सिद्धान्त र विचार नै दललाई चिन्ने आधार
- बैशाख ९, २०८३
संसारका सबैजसो देशका जनसङ्घर्ष र क्रान्तिमा युवा–विद्यार्थीको महत्वपूर्ण भूमिका रहने गरेको छ । अझ विशेषतः दक्षिण एसियाली देशका राजनीतिक परिवर्तनको इतिहास अध्ययन गर्दा विद्यार्थी आन्दोलनले अहम् भूमिका निभाएको देख्छौँ । विसं २००७ सालयताको नेपालको राजनीतिक परिवर्तनको इतिहासका जानकारहरूलाई विद्यार्थी आन्दोलनको योगदानबारे लामो व्याख्या आवश्यक नहोला । विसं १९९७ सालमा राणाा शासकहरूले परिवर्तनको माग गरेको आरोपमा ज्यान सजाय दिएका अमर सहिदहरूमध्ये गंगालाल श्रेष्ठ विद्यार्थी नै थिए । तत्कालीन परिस्थितिमा अलग्गै विद्यार्थी सङ्गठन स्थापना नभए पनि राणाशासनविरोधी जनसङ्घर्षमा परिवर्तनकारी विद्यार्थीहरूको त्याग र बलिदान कसैले लुकाउन सक्ने कुरा होइन । भारतका विभिन्न सहर र विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू विभिन्न विचारधारामा आधारित राजनीतिक सङ्गठनमा आबद्ध भएर एक शताब्दी लामो जनविरोधी शासनविरुद्ध सङ्घर्षमा होमिएका थिए ।
२००७ सालको परिवर्तनले मात्र व्यापक नेपाली जनताको अपेक्षा पूरा गर्नसक्ने कुरै थिएन । विद्यार्थी सहिद चिनियाँलाल श्रेष्ठको बलिदान त्यसको पुस्ट्याईँ थियो । २०१७ सालमा पञ्चायती व्यवस्था लागु भयो । विद्यार्थी आन्दोलनभित्रै पनि विभाजन देखाप¥यो । एकथरी विद्यार्थीहरू पञ्चायतको काख न्यानो मान्दै यथास्थितिको पक्षपोषणमा लागे भने परिवर्तनकारी विद्यार्थीहरू फेरि पनि न्याय, समानता र जनताको प्रजातन्त्रको पक्षमा परिवर्तनको लहरमा उर्लिए ।
विसं २००६ सालमा भएको जयन्तु संस्कृतम् आन्दोलनबाट औपचारिक लिन थालेको नेपालको विद्यार्थी आन्दोलन पञ्चायतकालसम्म आइपुग्दा किशोरवयमा टेकिसकेको थियो । राजनीतिक दल प्रतिबन्धित रहेको परिस्थितिमा सीमित राजनीतिक अधिकारको लागि आवाज उठाउने थलो बन्यो विद्यार्थी सङ्गठनहरू । तर, विद्यार्थी आन्दोलनभित्रै मौलाउन थालेको आत्मसमर्पणवादी चरित्रले परिवर्तन पक्षधर सङ्घर्षलाई कमजोर बनाइरहेको थियो । विद्यार्थी आन्दोलनलाई आत्मसमर्पणवादी चरित्रबाट जोगाउन नेपालका क्रान्तिकारी विद्यार्थीहरूले विसं २०२६ सालमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ स्थापना गरे । नेक्राविसङ्घ स्थापना नहुँदो हो त विद्यार्थी आन्दोलन दरबारभित्रको खोपीमा कैद हुने थियो र पञ्चायतविरोधी सङ्घर्ष कमजोर र भुत्ते हुने थियो ।
पञ्चायतविरोधी सङ्घर्षमा नेक्राविसङ्घले सधैँ अग्रमोर्चामा उभिएर लड्यो । नेक्राविसङ्घका कार्यकर्ता राजकुमार सुवालको बलिदानले पञ्चायतविरोधी जनताको सङ्घर्षलाई अझ तेजिलो बनायो ।
२०४६ सालको जनआन्दोलनपछि स्थापना भएको बहुदलीय व्यवस्थापछि लागु भएको नवउदारवादी अर्थव्यवस्थाले शिक्षा क्षेत्रमा पनि धेरै पुँजीवादी विकृति जन्मायो । त्यस्ता हरेक विकृतिविरुद्ध नेक्राविसङ्घ अथकरूपमा सङ्घर्ष ग¥यो । त्यस्तै नेपालको राजनीतिमा देखिएका पुँजीवादी रोग र जनजीविकाका समस्या समाधानको निम्ति भएका हरेक सङ्घर्षमा नेक्राविसङ्घ सम्झौताहीन रूपमा सामेल भयो । २०५२ सालबाट सुरु भएको माओवादी सशस्त्र विद्रोहका सैद्धान्तिक कमजोरी औँल्याउँदै नेक्राविसङ्घले लगातार सैद्धान्तिक सङ्घर्ष ग¥यो । त्यो सङ्घर्ष चुनौतीपूर्ण थियो । तथापि, नेक्राविसङ्घलाई इतिहासका कुनै पनि आँधीबेहरीले कमजोर बनाउन सकेको छैन । प्रतिगमनविरोधी जनआन्दोलनमा नेक्राविसङ्घको अथक यात्रा यसको अर्काे प्रमाण थियो ।
भारतीय विस्तारवादले नेपालमाथि गरेको थिचोमिचो र संरा अमेरिकाले संसारभर फैलाएको आतङ्क र अशान्तिको विरोधमा नेक्राविसङ्घ सालको रुखझैँ उभिएको छ । एमसीसी सम्झौताको विरोधमा नेपालमा कुनै पनि विद्यार्थीले लगातार सङ्घर्ष गरेको छ भने त्यो नेक्राविसङ्घले गरेको छ । इतिहासको गौरवपूर्ण यात्रा छिचोल्दै अघि बढेको नेक्राविसङ्घको तेह«ौं राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदै छ । इतिहासले हस्तान्तरण गरेको गौरव उँचो राख्दै, वर्तमानले उत्तरदायित्व बहन गर्दै र भविष्यप्रतिको जिम्मेवारीबोधका साथ नेक्राविसङ्घ समाजवादी क्रान्तिको पथमा लगातार अघि बढ्ने विश्वास छ । नेक्राविसङ्घका सबै जुझारु देशभक्त, क्रान्तिकारी र परिवर्तनका पक्षधर विद्यार्थीहरूलाई हार्दिक शुभकामना !
Leave a Reply