भर्खरै :

ब्रह्मायणी पुलको शिलान्यास

भक्तपुर, २० माघ । भक्तपुर नपा वडा नं. ९ ब्रह्मायणीस्थित ब्रह्मायणी पुलको शिलान्यास गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक सहयोगमा बन्ने उक्त पुलको बिहीबार एक समारोहबीच शिलान्यास गर्नुभयो । ब्रह्मायणी पुलको लगत इस्टिमेट रु. २ करोड २९ लाख रहेकोमा रु. १ करोड ५० लाख ७९ हजार ८७२ को ठेक्का सम्झौतामा उक्त पुल पुनःनिर्माण हुँदै छ ।
पुलको शिलान्यास गर्दै नगर प्रमुख प्रजापतिले गुणस्तरीय ढङ्गले निर्धारित समयमै ब्रह्मायणी पुल पुनःनिर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नपाका नगरस्तरीय योजनाहरू उपभोक्ता समितिमार्फत सञ्चालन हुँदै आइरहेको बताउँदै नगर प्रमुख प्रजापतिले स्थानीय जनताको अपनत्व र गुणस्तरीय निर्माण नै उपभोक्ता मोडलको विशेषताको रूपमा रहेको र भक्तपुरमा उपभोक्ता मोडलले सफलरूपमा कार्यान्वयन भइरहेको छ भन्नुभयो ।
भक्तपुरमा ख्वप विश्वविद्यालय सञ्चालन गर्न नपाले आवश्यक पहल गरिरहेको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न अनुमति दिनुपर्नेमा जोड दिँदै आएको बताउनुभयो ।
सर्वसाधारण जनताको आधारभूत स्वास्थ्यसम्बन्धी आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले नगरपालिकाले ख्वप अस्पताल सञ्चालनमा ल्याएको चर्चा गर्दै उहाँले जनताको साथ र सहयोगकै कारण हरेक क्षेत्रमा काम गर्न सहज भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले ऐतिहासिकरूपले महत्वपूर्ण ब्रह्मायणी पुल पुनःनिर्माणबारे जानकारी गराउँदै यो पुल बनेपछि आवागमनमा सहज हुने बताउनुभयो । बाग्मती प्रदेश पूर्वाधार कार्यालयको आर्थिक सहयोगमा उक्त पुल पुनःनिर्माण हुने अवगत गराउँदै वडाध्यक्ष ज्याख्वले पुरानो पुल भत्काउनु अगाडि स्थानीय जनताबीच बैठक र छलफल गरी आवश्यक राय–सुझाव लिएको बताउनुभयो । ११.२ मि. लम्बाइ र ८.४० मि. चौडाइ रहने ब्रह्मायणी पुलको ठेक्का सम्झौता २०७८ असार २३ गते भएको, २०७९ असार २२ सम्ममा पुल निर्माणको सबै काम सक्ने योजना रहेको र साबिक पुलको भन्दा उचाइ पनि बढ्ने वडाध्यक्ष ज्याख्वले जानकारी गराउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले ब्रह्मायणी पुलको गुणस्तरीयता कायम हुने ढङ्गले काम सम्पन्न हुने विश्वास व्यक्त गर्दै सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारमा भक्तपुर नपाले मौलिक प्रविधिलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
कार्यक्रममा ब्रह्मायणी पुल निर्माण कम्पनीका ठेकेदार कृष्ण गौतमले ब्रह्मायणी पुल गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य छोरीमैंया सुजखुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *