोभेम्बर २६, २०२१ मा दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन छोटो समयमा विश्वको धेरै देशहरूमा फैलिएको छ । निकै छिटो फैलिएको ओमिक्रोनको लक्षण पनि सुरुको Wild Variant भन्दा फरक नभएको देखिन्छ । ओमिक्रोनका लक्षणहरूमा ज्वरो आउने, रुघा लाग्ने, खोकी लाग्ने, जीउ दुख्ने, घाँटी दुख्ने, श्वास फेर्न गा¥हो हुने, नाकले गन्ध थाहा नपाउने, थकान हुने, टाउको दुख्ने आदि रहेका छन् । Center for disease control and prevention (CDC) अमेरिकका अनुसार ओमिक्रोन कोरोनाको अर्को भेरियन्ट डेल्टाभन्दा कम घातक भएको जनाएको छ ।
CDC को अनुसार ओमिक्रोन लागेको व्यक्तिले पूर्ण खोप लिइसकेका व्यक्तिहरूलाई समेत रोग सार्न सक्छ । लक्षण नदेखिए पनि ओमिक्रोन सङ्क्रमित व्यक्तिले अरू स्वस्थ व्यक्तिलाई सार्न सक्छ । ओमिक्रोनबाट सङ्क्रमित भएपछि लक्षण देखा पर्न २ देखि १४ दिनसम्म लाग्न सक्छ । अधिकांश सङ्क्रमित व्यक्तिको रोगको सुरुका दिनहरूमा अरूलाई कोरोना सार्ने गर्दछ । सामान्यतया लक्षण देखा पर्न एक दिन पहिलादेखि र लक्षण देखिएको १ देखि २ दिनसम्म अरूलाई सार्ने गर्दछ । सीडीसीको नयाँ मापदण्डअनुसार लक्षण नभएको सङ्क्रमितले ५ दिनसम्म र लक्षण भएको सङ्क्रमितले लक्षण निको भएको २४ घण्टासम्म एकान्त बास बस्नुपर्ने हुन्छ । निर्देशित एकान्त बासबाट बाहिर निस्किए पनि लक्षण देखा परेको दिनदेखि दसौँ दिनसम्म मास्क लगाएर सावधानीपूर्वक बस्नुपर्ने हुन्छ ।
कोभिड रोग लाग्न नदिन, रोग लागे पनि सिकिस्त हुन नदिन र मृत्यु हुनबाट बच्न कोभिडको खोप प्रभावकारी भएको अध्ययनले देखाएको छ । पूर्ण खोप लगाएकाहरू कोभिड लागे पनि सिकिस्त हुने र मृत्यु हुने सङ्ख्या निकै कम रहेको छ । विश्वका विभिन्न देशहरूमा थप मात्रा वा बुस्टर मात्रा खोप दिइरहेको छ । नेपालमा पनि माघ १ गतेबाट चरणबद्धरूपमा बुस्टर मात्रा दिन थालेको छ । कोभिडमा कार्यरत अग्रपङ्क्तिका कर्मचारी, स्वास्थ्यकर्मी, ६० वर्ष नाघेका व्यक्तिहरू, Immuno compromised (रोगसँग लड्ने क्षमता कम भएका) बिरामीहरूलाई प्राथमिकताका साथ बुस्टर खोप दिन थालेको छ ।
कोभिडबाट बच्नको लागि डब्लु.एच.ओ. (विश्व स्वास्थ्य सङ्गठन) ले कोभिड सुरु हुँदा कोरोना फैलनबाट रोक्न स्वास्थ्यको मापदण्ड लागू गरेको थियो । ओमिक्रोन भेरियन्टसम्म आइपुग्दा पनि स्वास्थ्यको मापदण्ड परिवर्तन भएको छैन । जसमा मास्क लगाउने, अल्कोहलले बनेको स्यानिटाइजरले हात सफा गर्ने, साबुन पानीले हात धुने, बिरामी भएको बेला अलगै बस्ने र एकान्तबास बस्ने, २ मिटरको भौतिक दुरी कायम गर्ने, खोक्दा वा हाँछ्यूँ गर्दा नाक र मुख छोप्ने, पटक–पटक हातले नाक र मुखमा नछुने रहेका छन् ।
विगतका कोरोना भाइरसभन्दा ओमिक्रोनले कम सिकिस्त बनाए पनि कोभिडलाई बेवास्ता गर्न नहुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । उत्परिवर्तन हुँदै नयाँ भेरियन्टहरू उत्पन्न हुनसक्ने र निकै घातक हुनसक्ने सम्भावना भएकोले कोरोना भाइरससँग सतर्क हुन जरुरी छ । कोभिडबाट बच्न र कोभिडबाट हुने क्षतिबाट बच्न पूर्ण खोपका साथै बुस्टर खोप लिन आवश्यक छ ।
(लेखक ख्वप अस्पतालमा कार्यरत हुनुहुन्छ )
Leave a Reply