भर्खरै :

भक्तपुर नपा वडा नं. ५ मा व्यायामशाला तथा तेक्वान्डोको उद्घाटन

भक्तपुर, १६ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ५ को आयोजनामा भएको व्यायामशाला तथा नगरव्यापी तेक्वान्डोको बुधबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नपाले नगरका २३ ठाउँमा खुला व्यायामशाला राखेको उल्लेख गर्दै वडा–वडामा स्थापित व्यायामशालाको संरक्षण र नियमित मर्मत सम्भारमा जोड दिन आग्रह गर्नुभयो ।
उहाँले खेलकुद हारजीतभन्दा मित्रता र अनुशासनको निमित खेल्नुपर्छ, विद्यार्थीहरूले शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढाउन सके सबै ठाउँमा सफलता हासिल गर्न मद्दत पुग्छ भन्नुभयो ।
भक्तपुरका वडा–वडामा स्वास्थ्य केन्द्रहरू निर्माण गरी नगरवासीहरूलाई छिटो छरिटो स्वास्थ्य सेवा प्रदान गर्ने नीतिअनुसार भक्तपुर नपा वडा नं. २ ब्यासी, वडा नं. ५ भगवती स्थान र वडा नं. १ सल्लाघारीमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरी सेवा प्रदान गर्दै आएकोमा वडा नं. १० मा पनि आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइरहेको उहाँले अवगत गराउनुभयो ।
भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले भक्तपुर नपाले विद्यार्थीहरूको सर्वाङ्गीण विकासको लागि खेलकुदलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
कार्यक्रममा स्थानीय नारायणप्रसाद त्वानाबासु, वडा सदस्य तथा ५ वडा खेलकुद समितिका संयोजक बलराम न्हिसुतु र ५ वडाका नारायणकृष्ण माकले पनि बोल्नुभएको थियो । नगर प्रमुख प्रजापतिले खेल सामग्री प्रदान गरी तेक्वान्डो खेलको उद्घाटन गर्नुभएको थियो ।
सोही दिन तेक्वान्डोमा विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो । उक्त प्रतियोगितामा वागीश्वरी तेक्वान्डो डोजाङ प्रथम, ख्वप्रिङ तेक्वान्डो द्वितीय र च्यालेन्जर तेक्वान्डो डोजाङ तेस्रो भएका थिए ।
उक्त खेलमा सूर्योदय तेक्वान्डो डोजाङका पुरूषमा सुचक श्रेष्ठ र महिलातर्फ द च्यालेन्जर डोजाङका जेनिफर दुवाल उत्कृष्ट घोषित भएका थिए ।
पुरस्कार वितरण समारोहमा भनपाका उपप्रमखु रजनी जोशी, वडाध्यक्ष पे्रमगोपाल कर्माचार्य र स्थानीय नारायणप्रसाद त्वानावासुले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको सभापतित्व आयोजक खेलकुद समितिका अध्यक्ष बलराम न्हिसुतुले गर्नुभएको थियो । उक्त प्रतियोगितामा पुरूष र महिलातर्फ ३३–३६, ३६–३९, ३९–४२ र ४२–४५ केजी तौल समूहबीच भएको थियो । सोही समयमा १६ वर्षमुनि पुम्से खेलको पनि प्रतियोगिता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *