भर्खरै :

माक्र्सवाद पुरानो भयो भन्नेहरूलाई एक उत्तर– १

कार्ल माक्र्सको मृत्यु १४ मार्च १८८३ मा भएको थियो । सय वर्षको यस अवधिमा संसारमा धेरै ठूल्ठूला परिवर्तनहरू भइसकेका छन् । यसकारण पुँजीवादी र सर्वहारावादी दुवै पक्षले माक्र्सवादबारे अनेक टीका–टिप्पणी र लेखाजोखा गर्दै छन् । पुँजीवादी पक्षले माक्र्सवाद पुरानो भइसकेको दाबा गर्दै माक्र्सवादको वैज्ञानिक पक्षलाई नै काम नलाग्ने साबित गर्ने कोसिसमा लागेको छ । तिनीहरू माक्र्सवादको वैज्ञानिक पक्षलाई अस्वीकार गर्नुभन्दा त्यसको क्रान्तिकारी पक्षलाई नै अस्वीकार गर्ने उद्देश्य राख्दछन् । माक्र्सवादलाई विरोध र कम मूल्याङ्कन गरेर तिनीहरू सर्वहारा क्रान्ति र समाजवादको अनिवार्यतालाई पन्छाउने सैद्धान्तिक आधार तयार गर्न खोज्दै छन् । तर, त्यो तिनीहरूको दिउँसोको सपनामात्रै हुनेछ ।
एकचोटि एङ्गेल्सले भन्नुभएको थियो, “बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी आदि हरेक देशको पुँजीवादी क्रान्तिपछि कामदार वर्गलाई निःशस्त्र पार्ने शोषक वर्गको मुख्य धर्म बनेको थियो ।” लियोनमा भएको मजदुर विद्रोहदेखि पेरिस कम्युनसम्म मजदुर वर्गले आफ्नो देशभित्र आफूलाई मद्दत गर्ने कुनै वर्ग तयार भइसकेको पाएन, न त बाहिरबाटै मद्दत दिने कुनै शक्ति पायो । तर, हरेक पुँजीवादी क्रान्तिले आध्यात्मिक र भौतिक, प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट अन्य देश र जनताबाट मद्दत पाएरै सफलता हासिल गरेको थियो । सन् १६४० को बेलायती पुँजीवादी क्रान्तिमा युरोपका अन्य देशहरूको धार्मिक र कूटनैतिक योगदान थियो । अमेरिकी स्वतन्त्रता आन्दोलनमा पनि बेलायत र फ्रान्सकै वैचारिक, भौतिक र कूटनैतिक योगदान थियो । फ्रान्सेली राज्य क्रान्तिमा बेलायत र अमेरिकाको प्रत्यक्ष प्रभाव र सहयोग थियो । तर, लियोन विद्रोहदेखि पेरिस कम्युनसम्म मजदुर वर्गलाई वैचारिक र भौतिक सहयोग गर्ने कुनै देश थिएन ।
सन् १९१७ को रुसी क्रान्तिपछि स्थितिमा हेरफेर आयो । सन् १९१९ मा जर्मनीको क्रान्ति र युरोपका अन्य विद्रोहहरूमा बोल्शेविक क्रान्तिबाट मानसिक प्रेरणा पाए । तर, रुसी क्रान्तिका अनेक जटिल स्थितिले गर्दा भौतिक वा प्रत्यक्ष सहयोग पाएनन् । त्यसकारण, ती क्रान्तिहरू असफल भए ।
दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा अगाडिसम्म रुसमा समाजवादले एक निश्चित स्थिति कायम गरिसकेको थियो र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि साम्राज्यवादविरोधी अनेक मुक्ति युद्ध र स्वतन्त्रता आन्दोलनहरू परिपक्वतातिर अग्रसर हुँदै थिए । पुँजीवादी देशहरूमा मजदुर आन्दोलनको आफ्नै आधार तयार भइसकेको थियो । दोस्रो विश्वयुद्धमा रुसी सेनाको सहयोगले पूर्वी यूरोपेली मजदुर वर्गले जर्मनी र इटालियाली आक्रामक पुँजीवादी हमलाबाट आ–आफ्नो देशलाई मुक्त पारे । सोभियत पार्टीकै सहयोगबाट चीनले जापानी साम्राज्यवादलाई हरायो । चीन र अन्य समाजवादी देशकै सहयोगले उत्तर कोरिया सं.रा. अमेरिकी साम्राज्यवादको आक्रमणबाट मुक्त भयो । भियतनाम, लावस र कम्बोडिया फ्रान्सेली उपनिवेशवादबाट मुक्त भए ।
रुसी क्रान्तिमा सर्वहारा वर्ग र किसान एकताले पेरिस कम्युनको राजनैतिक कमजोरी दोहोरिन दिएन र पेरिस कम्युनले नपाएको बाहिरी शक्तिको मद्दत चिनीयाँ क्रान्तिले पायो । तर, भौगोलिक र अन्य कारणहरूबाट स्पेनको क्रान्तिलाई अन्तर्राष्ट्रिय मजदुर आन्दोलनले सहयोग पु¥याउन नसक्दा स्पेनको क्रान्ति असफल भयो । क्युवाली क्रान्तिमा भौगोलिक दूरता क्रान्तिको सहयोगको बाधा बनेन ।
अहिले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूमा भइरहेको मुक्ति युद्ध र मजदुर आन्दोलनले माक्र्सवाद पुरानो भइसकेको कुरा बताउँदैन । माक्र्सवाद पुँजीवादको विकास भइरहेको बेलाको सर्वहारा दृष्टिकोण थियो । सुरुमा विश्वव्यापी ढङ्गले साम्राज्यवादको उत्थान, विकास र पतनबारे सबै कुरा प्रस्ट भइसकेको थिएन । यातायातको विकास, व्यापारको विश्वव्यापी रूप, नयाँ नयाँ वैज्ञानिक आविष्कार र पुँजीवादी राज्य शक्तिमा आउँदै गएको परिपक्वताबाट स्वाभाविकरूपमा हुने समाजको विकासबारे माक्र्सले गर्नुभएको कति भविष्यवाणीअनुरूप समाजको परिवर्तन हुनमा बाधा अड्चन तेर्सियो ।
बेलायती समाजको स्वाभाविक विकासको बाटो पहिले सर्वहारा क्रान्ति र समाजवाद नै थियो । माक्र्सको त्यो भविष्यवाणी दर्शन, वर्गसङ्घर्ष र आर्थिक नियममा आधारित थियो । तर, उपनिवेशका जनताको शोषणको केही भाग बेलायती मजदुर वर्गलाई समेत आर्थिक सहुलियत ‘घुस’ को रूपमा दिनसक्नु, बेलायती मजदुरहरूलाई अष्ट्रेलिया, अमेरिका, दक्षिण अफ्रिकाजस्ता उपनिवेशहरूमा विस्थापित गर्न सफल हुनु र अनेक प्रकारका मजदुरविरोधी थिचोमिचो र कृत्रिम बाधाहरू बेलायती मजदुर वर्गको अगाडि तेर्सिए । २०० वर्षदेखि राजनैतिक सङ्घर्षको अनुभव भएको पुँजीपति वर्गलाई राजनैतिक सङ्घर्षको सा रे ग म मात्र सिकिरहेको बेलायती मजदुर वर्गले जित्न सकेन । धर्म, जाति, इलाकाजस्ता साम्प्रदायिक भावनाहरूबाट बेलायती मजदुर वर्ग मुक्त भइनसक्नु, कूट–युद्ध र मन्त्र–युद्धका अनेक छलछामहरूमा पोख्त सामन्त र पुँजीवादी राजनैतिक शक्तिलाई त्यस क्षेत्रमा हराउन सक्ने राजनैतिक सङ्गठन बनी नसक्नु, देशभित्रका सबै मित्र वर्गलाई एकगठ गर्नसक्ने अर्थात् देश र विदेशको शत्रुको शत्रुलाई समेत मित्र बनाई साझा शत्रुको विरोधमा राजनैतिक र सैनिक सङ्घर्ष गर्नसक्ने राजनैतिक नेतृत्वको विकास भइनसक्नु नै बेलायत पहिलो सर्वहारा क्रान्तिको थलो बन्न नसक्नुका कारणहरूमध्ये हुन् । पुँजीपति वर्ग भने ‘अगुल्टोले हानेको कुकुर बिजुली देख्ता तर्सन्छ’ भनेजस्तै स–साना हडतालको गड्यौलालाई समेत ‘ड्रैगन’ सम्झेर युद्धस्तरमा जालझेल र दमन कार्य गर्न थाल्दथ्यो । त्यसबेला आजको जस्तो सर्वहारा अन्तर्राष्ट्रिय शक्तिको मद्दत पाएको भए बेलायतको ‘माग–पत्रको व्यापक आन्दोलन’ र पेरिस कम्युनजस्तो पहिलो सर्वहारा राज्यले हार्नुपर्ने थिएन । नेपोलियनलाई दुई दुईचोटि घेरामा पार्न जान्ने सामन्त र पुँजीपति वर्गको कूटनैतिक र राजनैतिक सुझबुझले त्यसबेला सैनिक दृष्टिबाट पनि परिपक्वता नआइसकेको बेलायत, फ्रान्स र जर्मनीको मजदुर आन्दोलनलाई दबाउन गा¥हो परेन ।
बेलायतमा स्वाभाविकरूपले सर्वहारा क्रान्ति भएन र समाजवाद झन्झन् पर पुग्यो । यसकारण, माक्र्सले पछि क्रान्तिलाई ‘प्रसव वेदना’ सँग दाज्नुभयो । आज त्यसको दुई अर्थ लाग्छ । पहिलो अर्थ हो– क्रान्ति शान्तिपूर्ण ढङ्गले भएन भने सशस्त्र र रक्तरंजित हुनेछ– नर्सले कैँची प्रयोग गरेर बच्चा जन्माएजस्तै । अर्को अर्थ हो कुनै एक देशको समाजको स्वाभाविक विकासमार्फत नै हुने क्रान्तिमा विदेशी शक्तिले वाधा दिएमा सर्वहारा अन्तर्राष्ट्रिय शक्तिको सहयोगले पनि क्रान्ति हुनेछ । यसको उदाहरण पूर्वी युरोपेली देशहरू, चीन, कोरिया, भियतनाममात्रै होइन, क्युवा पनि यसको ज्वलन्त उदाहरण हो । यसकारण, माक्र्सवादको सारतत्व समय बित्दै गएपछि झन्झन् स्पष्ट हुँदै छ ।
माक्र्स र एङ्गेल्सको मृत्युपछि क्रान्तिका असफलताका अनेक कारणहरूलाई राम्रोसँग केलाउनुको साटो वर्नस्टिनले माक्र्सवादलाई पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकतामा जोड दिन थाले । पुँजीवादमा उत्पादनका साधनहरूको विकास हुँदै जाँदा पुँजीको केन्द्रीकरण केही व्यक्तिहरूको हातमा हुन्छ । समाज, पुँजीपति र मजदुर वर्ग दुई ठूला वर्गमा विभाजित हुन्छ । आखिर अत्यन्त विशाल मजदुर वर्गले पुँजीपति वर्गलाई सत्ताबाट फाल्छ र समाजवाद आउनेछ भन्ने माक्र्सको दृष्टिकोण अव्यवहारिक साबित भयो भनेर बर्नस्टिनले दाबा गरे । अन्तमा उनले भने, “आन्दोलन नै सबथोक हो, अन्तिम लक्ष्य केही पनि होइन ।”
आज त्यही कुरा पुँजीवादी लेखकहरू र प्रजातान्त्रिक समाजवादका समर्थक सम्झने देश–विदेशका केही नेता र लेखकहरू दोह¥याउँदै छन् । बर्नस्टिनको के भनाइ थियो भने पुँजीवादको विकास हुँदै जाँदा समाज पुँजीपति र मजदुर दुई वर्गमा विभाजित हुँदै जानुपर्नेमा समाजमा एक नयाँ वर्गको उदय भयो, त्यो हो– मध्यम वर्ग । यसकारण, माक्र्सवादलाई पुनः विचार गर्नुपर्ने भयो । माक्र्सवाद पुँजीवाद सँगसँगै विकास भएको सर्वहारा दृष्टिकोण भएको हुँदा पुँजीवादका सबै भावी रूपहरू त्यसैबेला माक्र्स र एङ्गेल्सको जानकारीभित्र पर्ने कुरै थिएन । त्यसबेला मध्यम वर्गको रूपमा विकास भएका कति भाग आज मजदुर वर्गमै देखिने छन् । पुँजीवादको सुरुमा गाउँबाट आएका वा पुराना दासहरूबाट फेरिएका मजदुरहरूलाई पुँजीवादमा विकास भइसक्दाको प्राविधिक मजदुरहरूसँग दाज्नु वर्नस्टिनको अदूरदर्शिता नै थियो । मजदुरको अर्थ अशिक्षित र शारीरिक काम गर्नेहरूमात्र नभई शिक्षित र सुसंस्कृत, आफ्नो बौद्धिक श्रम बेची खाने शासक वर्गमा नपरेका बुद्धिजीवीहरू पनि हुन् । नेपालको सन्दर्भमा पनि अरबपति र करोडपतिको अगाडि २–४ लाखको सम्पत्ति भएका मध्यम र स–साना पुँजीपति वर्ग एक दिन मजदुर वर्गकै पक्षमा आउनेछन् । चीन र अन्य देशकै क्रान्ति यसको उदाहरण हो । यसकारणले पनि माक्र्सवादप्रतिको बर्नस्टिनको दृष्टिकोण सङ्कीर्ण र हचुवा सावित भएको छ ।
तर, कसै कसैको भनाइ छ– पश्चिमी युरोपमा प्राविधिक व्यक्तिहरू आफूलाई सर्वहारा मान्दैनन् ।
कुरा आफूलाई के भन्छन् र के ठान्छन् भन्ने चाहि होइन, बरु व्यवहारमा उसले कस्तो भूमिका खेल्छ भन्ने हो । राजाले आफूलाई गरीब, दुःखी र जनताको सेवक भने पनि यथार्थ जीवनमा ऊ शासक र सम्पन्न वर्गमै आउँछ । त्यस्तै कुनै एक सर्वहाराले आफूलाई सा¥है सुखी र शासक ठान्छ भने पनि वास्तवमा त्यो उसको भावनामात्र हुनेछ । नेपालमा अहिले केही ठूल्ठूला इन्जिनियर, डाक्टर, कर्मचारी र व्यापारीहरू भ्रष्टाचार र कालो व्यापारले करोडपति बन्दै छन् । नेपालमा पुँजीवादको विकास भइरहेको हुँदा केही व्यापारी, माथिल्ला कर्मचारी, डाक्टर र इन्जिनियरहरू पुँजीपति वर्गमा पुग्नेछन् । तर, सबै कर्मचारीहरू, व्यापारी र प्राविधिक मजदुरहरू पुँजीपति वर्गको रूपमा विकास हुनेछैनन् । प्राविधिक आविष्कार, आर्थिक विकास र अन्य देशहरूसँग जेलिएको राजनैतिक र आर्थिक सम्बन्धहरूले युरोपका मजदुर वर्गको आर्थिक स्थितिमा केही सुधार अवश्य भएको छ । तर, तिनीहरूको तुलना विकासशील मुलुकका मजदुरहरूसँग गर्नु हुन्न । नेपाली मजदुरको ज्यालासँग विकसित देशको मजदुरको ज्याला तुलना गर्नु त नेपालको एक उठ्दो पुँजीपतिलाई रकफेलरसँग तुलना गर्नु जतिकै हुनेछ । संसारमा सर्वहारा क्रान्ति र समाजवादको विजय अगाडि बढ्दै गएपछि बेलायत र अन्य विकसित देशहरूमा पनि क्रान्ति अनिवार्य छ । यसमा अनेक जेलिएका आर्थिक र राजनैतिक कारणहरू छन्, तर त्यसलाई रोक्न पुँजीपति वर्ग सैनिक शक्ति र अनेक राजनैतिक छलछामलाई बलियो बनाउँदै छ । तर, निश्चित छ बढ्दै गएको जीउमा पुरानो लुगा फेरिएन भने त्यो आफै फाट्छ । माक्र्सवादमा यस्तो उद्देश्य राख्ने कति काव्यात्मक अभिव्यक्तिलाई भौतिक विज्ञानको सूत्रको रूपमा देखिनु निश्चय पनि गम्भीर विश्लेषणकै अल्छिपना हुनेछ । यहाँ स्वतः क्रान्ति हुन्छ भन्ने होइन, बरु मजदुर वर्गको अगुवाइको लोप भएको मात्र हो ।
माक्र्सवादका केही आलोचकहरू सशस्त्र क्रान्तिको सम्भावना विस्तारै घट्दै गएको कुरा बताएर माक्र्सवादको सशस्त्र क्रान्तिलाई पुरानो सिद्धान्त साबित गर्न खोज्छन् । तर, अहिले एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा भइरहेको सङ्घर्षमा बम र तोपका घन्काइले सबैको कान खोली दिएकै हुनुपर्छ । तर, क्रान्ति पहिलो प्रयासमै सफल हुन्छ भन्ने कुरा अवश्य होइन । सामन्त वर्गको विरोधमा पुँजीवादी क्रान्तिले पनि अनेक नागबेली बाटो लिएको थियो । सशस्त्र क्रान्तिको सम्भावना समाप्त भएको आधारमै माक्र्सवाद पुरानो भएको हुँदो हो त पुँजीवादी देशहरूले हातहतियारको विकासमा जोड नदिए पनि हुन्थ्यो । यसकारण, अहिले पनि सशस्त्र क्रान्तिको सम्भावना पहिले जतिकै छ । यस अर्थमा पनि माक्र्सवाद पुरानो भइसकेको छैन ।
स्रोतः समाजवाद र सान्दर्भिक विषयवस्तु

Leave a Reply

Your email address will not be published. Required fields are marked *