भर्खरै :

नेक्राविसङ्घ कामदार जनताका छोराछोरीको पाठशाला

(नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको ते¥हौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सांसद सृजना सैंजूले दिनुभएको शुभकामना मन्तव्य–सम्पादक)
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १३ औँ राष्ट्रिय सम्मेलनको भव्य सफलताको कामना गर्दछु । पाँच–छ दशक लामो सङ्घर्षबाट एउटा निष्कर्षमा हामी पुग्छौँ, नेक्राविसङ्घ हाम्रो पाठशाला हो अनि नेमकिपा हाम्रो महाविद्यालय । नेक्राविसङ्घ कामदार वर्गका छोराछोरीहरूको पाठशाला हो । नेमकिपा कामदार जनताको महाविद्यालय, प्रगतिशील, देशभक्त तथा वामपन्थीहरूको महाविद्यालय हो ।
नेक्राविसङ्घ त्यस्तो पाठशाला हो जहाँ विद्यार्थीलाई टायर बाल्न सिकाइन्न, गुन्डागर्दीलाई राजनीति बताइँदैन, अपराधलाई राजनीतिकरण गर्न सिकाइँदैन । विश्वविद्यालयमा आगजनी गर्न नसिकाउने पाठशाला हो, नेक्राविसङ्घ । गुरुहरूलाई अपमान गर्न र हत्या गर्न नसिकाउने पाठशाला ।
नेक्राविसङ्घ नयाँ पुस्तालाई अध्ययनमा अग्रसर हुन अभिप्रेरित गर्ने पाठशाला हो । निःस्वार्थी, निडर र निर्भिक भएर सत्यको पक्षमा उभिन र असत्यविरुद्ध सङ्घर्ष गर्न सिकाउने पाठशाला हो । आत्मसम्मानसहित आत्मनिर्भर भएर बाँच्न सिकाउने पाठशाला हो । देशका सच्चा सुपुत्र–सुपुत्री बन्न हौस्याउने पाठशाला हो । नेक्राविसङ्घ असल नागरिक तयार गर्ने पाठशाला हो । देश र जनताप्रति समर्पित भएर वर्गसङ्घर्षमा भाग लिन मार्गनिर्देश गर्ने कामदार वर्गका छोराछोरीहरूको एकमात्र पाठशाला हो । नेक्राविसङ्घले धेरैधेरै युवाहरूलाई शिक्षित–दीक्षित बनाइसकेको छ । देशको राजनीतिक आन्दोलनमा धेरै होनहार युवाहरू दिइसकेको इतिहास साक्षी छ ।
हाम्रो मातृपार्टी नेमकिपा नेपालको राजनीतिक दबुमा एउटा पृथक चिन्तनको चौतारी हो । नेपालको कम्युनिस्ट आन्दोलनको प्रकाशस्तम्भ हो । कामदार वर्गलाई राजनीतिकरूपमा सचेत र सङ्गठित बनाउन विगत ५–६ दशकदेखि क्रियाशील यो एउटा गौरवशाली महाविद्यालय हो । नेपालको राजनीतिक आन्दोलनमा नेमकिपा सिद्धान्त, विचार, राजनीतिक, नैतिकता तथा इमानदारीको पर्याय हो, पुञ्ज हो । नेपालको राजनीतिक दबुमा नेमकिपाको अनुपस्थिति हुँदो हो त कामदार वर्गको आफ्नै सङ्गठनको अभाव हुने थियो । नेपालको देशभक्तिपूर्ण आन्दोलन अझ कमजोर हुने थियो । नेपालको वामपन्थी आन्दोलन दिशाहीन हुने थियो भन्नु आत्मश्लाघा होइन यथार्थ हो । त्यही महाविद्यालयअन्तर्गतको एउटा पाठशाला हो, नेक्राविसङ्घ ।
नेक्राविसङ्घले ५–६ दशकको गौरवपूर्ण इतिहास बोकेको छ । सुस्ता होस् या कालापानी भारतीय विस्तारवादको सीमा अतिक्रमणविरुद्ध नेक्राविसङ्घ सधैँ–सधँै उभियो । भारतीय एकाधिकार पुँजीको बल मिच्चाइँविरुद्ध उभियो । कामदारवर्गका छोराछोरीलाई अवसरबाट वञ्चित गर्ने र पक्षपात गर्ने शिक्षा नीतिको विरोध ग¥यो । विश्वविद्यालयको अनियमितता, अस्तव्यस्तता र अराजकता चिरफार ग¥यो । विश्वविद्यालयमा शासक दलको भागबन्डा र भ्रष्टाचारको नालीबेली खोतल्यो । शिक्षामा नवउदारवादको विरोध नेपालको विद्यार्थी आन्दोलनमा नेक्राविसङ्घको स्पष्ट सैद्धान्तिक अडान हो । शिक्षा समाजमा आमूल परिवर्तनका निम्ति हो भन्ने हाम्रो मान्यता हो । त्यसैले चेतना, विज्ञान र व्यवहारलाई जोड दियो । निःशुल्क, अनिवार्य, वैज्ञानिक तथा उत्पादन श्रमसँग जोडिएको शिक्षाको पक्ष लियो । त्यतिमात्र होइन देशको सार्वभौमिकता, भूअखण्डता रक्षार्थ सङ्घर्ष ग¥यो । एमसीसी र अमेरिकी साम्राज्यवादविरुद्ध नेक्राविसङ्घले चलाएको सङ्घर्षको लहर खेर जानेछैन । विद्याथीहरूलाई साम्राज्यवादी शक्तिविरुद्ध लड्न सिकायो । हामीले सधँै अमेरिकी युद्ध अपराधको विरोध गर्यौँ ।
आजभोलि, विद्यार्थीहरूमा व्यक्तिवादी, स्वार्थी तथा आत्मकेन्द्रित भावना मौलाएको गुनासो छ । पुँजीवादी व्यवस्थाको शिक्षाको यो दुर्गुणलाई तोडेर नेक्राविसङ्घका साथीहरू अघि बढिरहेका छन् । नेक्राविसङ्घका हरेक सदस्य जीवन सङ्घर्षमा सफलतापूर्वक अघि बढ्ने विश्वास छ । व्यक्तिगत फाइदा, गलत बाटोतिर नहिँडी कामदार जनताका छोराछोरी, देशकै छोराछोरी बन्न सफलता मिलोस् शुभकामना छ ।
हामीले सङ्कल्प गर्नुपर्छ विदेश होइन स्वदेशमै सङ्घर्ष गर्ने । आफ्नो ज्ञान, सीप तथा क्षमताको माध्यमबाट देश र जनताको सेवा गर्ने जीवन लक्ष्य चुन्न जरुरी छ । हाम्रा हरेक विद्यार्थीले आफ्नो श्रममा विश्वास गर्ने भावना विकास गर्न आवश्यक छ । अरूको भूमिमा पसिना बगाउने, अरूको भाग या सुविधामा रम्ने गलत भावना त्याग्नु आवश्यक छ । जुन देशमा हाम्रो कुनै योगदान छैन या भूमिका छैन, त्यहाँ आनन्द खोज्न हिँड्नु, त्यहाँ रम्ने विचार गर्नु कुनै तर्कले पनि सही सावित हुन्न । त्यसकारण, विदेशको होइन स्वदेशी माटोको सेवा गर्ने शिक्षा आवश्यक छ । त्यसको निमित्त सही चेतना जरुरी हुन्छ । शैक्षिक प्रमाणपत्र र नतिजा या अङ्कगणितमात्र होइन सद्बुद्धि, चेतना र विवेक आवश्यक छ भन्नेबारे मनन गरौँ ।
कुनै पनि देशको भविष्य नयाँ पुस्तामा निर्भर हुन्छ । युवा पुस्तामा राजनीतिक निराक्षरता या उदासिनता सबैभन्दा घातक हुने राजनीतिक चिन्तकहरूको भनाइ छ । राजनीतिक चेतना, चेतनामध्येकै सर्वोकृष्ट चेतना हो । तसर्थ, हाम्रा हरेक विद्यार्थी राजनीतिकरूपमा सचेत तथा सङ्गठित भएर अगाडि बढ्न आवश्यक छ ।
यी सम्पूर्ण कार्यमा नेक्राविसङ्घले एउटा सफल पाठशालाको भूमिका खेल्ने विश्वास छ । त्यसका निम्ति हार्दिक शुभकामना छ ।
केही दिनअगाडि हामीले सुन्यौँ कागज र मसी आयात गर्न नसक्दा श्रीलङ्कामा विद्यार्थीहरूको परीक्षा स्थगित गर्नुपर्ने अवस्था आयो । श्रीलङ्का यतिखेर गम्भीर आर्थिक सङ्कट बेहोर्दै छ । वैदेशिक ऋणमा डुबेको श्रीलङ्का कुनै देश विशेषको म्भदत(त्चबउ अर्थात् ऋण पासोमा परेको भने होइन । श्रीलङ्कामा आज चरम अभाव छ । ऊर्जा क्षेत्र, खाद्यान्न, पेट्रोल र अत्यावश्यक वस्तुको अभाव छ । तेलको लाइन बस्दाबस्दै ४ जनाको ज्यान गइसकेको खबर हामीले सुन्यौँ ।
यसको कारण के हो ? यसको कारण त्यहाँको नवउदारवादी अर्थनीति हो । श्रीलङ्का बेलायतबाट सन् १९४८ मा स्वाधीन भइसकेपछि सामुद्रिक व्यापार र रणनीतिक महत्वको ठाउँ भए पनि अर्थतन्त्रले फड्को मार्न सकेन । श्रीलङ्कालाई भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले लामो समय जातीय तथा क्षेत्रीय द्वन्द्वमा फसायो । सन् १९७७ मा आर्थिक उदारीकरणको नीति अपनायो । गल्ती त्यही नै थियो । दक्षिण एसियाकै पहिलो उदार अर्थतन्त्र । त्यसपछि त्यहाँ सामाजिक सुरक्षा र गरिबी न्यूनीकरणका कार्यक्रमहरू ओझेल पर्दै गए । श्रीलङ्काले विश्व बैङ्क, एसियाली विकास बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष, जापान, संरा अमेरिका र युरोपेली सङ्घसँग ठूलो परिमाणमा ऋण लियो । तथ्याङ्कले भन्छ श्रीलङकाले सबैभन्दा बढी र ठूलो शेयर वैदेशिक ऋणपत्रमा लगानी गरेको छ । त्यसकारण, आजको आर्थिक सङ्कट उदार अर्थनीति तथा नवउदारवादी आर्थिक नीतिकै प्रतिफल हो । पुँजीवादी व्यवस्थाको उपज हो । कुनै देश विशेषलाई आरोप लगाई पुँजीवादी व्यवस्था चोखो हुन सक्दैन । पश्चिमा सञ्चारमाध्यम र भारतीय सञ्चारमाध्यमले जस्तै भूmटा प्रचार गरे पनि यो सङ्कटको वास्तविक दोषी भारतीय विस्तारवाद तथा एकाधिकार पुँजी हो । अमेरिकी साम्राज्यवादी हस्तक्षेप हो । पुँजीवादी व्यवस्था जुनजुन देशमा छ तत्तत् देशमा यो किसिमको सङ्कट आउने निश्चित छ । कार्ल माक्र्सले भन्नुभएकै हो हरेक १०–१० वर्षमा पुँजीवादी व्यवस्थाले आर्थिक सङ्कट बेहोर्छ । आजभन्दा २ सय वर्षअगाडि नै इङ्गित गर्नुभएको सङ्कट आज श्रीलङ्कामा देखिएको छ ।
श्रीलङ्काको सङ्कटपछि के अब नेपाल आर्थिक सङ्कटको बाटोमा छ ? यो प्रश्न उठिरहेको छ । तथ्यतथ्याङ्कले नेपाल पनि टाटपल्टेको घोषणा गर्नमात्र बाँकी देखिन्छ । श्रीलङ्कामा हामीले देख्यौँ, आर्थिक सङ्कटले ढाड सेकिने भनेको कामदार जनताको, गरीबका छोराछोरीको हो । त्यसकारण, हाल नेपालको समष्टिगत सूचकहरू ऋणात्मक गतिमा छ । त्यो भन्नुको अर्थ नेपालको विदेशी मुद्रा सञ्चिति अर्थात् वस्तु र सेवा आयात गर्ने मुद्रा सञ्चितिले ६–७ महिनामात्र धान्ने अर्थविद्हरूको अनुमान छ । श्रीलङ्काको आर्थिक सङ्कटको सुरुआत विदेशी मुद्रा सञ्चितिको चरम अभावबाट भएको हो । मुद्रास्फिती र मूल्यवृद्धि एउटा कारण हो । नेपालमा मुद्रास्फिती दोब्बर बढेर ६ प्रतिशत नाघेको छ ।
श्रीलङ्कामा जस्तै नेपालको अर्थतन्त्रको आधार विप्रेषण र पर्यटन हो । सन् २०१९ मा आतङ्कवादी हमला बेहोरेको श्रीलङ्कालाई कोभिड–१९ र पछिल्लो समय युक्रेन घटनाले थला पारेको चर्चा छ । नेपालको अवस्था पनि उस्तै छ । भुक्तानी सन्तुलन ऋणात्मक छ, ९द्यइए० अर्थात् मुलुक भित्रिनेभन्दा बाहिरिने रकम ज्यादा छ । व्यापारघाटा आर्थिक सङ्कटको एउटा कारण थियो । नेपालमा पछिल्लो ८ महिनाको तथ्याङ्क हेर्ने हो भने १३ खर्ब ८ अर्बको व्यापार घाटा छ । कुनै बेला अन्न निर्यातमा अब्बल हाम्रो देश आज सबैभन्दा बढी खाद्यान्न आयात गर्छ, निर्यात छैन । ८० लाख युवा विदेशमा छन् । खेत बाँझो छ । उद्योग छैन । उत्पादन छैन । भएका कलकारखानालाई कौडीको मूल्यमा निजी क्षेत्र र भारतीय एकाधिकार पुँजीलाई सुम्पने शासक दलको भ्रष्ट बुद्धि फेरिएको छैन । फेरि पनि गोरखकाली टायर उद्योगलगायत बाँकी सातवटा उद्योगहरू निजीकरण तथा विदेशी एकाधिकार पुँजीलाई सुम्पने षड्यन्त्र हुँदै छ ।
विद्युत्मा आत्मनिर्भर हुनसक्ने हाम्रो देशलाई शासक दलहरूको गलत सोचका कारण भारतलाई सस्तोमा बिजुली बेच्ने र ४ गुणा महँगोमा किन्ने सम्झौता ग¥यो । अहिले त ८ गुणा महँगोमा हामी बिजुली किन्दै छौँ ।
भर्खरै दुई पूर्वप्रधानमन्त्रीबाट भ्यु टावर उद्घाटन भए, रोल्पा र रूपन्देहीमा । देशको अर्थतन्त्र र शिक्षा भ्यु टावर बुद्धिले कसरी उकासिन्छ ? पुँजीगत खर्चको २२ प्रतिशत पनि खर्च भएको छैन । पप्पु कन्स्ट्रक्सनले विभिन्न पुल बनाउन होल्ड गरेको पैसा अरबौँभन्दा बढी छ । यो प्रवृत्ति आर्थिक टाटपल्टाईको कारण नबन्ने के ग्यारेन्टि ? यो आर्थिक हमला होइन भनेर कसरी भन्ने ?
सार्वजनिक ऋण, शैक्षिक ऋणको भरमा हामी छौँ । प्रतिव्यक्ति ४७ हजारको ऋणभार छ । नेपालको बजेटले ऋण लिएर चालू खर्च गरेको रेकर्ड पनि छ । न्म्ए को तुलनामा विदेशी ऋणको भार बढी हुनु आर्थिक सङ्कटको सङ्केत हो । तेलको अभावमा र महँगीका कारण आयल निगमले शनिबार र आइतबार बिदाको प्रस्ताव गरेको सुन्यौँ । सबैभन्दा खतरा त अर्थतन्त्र नै भारतनिर्भर छ । अध्यक्ष रोहितले भन्नुभएझैँ आर्थिकरूपले स्वतन्त्र नभएको देश स्वतन्त्र हुन गा¥हो हुन्छ । अर्थतन्त्र ढल्न बेर लाग्दैन । सिङ्गो अर्थतन्त्र र स्वतन्त्र नभएको अर्थात् परनिर्भर देशलाई परनिर्भर बनाउने शासक दल एमाले, काङ्ग्रेस, माओवादीले आजको दुरवस्थाको जिम्मा लिनुपर्दछ । एमसीसी सम्झौता पनि देशको आर्थिक परनिर्भरताको एउटा अर्को प्रमाण बनेको छ ।
श्रीलङ्काको आर्थिक सङ्कट एमसीसी अस्वीकार गरेको कारण सुरु भयो भनी गलत प्रचार भइरहेको छ । यथार्थ के हो भने एमसीसी अस्वीकार गरेर थप बर्बादीबाट श्रीलङ्का जोगियो । युद्धमैदान बन्ने सम्भावना घट्यो । आत्मनिर्भर अर्थतन्त्रको विकास नै उत्तम उपाय हो र नवउदारवादी नीति घातक छ भन्ने शिक्षा श्रीलङ्काको पछिल्लो घटनाले दिइरहेको छ । यस आधारमा लामो समयदेखि हामीले गर्दै आएको नवउदार अर्थनीति तथा शिक्षानीतिको विरोध र एमसीसीविरुद्धको सङ्घर्ष सही हो भन्ने थप पुष्टि हुन्छ ।
देश–विदेशका यी र यस्ता घटनाबारे यो सम्मेलनको बन्द सत्रमा गहन छलफल हुने विश्वासका साथ पुनः एकचोटि पूर्ण सफलताको कामना गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *