यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
१६ चैतको ‘मजदुर’ दैनिकमा ‘भ्यू टावरको मोह’ शीर्षकीय समसामयिक टिप्पणी पढेपछि फेरि केही लेख्न मन लाग्यो ।
हिमाल, पहाड, टार, बेँसी, उपत्यका, खोँच, दून, चुरे, तराई । हाम्रो यो सानो देशमा अचम्मकै भौगोलिक विविधता छ । यस प्रकारको भौगोलिक विविधताका कारण फरक–फरक गुण र क्षमता भएको यहाँको अमूल्य माटोमा संसारैभरि पाइने विभिन्न प्रकारका जडीबुटी अन्नबाली, तरकारी, फलफुल उब्जिन्छन् । असल नेतृत्वका साथ यो सम्पूर्ण माटोमा पसिना पोखेर यसको सदुपयोग गर्ने वातावरण बनेको थियो भने यो देश धेरै वर्ष पहिले नै संसारकै सुन्दर र सम्पन्न बन्न सक्थ्यो ।
नेपालको ऊन विश्वमै प्रसिद्ध छ भनिन्छ । चिया, कफी, अदुवा, अलैंचीमात्र होइन, अनेक जातका नगदे बाली, फलफुल र अमृतसरहको महका लागि पनि यही भूमि उपयुक्त छ । यहाँ रेशम खेती जति पनि गर्न सकिन्छ । कपास खेतीका लागि उपयुक्त हाम्रा सयौँ पहाडी पाखा खोरियाहरू त्यत्तिकै बसिरहेका छन् । यहाँका हिमाली÷पहाडी वनजङ्गलमा खेर गइरहेका थुप्रै जातका जडीबुटीहरूलाई सङ्कलन गरेर औषधि बनाउने उद्योग सञ्चालन गर्न बाँकी नै छ ।
आधुनिक प्राविधिक वस्तु, यातायातका साधन, सोका पार्टपुर्जा, इन्धनका लागि त हामी विदेशी उत्पादनमै निर्भर नरहीँ धरै छैन । विडम्बनाको कुरो–तीबाहेक यहीँ प्रशस्त उत्पादन भएर निर्यात गर्न सकिने अपार सम्भावना हुँदाहुँदै पनि केही दशकयता हामी कृषिजन्य, फलफुलजन्य, मसलाजन्य, आयुर्वेदिक औषधिजन्य वस्तुमा पनि विदेशमै निर्भर रहन थालेका छौँ । जलस्रोतमा विश्वकै दोस्रो धनी देशमा पानीसमेत करोडौँको आयात गर्ने गरिएको कुरा समाचारमा पढिएको हो । पढिएको मात्र होइन, मूलको पानी जताततै भएको गाउँमै पनि कुनै सरकारी÷गैरसरकारी संस्थाले ‘भीआइपीहरू’ सहितको कुनै भव्य कार्यक्रम आयोजना गर्दा, टाढाको सहरदेखि नै गाडीमा ‘मिनेरल वाटर’ का बोतलहरू ल्याएर पिएको÷दिएको समेत देखिएको छ । यस्तो फजलखर्ची र कहीँ नभएको ‘इज्जतिलो आधुनिक व्यवहार’ हामीकहाँ कसरी र कहिले समृद्धि आउला !
हाम्रा थुप्रै जङ्गलमा फलेर पाकेका आँप बाँदरले खान्छन् वा कुहेर जान्छन् । त्यस्तै पाकेको बेल त निकै बलियो चुच्चा भएका चराबाहेक, अन्य कुनै पनि पशुपन्छीले फोरेर खान नसक्ने हुँदा ती बग्रेल्ती थुप्रिएका देखिन्छन् । ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात् !’ भन्ने उखान त्यसैले चलेको होला । आँप, बेल त उदाहरणमात्र हुन् पहाडी र चुरे क्षेत्रमा पाइने हर्रो, बर्रो, अमला, रिट्ठा, सिन्कौलेजस्ता सयौँ उपयोगी र मृतसञ्जीवनी वनस्पतिहरू त्यत्तिकै खेर गइरहेका छन् ।
हाम्रा जङ्गलमा पाइने थुप्रै जडीबुटीहरू या त त्यत्तिकै रहन्छन् । सङ्कलन गरिए पनि ती कौडीको भाउमा बेचिन्छन् । तर, आकर्षक बोतल वा प्लास्टिकको प्याकमा तिनै जडीबुटी औषधि बनेर, लेबल टाँसिएर आएपछि हामीले टन्न पैसा तिरेर किन्नुपरेको छ ।
थाहा भएकै कुरा हो, हाम्रा भान्साका लागि चाहिने सबैजसो वस्तुका लागि दिनहुँ हाम्रो पैसा विदेशतिर गइरहेकै छ । सतहत्तरै जिल्लामा फल्ने र नखाँदा पनि हुने प्याज, कहिलेकाहीँ छिमेकी देशबाट आउन रोकिँदा यहाँ हाहाकार हुन्छ । एउटा सहरिया सामान्य परिवारका लागि गमलामै रोपेर पनि वर्षभरि पु¥याउन सकिने लसुनको लागि उस्तै हाहाकार हुन्छ । तिनको खेती गर्नेतर्फ सरकारी नीति नै बन्दा पनि, किनेर खाने बानी, जागरुक जनशक्तिको अभाव तथा बजारमा लाँदा मिहिनेतअनुसारको प्रतिफल पाउने कुरामा विश्वस्त हुन नसकेर त्यसको कार्यान्वयन भइरहेको छैन ।
हामी कति सुविधामुखी र खर्चिला भएका छौँ भने, गाउँघरमा जताततै दाउरा कुहेर गएको छ । तर, त्यसको साटो हामीले ग्याँसचुलो प्रयोग गर्न थालेका छौँ । कुनै चाडपर्व आयो भने त्यो मनाउनका लागि चाहिने सामान हामी विदेशबाटै आयात गरी संस्कृति जोगाउँदै छौँ । हामीकहाँ कुसंस्कृतिको रूपमा भित्रिएको ‘भ्यालेन्टाइन डे’ मनाउनका लागि बर्सेनि करोडौँको गुलाफ आयात हुन्छ । तिहारमा पटाका पड्काएर घाइते हुनुपरेको घटना छ ।
त्यसो त विगतमा हामीकहाँ पनि थुप्रै उद्योगधन्दाहरू सञ्चालनमा रहेका हुन् । भृकुटी कागज कारखानाबाट उत्पादित कागज भारत, चीन र भुटानसम्म निर्यात हुन्थ्यो । हामीकहाँ उत्पादित खाद्यान्न कोरिया पठाएर सहयोग गरिएको थियो । वीरगञ्ज कृषि औजारद्वारा उत्पादित कृषि औजार जापानसम्म पुग्थ्यो । विराटनगर जुट मिल, हेटौंडा सिमेन्ट उद्योग, हेटौंडा कपडा उद्योग, वीरगञ्ज चिनी कारखाना, गोरखकाली टायर उद्योग, अन्तर्राष्ट्रिय स्तरमा नाम चलेका उद्योगहरू थिए । एभरेडी ब्याट्री, एभरेस्ट टूथ पेस्ट, नेबिको बिस्कुटजस्ता उद्योगहरू पनि लोकप्रिय थिए । रेडियो नेपालमा यी सामानहरूको विज्ञापनै बज्थ्यो । सानो दुरीमा भए पनि ट्रली बस थियो । रोप वे थियो । मानिसहरू कृषि पेसामा रमाउँथे । कलकारखाना प्रशस्त भएको हुँदा धेरै युवा वर्गले यहीँ काम पाएका थिए । देशको रकम आज जसरी विदेश जान पाउँदैनथ्यो र आर्थिक अवस्था बलियो थियो । विदेशमा काम गर्न जान अनुमति नै थिएन । आत्मनिर्भरता र स्वाभिमानको त्यो पाठ अब इतिहासमा मात्र सीमित रहेको छ ।
बहुदलीय व्यवस्था आएपछि नेपालमा फरक खालको ‘विकास’ हुन थाल्यो । उल्लिखित उद्योगधन्दाहरू धमाधम बन्द हुन थाले । कथित ‘जनयुद्ध काल’ मा, सबैलाई काम लाग्ने पुल, भवन, सम्पदा स्थलसमेत ध्वस्त पारियो । सङ्घीयता लागू भएपछि नेतृत्व वर्गमा, देशका लागि राम्रो काम गर्न होइन, सरकार र शक्तिमा गएर कसरी कमाउने र लुट्ने भन्नेखालको प्रवृत्ति देखियो । ‘जनतालाई सुविधा दिने’ नाममा ह्वात्तै बढाइएका जनप्रतिनिधिहरूले खानमात्रै जाने । जोसजाँगर र क्षमता भएका युवाजति विदेश जाने र प्रायः अल्छे, अशिक्षित, लुटाहा, धुताहा, ठगाहा, मिचाहा र फटाहाजति राजनीतिमा लागेर जसरी पनि पद हत्याई सुविधा र मोजमज्जा गर्ने प्रवृत्तिप्रति धेरैको आकर्षण बढ्यो । त्यसैले, यहाँ जताततै विकास ग¥यौँ भनेर ती सबै असल नीति र नेताका कारण भएका होइनन् । जति भए, विदेशीसँग ऋण मागेर वा अनुदान पाएर अनि त्यसबाट आफुले कमिसन खाएर, भ्रष्टाचार गरेर/गराएर भएका छन् । त्यसमध्ये, कतिपय विकास त अनावश्यक, आँखामा छारो हाल्ने र झाराटार्ने हिसाबले मात्र भएका देखिन्छन् ।
विश्वको सर्वोच्च शिखर भएको यो देशमा सयौँ अग्लाअग्ला र सुन्दर ‘न्याचुरल टावर’ छन् । हिमाल, पहाड र तराईको बीच पहाडका ठाउँठाउँमा उभिएर हेर्दा उत्तर–दक्षिणका हिमाल तराई नै देखिन्छन् । तर, यस्तो हुँदाहुँदै पनि यहाँ अरबौँ खर्च गरेर दर्जनौँ ‘भ्यू टावर’ बनाइएको छ र त्यसलाई ठूलो विकास भनिएको छ । त्यस्ता टावर अझै कति बन्दै होलान् ! ‘मुखलाई मोही छैन पिँधलाई घिउ’ भन्ने उखान थाहा हुँदाहुँदै पनि बुुद्धको देशका मानिसहरू किन बुद्धू भएका होलान् !
वास्तवमा विकास भनेको आम नागरिकका लागि रोजगारी पहिलो प्राथमिकता हो । साथसाथै गुणस्तरीय र सर्वसुलभ शिक्षा, स्वच्छ पिउने पानी, सडक यातायात, विद्युत् प्रसारका कुरामा पनि जोडका साथ काम गर्नुपर्छ भन्ने कुरा हाम्रो सरकारले कहिल्यै थाहा नपाउने रहेछ ! परिणामतः आफ्नै देशमा के गर्दा हुन्छ, के गर्न सकिन्छ भन्ने सोचाइ राख्नुको सट्टा, कुन देशमा कति लागतमा जान सकिन्छ, त्यहाँ गएर के काम गर्नुपर्छ र कति कमाइन्छ भन्ने चिन्तनमै आजको युवावर्ग केन्द्रित देखिन्छ ।
‘मेरो जीवनको उद्देश्य’ शीर्षकमा निबन्ध लेख्दा कक्षा ६ को एकजना विद्यार्थीले आफ्नो इच्छा कोरिया जाने भएको र त्यसका लागि अहिलेदेखि नै कोरियन भाषा सिक्न थालेको कुरा लेखेका थिए । विदेश जान, विदेशी उत्पादन लाउन र विदेशी कुरा खान नै ‘विकास’ हो भन्ने प्रवृत्ति हावी भएको बेलामा सानैदेखि यस्तो सोच आउनु स्वाभाविकै हो । यसमा सरकार नै नेतृत्वदायी भूमिकामा अगाडि बढेर, नयाँ नयाँ देशमा श्रम सम्झौता गर्न उद्यत रहेको देखिन्छ । युवावर्ग त झन् रोजीरोजी विदेश जान पाउँदा झनै मख्ख !
हिमाली/पहाडी क्षेत्रका मात्र होइन, तराईका उब्जाउशील र बा¥है महिना सिँचाइ सुविधा भएका जमिन पनि बाँझो रहन थालेका छन् । दक्ष र बलिया जनशक्ति विदेसिने क्रम बढेर ‘नेपालमा केही गर्नै सकिँदैन । यहाँ उचित वातावरण नै छैन’ भन्ने खालको धारणा प्रभावी बन्दै छ । श्रमिकको रूपमा गएका बलिया जनशक्ति पछि बल सकेर स्वदेश फर्के पनि दक्ष र शिक्षित जनशक्ति फेरि स्वदेश फर्कने सम्भावना कमै देखिएको छ । हाम्रा करेसाबारी, घरबारी बाँझै छन् । र पनि, बेलाबखत देशमा रेमिट्यान्स बढ्यो, समृद्धि आयो, आर्थिक वृद्धिदर बढ्यो भनिन्छ । गज्जब छ बा !
Leave a Reply