भर्खरै :

नगरव्यापी ‘पछिमा बाजा’ प्रतियोगिता सम्पन्न नास हैमा बाजा खलः प्रथम

भक्तपुर, २७ फागुन । भक्तपुरका विभिन्न सांस्कृतिक विधाहरूको संरक्षण तथा संवद्र्धनगर्नुका साथै नगरवासीमा कलाकौशल थप उजागर गर्न भक्तपुर नगरपालिकाद्वारा आयोजित भक्तपुर नगरव्यापी ‘पछिमा बाजा’ प्रतियोगिता शुक्रबार सम्पन्न भयो ।
नगरव्यापी ‘पछिमा बाजा’ प्रतियोगितामा नास हैमा बाजा खलः प्रथम, खिछेँ दाफा भजन खलः द्वितीय, तचपाल मको गल्ली बाजा समूह तृतीय, सिद्धि गणेश बाँसुरी बाजा समूह र चोछेँ छुमा गणेश बाँसुरी बाजा खलः सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन कार्यक्रम भएको थियो । कार्यक्रममा अतिथि बिजुक्छेँले विजयी टोलीहरूलाई पुरस्कार वितरण गर्नुभयो ।
पुरस्कार वितरण समारोहमा अध्यक्ष बिजुक्छेँले कला र संस्कृति हाम्रो अमूल्य सम्पत्ति भएको चर्चा गर्दै यसको संरक्षण र संवद्र्धन गर्नु राज्य र नागरिकको दायित्व हो भन्नुभयो ।
सांस्कृतिक प्रतियोगिताबाट नगरवासीमा उत्साह र हौसला थपिने र कलासंस्कृति पनि संरक्षण हुने धारणा राख्दै उहाँले कला संस्कृति संरक्षणमा भक्तपुर नपाले गरेको कामबाट देशका अन्य स्थानीय तहहरूलाई पनि सिक्ने अवसर मिलेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले कला संस्कृतिको क्षेत्रका सांस्कृतिक गुरुहरू विश्वविद्यालय तहका प्राध्यापकसरह भएको बताउनुभयो ।
विद्यालय तह, विभिन्न सहकारी संस्था र टोलटोलमा भएका सांस्कृतिक विधाहरूको प्रशिक्षणले नयाँ पुस्तामा यसतर्फ आकर्षण बढाउन मद्दत पुगेको बताउँदै उहाँले सांस्कृतिक गुरुहरू समाजका आदरणीय र सम्मानित व्यक्तिहरू भएको हुँदा राज्यले उहाँहरूको योगदानको उचित कदर गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृतिको लागि निरन्तर प्रयासरत रहेको जानकारी दिँदै अध्यक्ष बिजुक्छेँले भक्तपुर नपाबाट सञ्चालित कलेजहरूले देशको लागि आवश्यक दक्ष इन्जिनियरहरू तयार गरिरहेको बताउनुभयो ।
शासक पार्टीहरूले देशको ढुकुटी लापरबाही ढङ्गले खर्च गरिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले भक्तपुर नपाका जनप्रतिनिधिहरूलाई इमानदारीपूर्वक देश र जनताको सेवामा लागेर प्रशंसनीय कार्य गरिरहेको बताउनुभयो ।
समारोहका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यक्रम उद्घाटन गर्दै भक्तपुर नपाले चुनावी घोषणापत्रअनुसार प्रत्येक वर्ष सांस्कृतिक प्रतियोगिता गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नगरव्यापी ‘पछिमा बाजा’ प्रतियोगितामा ३३ वटा बाजा समूह सहभागी भएर हामीलाई हौसला बढाएकोमा नगरवासीप्रति आभार व्यक्त गर्दछु ।”
नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले बाँसुरी बाजा, धिमाय् बाजा र धाँ बाजा प्रतियोगिताको आयोजना गरिसकेको र जनताको राय सुझावअनुसार यस वर्ष नगरव्यापी ‘पछिमा बाजा’ प्रतियोगिताको आयोजना गरेको बताउनुभयो ।
नयाँ पुस्तालाई परम्परागत ज्ञान र सिप हस्तान्तरण गर्ने हिसाबले नगरपालिकाले विविध गतिविधिमा जोड दिँदै आएको बताउँदै उहाँले ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ नारालाई सार्थक तुल्याउन सम्पदा संरक्षणमा विशेष प्राथमिकतामा राख्दै आएको हो भन्नुभयो ।
सम्पदा पुनःनिर्माणमा भक्तपुर नगरपालिकाले अपनाइरहेको ‘ख्वप मोडल’ भक्तपुरवासी जनताको साथ र सहयोगकै कारण सम्भव भएको धारणा राख्दै उहाँले भन्नुभयो, “नेमकिपाको तर्फबाट निर्वाचित भक्तपुरका जनप्रतिनिधिले जनताको निःस्वार्थ रूपमा सेवा गर्दै आइरहेको छ ।”
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नगरपालिकाले संस्कृति संरक्षणमा गर्दै आएको प्रयासले नयाँ पुस्तामा आफ्नो कला र सम्पदाप्रति माया गर्ने संस्कारको विकास भएको बताउनुभयो ।
“भक्तपुर नमुना नगरको रूपमा विकास हुनुमा यहाँका जनप्रतिनिधि र जनताको प्रत्यक्ष साथ र सहयोग रहेको छ”, उहाँले भन्नुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले भक्तपुर नपाले कला र संस्कृति क्षेत्रमा गरेको योगदान देशकै लागि अमूल्य र उदाहरणीय रहेको बताउँदै प्रतियोगिता सभ्य र भव्यरूपमा सफल गर्न योगदान गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।
निर्णायक मण्डलको तर्फबाट सांस्कृतिक गुरु पञ्चलाल लाछिमस्यूले भक्तपुरको कला र संस्कृति बचाउन भक्तपुर नगरवासीहरूकै ठूलो योगदान रहेको धारणा राख्दै मौलिक ज्ञान र सिप नयाँ युवा पुस्तालाई हस्तान्तरण गर्न यस किसिमको प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा पछिमा बाजा प्रतियोगिता संयोजन समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र ‘पछिमा बाजा’ प्रतियोगिता संयोजन समितिका सदस्य एवम् भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले प्रतियोगिताको उद्देश्य र महत्वमाथि प्रस्ट पार्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले भक्तपुरको कला, संस्कृति संरक्षण गरी जीवन्तता दिई नयाँ पुस्तालाई परम्परागत ज्ञान र सीप हस्तान्तरण गर्ने उद्देश्यले सांस्कृतिक प्रतियोगितामा जोड दिँदै आएको बताउनुभयो ।
प्रतियोगितामा प्रथम भएको समूहलाई नगद रु. २० हजारका साथै पछिमा १ थान, ‘सिछ्या’ १ जोडी, ‘तँ’ १ जोडी, बाँसुरी ४ थान, द्वितीय भएको समूहलाई नगद रु. १५ हजारका साथै ‘पछिमा’ १ थान, ‘सिछ्या’ १ जोडी, ‘तँ’ १ जोडी, तृतीय हुन सफल समूहलाई नगद रु. १० हजारका साथै ‘पछिमा’ १ थान, ‘सिछ्या’ १ जोडी, सान्त्वना स्थान प्राप्त गरेको समूहलाई प्रतिटोली नगद रु. ५ हजारका साथै ‘पछिमा’ १ थान पुरस्कार वितरण गरिएको थियो । त्यस्तै प्रतियोगितामा सहभागी प्रत्येक टोलीलाई ‘पछिमा’ बाजा १÷१ थान र प्रत्येक सहभागी टोलीलाई खाजा खर्च रु. २५००।— प्रदान गरिएको थियो ।
सोही क्रममा अतिथि बिजुक्छेँले विजयी टोलीलाई पुरस्कार र निर्णायक मण्डलका सदस्यहरू शङ्खबहादुर दुवाल, पञ्चलाल लाछिमस्यू, बुद्धलाल मानन्धर, कृष्णकुमार कोजू, विष्णुबहादुर मानन्धर, रवि कपाली र इन्दिरा लाछिमस्यूलाई मायाको चिनोसहित प्रशंसापत्र प्रदान गर्नुभएको थियो भने नगर प्रमुख प्रजापतिले प्रतियोगितामा सहभागी प्रत्येक टोलीलाई ‘पछिमा’ बाजा १÷१ थान हस्तान्तरण गर्नुभयो । प्रतियोगितामा नगरभित्रका ३३ वटा पछिमा बाजा समूहहरूले भाग लिएका थिए ।
‘पछिमा बाजा’ प्रतियोगिताको उद्घाटन¥याली नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ दत्तात्रयमा बेलुन उडाएर सुरु गर्नुभएको थियो । ¥याली दत्तात्रयबाट सुरु भई इनाचो, गोल्मढी, सुकुलढोका, क्वाछेँ, टौमढी, नासमना, वंशगोपाल, तेखापुखु, इँटाछेँ, खौमा हुँदै नगर परिक्रमा गरी भक्तपुर दरबार क्षेत्रमा पुगी सभामा परिणत भएको थियो ।
¥यालीमा भक्तपुर नपाका जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि, सहकारी संस्थाहरू, टीम, क्लव, पुस्तकालय, सङ्घ संस्था, संस्कृतिप्रेमी, कर्मचारीहरू र सहभागी सांस्कृतिक टोलीहरूको सहभागिता रहेको थियो ।
¥याली सुरु हुनुअघि भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *