भर्खरै :

सिद्धान्त र विचार बन्धक राख्ने दल कसरी सद्दे हुन्छ ?

दलका हरेक नेताहरूको विचार सैद्धान्तिक र वैचारिक हुनुपर्छ । सैद्धान्तिक र वैचारिक पक्ष छोडेर एकले अर्कोलाई हिलो छ्याप्नु, आफ्नो मान, इज्जत र प्रतिष्ठाको ख्याल नगरी जे मन लाग्यो त्यो बोल्नु कुनै पनि दलका नेता, मन्त्री र सांसदहरूलाई सुहाउँदैन । एकले अर्कोलाई हिलो छ्यापेर, गाली गलौज गरेर, हावादारी बखान गरेर निर्वाचन जित्ने कामलाई कुनै पनि सच्चा र देशभक्त नेपालीलाई मन पर्दैन । अर्कालाई हिलो छ्यापेर आफ्नो राजनीतिक व्यक्तिको उचाइ बढ्ने होइन । विचार र सिद्धान्तमा सिन्चित नभएका कति मानिसहरू सिद्धान्त र विचारको मतलब नराखी अरुलाई आलोचना र विरोध गरेको आधारमा, मीठो अभिव्यक्ति या आकर्षक भाषणको आधारमा नेताको राजनीतिक उचाइ नाप्छन्, मीठो र आकर्षक भाषणको कलालाई नै सही ठानी पार्टी प्रवेश गर्छन् । मीठो र आकर्षक भाषण नै दलको सही मापदण्ड होइन । यो कुरा सबैले बुझ्नुपर्छ ।
एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले अबको निर्वाचनमा एमालेले तीन–चार सीटमात्र जित्ने अभिव्यक्ति दिए । एमालेका अध्यक्ष केपी ओलीले निर्वाचनमा दुईतिहाइ मत प्राप्त गर्ने विश्वास दिलाए । यी दुई नेताको अभिव्यक्ति सुन्दा आकाश–पातालकै फरक भयो । यसमा कुन नेताको भनाइलाई सच्चाइ मान्ने या विश्वास गर्ने ? के साँच्चै अबको निर्वाचनमा एमाले तीन–चार वटा सीटमा सीमित हुन्छ ? या एमालेले दुईतिहाइ मत नै प्राप्त गर्छ ? अहिले यस्तै, यस्ता टीका–टिप्पणीहरू दोहोरिरहेका छन् । तिनै नेताहरूले एमालेलाई टनसँग त सत्तारुढ दलहरूलाई किलोसँग दाज्दै आफूलाई धेरै ठूला र अरुलाई धेरै सानासँग तुलना गरेका छन् । एक नेताले त एक सीटमात्र जिते आफ्नो सम्पत्तिसमेत दलका ती नेताहरूको नाममा नामसारी गरिदिने बताए । तिनीहरूले आ–आफ्नो दलको सिद्धान्त र विचारबारे कुरै उठाएनन् । ती नेताहरूको अभिव्यक्तिबाट निर्वाचनमा सिद्धान्त र विचारको आधारमा उम्मेदवारलाई जिताउने होइन रहेछ भन्ने थाहा हुन्छ ।
निर्वाचन या अरु बेला आ–आफ्नो दलको सिद्धान्त र विचारको कुरा नगर्ने हो भने दलको विधान, निर्वाचनको घोषणापत्र, नीति तथा कार्यक्रम किन ? दलको पथ प्रदर्शक माक्र्सवाद–लेनिनवाद किन लेख्नुप¥यो ? पार्टीको विधान, घोषणापत्र, पार्टी नीति तथा कार्यक्रम किन आवश्यक प¥यो ? देशको नेतृत्व गरिरहेका, देशकै सबभन्दा ठूला दल भनिएका नेताहरूले आ–आफ्नो दलको सिद्धान्त र विचारलाई के बन्धकै राखेका हुन् ? सिद्धान्त र विचार बन्धक राख्ने दल पनि कहिल्यै सद्दे हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *