के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
स्थानीय जनप्रतिनिधिहरूको पाँच वर्षको कार्य अवधि समाप्त हुनै लाग्दा देउवा नेतृत्वको गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय ग¥यो । चुनावको मिति घोषणासँगै शासक दलका आसेपासेहरूले सामाजिक सञ्जालमा चुनावी प्रचारप्रसार सुरु गर्न थालेका छन् । पुँजीवादी पार्टीको छत्रछायामा रहेर फाइदा लुटेकाहरू आगामी दिनमा थप फाइदा लुट्नको लागि विभिन्न प्रपञ्च र योजनाहरू बुन्न थालेका छन् । शासक पार्टीकै सोझा नेता, कार्यकर्ता र समर्थकहरू भने निर्वाचनमा उम्मेदवारी बन्न नेताको नजिकको मान्छे, आसेपासे र पैसावालाहरूकै बोलवाला हुनेप्रति चिन्तित छन् । पैसा, बल र धम्कीमा निर्वाचन जित्नेहरूले जनताको सेवा गर्ने छैन भन्ने कुरा बितेका दिनमा प्रस्ट भइसकेको छ ।
निर्वाचित शासक जनप्रतिनिधिहरूको पाँच वर्षको कार्यकाल र तिनका व्यवहारले जनता वाक्कदिक्क भए । वैदेशिक ऋणभारमा खर्बौँ बजेट पास गर्दै ठेकेदार, गुन्डा, कार्यकर्ता, आसेपासेलाई साथ लिँदै स्थानीय जनप्रतिनिधि भन्नेहरूले देशको ढुकुटी लुटे । काम नगरिकन झूठा बिल बनाएर पनि करोडौँ पैसा हिनामिना गरेको हामीले सुन्न र देख्न पायौँ । आगामी निर्वाचनमा पनि तिनै व्यक्तिहरू मत माग्न आएमा जनताले ठाडो औँला ठड्याउनैपर्छ । तिनीहरूलाई ठेगाना लगाउने एक उपाय चनवमा पराजित गराउने हो । निर्वाचनको समयमा त्यस्ता राजनीतिक दलबाट हुने भोजभतेर र लोभलालचबाट जनता टाढा रहनुपर्दछ ।
एमाले, माओवादी र काङ्ग्रेस देशका ठुला पुँजीवादी शासक दलहरू हुन् । पालैपालो सत्तामा पुग्दै यिनीहरूले देश र जनतालाई लुटे । लुट्ने काममात्र नभएर अमेरिकी सरकारी सैन्य परियोजना एमसीसीलाई भित्राएर देशलाई युद्धमा फसाउने र एसियामा युद्धको वातावरण सिर्जना गर्नेजस्ता दलालीको रूपमा यी शासक दलहरू अग्रसर बन्दै छन् । यी तीनवटै पार्टीले अमेरिकी साम्राज्यवादको ठाडो निर्देशनमा देशघाती एमसीसी सम्झौता संसद्बाट पास गराउन जोडतोडले लागेका छन् । एमसीसी सम्झौताको सम्पूर्ण नागरिकबाट विरोध भएको छ । देशघाती सन्धि सम्झौता गर्ने र गर्न लागिपर्ने राजनीतिक दलहरू पनि देशघाती पार्टी नै हुन्छ । यी देशघाती पार्टीहरूलाई पनि आगामी निर्वाचनमा पराजित गरेर कारबाही गर्नैपर्छ । निर्वाचनमा त्यस्ता देशद्रोही राजनीतिक दलहरूलाई मत दिएर मूर्ख नबनौँ । जनता सचेत हौँ ।
Leave a Reply