नेपालको राजनीतिमा युवाहरूको भूमिका
- असार १, २०८३
(उद्योग वाणिज्य सङ्घको भवन, काठमाडौँमा भएको गोष्ठीमा का. भक्तबहादुर श्रेष्ठको कार्यपत्रमाथि टिप्पणी, २०५४ माघ ४ गते)
बुद्धिजीवीहरू वर्तमान समाजमा सामान्यतः मध्यम र निम्न पुँजीपति वर्गबाट आएका छन् । वस्तुगत दृष्टिकोणको अभावमा बुद्धिजीवीहरू मनोगतवादबाट पीडित छन् । बुद्धिजीवीहरूबारे माओ त्सेतुङले ‘अज्ञानी’ भन्नुभएको छ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा वर्ग, जाति र भाषाभाषीहरूको समस्याबारे अनेक छलफल र अन्तरक्रियाहरू आवश्यक छ । राष्ट्रिय अहङ्कारवादबाट देशलाई जोगाउनै पर्दछ र राष्ट्र, राष्ट्रियता, देश र सार्वभौमिकताजस्ता शब्दहरूबारे व्यापक छलफल र समझदारी आवश्यक छ । ती शब्दहरू पर्यायवाची शब्द होइनन् ।
वर्गसङ्घर्षबारे पनि केही भ्रमहरू देखापरेका छन् । वर्गसङ्घर्षको सिद्धान्तको प्रतिपादक कम्युनिस्ट वा कार्ल माक्र्स नभई पुँजीवादी लेखकहरू नै थिए । त्यसबारे ‘गोथा कार्यक्रम’ मा कार्ल माक्र्सले भन्नुभएको थियो, “वर्गसङ्घर्षको जस उहाँलाई होइन पुँजीवादीहरूले त्यसलाई पत्ता लगाइसकेका थिए ।” ‘सर्वहारा वर्गको हुकुम’ कार्ल माक्र्सको आविष्कार वा प्रतिपादन हो ।
सशस्त्र सङ्घर्षबारे पनि वामपन्थीहरूमा केही भ्रमहरू छन् । सशस्त्र सङ्घर्ष पनि दास मालिकहरूको विरोधमा सामन्तहरूले प्रयोग गरेका थिए । सामन्तवादको विरोधमा पुँजीपति वर्गले शस्त्र नै उठाएको हो । नेपालको सन्दर्भमा पनि मल्ल राजाहरूको विरोधमा पृथ्वीनारायण शाहले बन्दुक उठाएका हुन्, शाह वंशको विरोधमा राणाहरूले पनि बन्दुककै सहारा लिएका हुन् र २००७ सालको राणाविरोधी सङ्घर्ष पनि सशस्त्र भएको थियो र २०१७ सालको घटना पनि बन्दुककै भरमा भएको हो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा विषयवस्तुलाई हेर्ने आँखा या दर्शन पहिले प्रस्ट हुनु आवश्यक छ । समाजको सामाजिक र आर्थिक सम्बन्ध (Socio-economic relation) वर्ग र जात (Class and cast) वामपन्थी अवसरवाद, मनोगतवादजस्ता विषयमा राम्रो समझदारीको आवश्यकता छ ।
‘माओवाद’ बारे माओ त्सेतुङकै बेलाको चिनियाँ कम्युनिस्ट पार्टीको दृष्टिकोण र माओ त्सेतुङ विचारधाराबारे अध्ययन गर्नैपर्छ । रुसमा बोल्शेभिकहरूले फेब्रुअरी क्रान्तिलाई समर्थन गर्नु र करेन्स्कीको सरकारलाई फाल्नुको रहस्य तथा चीनको १९४७ सम्मको जापानविरोधी सङ्घर्षको संयुक्त मोर्चा र १९४९ को क्रान्तिको बारेमा चिन्तन गर्नैपर्छ ।
निर्वाचन बहिष्कारको विषयमा पनि हरेक देशको आ–आफ्नै विशिष्ट परिस्थिति र सांस्कृतिक प्रभावबारे अध्ययन गरिनुपर्दछ । उदाहरणको निम्ति रुसको बोल्शेभिकहरूको बहिष्कार र चीनको क्रान्तिको सिलसिलामा निर्वाचन नहुनुको परिस्थिति फरक–फरक छ । बहिष्कार गर्दैमा कम्युनिस्ट आन्दोलनको पाइला र गति ठीक ठाउँमा पुग्छ भन्ने होइन । गण्डकी र लुम्बिनी अञ्चलको ‘आर्थिक कारबाहीहरू’ ले कम्युनिस्ट आन्दोलनमा सकारात्मक प्रभाव परेको देखिन्न ।
क्रान्तिको परिस्थितिबारे पनि नेपालको कम्युनिस्ट आन्दोलनमा धेरै टीकाटिप्पणी र गतिविधिहरू भएका छन् । झापा सङ्घर्षको बेला पनि ‘क्रान्तिको जबरजस्त परिस्थिति तयार छ’ भनिन्थ्यो । त्यो पनि मनोगत मूल्याङ्कन साबित भयो । क्रान्तिको आन्तरिक परिस्थिति तयार भइसक्दा पनि बाहिरी वा छिमेकी देश र अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिको अनुकूल हुनु आवश्यक भएको कुरो नयाँ होइन । लेनिनको भाषामा क्रान्तिको निम्ति देशको स्थितिमा मात्र तयार भएर हुँदैन । अन्तर्राष्ट्रिय परिस्थिति खास गरेर छिमेकी देशहरूको परिस्थिति पनि क्रान्तिको अनुकूल हुनुपर्दछ ।
यस सिद्धान्तलाई व्यवहारमा घोटेर हेर्दा बाहिरबाट मद्दत गर्ने शक्ति नहुँदा पेरिस कम्युनको पतन भएको थियो । स्पेनको गृहयुद्ध उचित हुँदाहुँदै पराजय स्वीकार्नुप¥यो तथा बाहिरबाट सहयोग पुग्ने परिस्थिति भएको हुँदा क्युवा र भियतनामको क्रान्तिले सफलता प्राप्त गर्यो । तर, के कुरा सत्य हो भने भित्री शक्ति नै क्रान्तिको प्रमुख तत्व हो । त्यसो नहुँदा अफगानिस्तानमा कम्युनिस्ट आन्दोलन असफल भयो ।
उद्देश्य राम्रो वा बलिदान गर्न जनता तयार भए पनि ठम्याइ गलत हुँदा नक्सलवादी आन्दोलनले हार खप्नुपयो । ‘चीनको अध्यक्ष हाम्रो अध्यक्ष’ नारा अन्तर्राष्ट्रवादी देखिए पनि मजदुर आन्दोलनको राष्ट्रिय भावनामा चोट पुग्छ । लालइलाका गठन नहुँदै संयुक्त मोर्चा गठन गर्नु हुन्न भन्ने ठम्याइ, चीनको अनुभवमा १९२४ को संयुक्त मोर्चा र जापानविरोधी संयुक्त मोर्चा फरक–फरक परिस्थितिमा भएको थियो । ‘सबै पुँजीपति दलाल पुँजीपति वर्ग’ भन्ने ठम्याइ राख्दा राष्ट्रिय पुँजीपति वर्गसमेत शत्रुको शिविरमा धकेलिने, वर्ग शत्रुको रगतले रातो नभएको हात कम्युनिस्ट नहुने भए कम्युनिस्ट पार्टी कम्युनिस्ट नरहने, स्थानीय हातहतियारहरूमा मात्रै भरपर्ने दृष्टिकोण माओ त्सेतुङ विचारधाराको रुढीवादी व्याख्या हुने, आवश्यकताभन्दा बढी आत्मबलिदानको माग आत्महत्यामा परिणत हुने आदि विषयमा पनि चिन्तन गर्नैपर्दछ । यसबारे बिहारको एक लालइलाकाको ‘फौलाद’ हरूको मनोगतवाद र व्यावहारिक कमजोरीलाई पनि मनन गर्नैपर्दछ ।
हो, माओ त्सेतुङले भन्नुभएजस्तै रणनीतिको दृष्टिले शत्रुलाई चानचुन सम्झनुपर्दछ र कार्यनीतिको हिसाबले शत्रुको हरेक पाइलामाथि ध्यान दिनुपर्दछ ।
क्रान्तिको निम्ति इच्छाशक्ति नै प्रधान हुने भए बर्मेली कम्युनिस्ट पार्टीका थाकिन्वा थिनथिनहरूले वर्षौँ वर्ष उत्तरी क्षेत्र सशस्त्र ढङ्गले कब्जामा राखेका थिए । तर, जनसङ्ख्याको अत्यन्त ठूलो भाग रहेको दक्षिणी भागमा आङसाङ सुचीहरू वा पुँजीवादीहरू सक्रिय देखिए । सशस्त्र क्रान्ति, स्थायी क्रान्ति, चौतर्फी लडाइँ र एक–एक इन्चको लडाइँ त ट्रट्स्की, लिलि सान र वाङमिङहरूकै अराजकतावादकै प्रभावमा पर्नु हो ।
का. भक्तबहादुर श्रेष्ठले प्रस्तुत गर्नुभएको ‘नेपाली कम्युनिस्ट आन्दोलनको दिशा’ शीर्षकको कार्यपत्र सरसरती हेर्ने मौका पाएँ ।
लेखकले कार्यपत्र लेख्नमा धेरै मेहनत गर्नुभएको अनुभव गरेँ । विषय प्रवेश, नेपाल कम्युनिस्ट पार्टीको जन्म र यसको विकास नेपाली कम्युनिस्ट आन्दोलनमा संशोधनवादको प्रवेश, झापा काण्ड, चौथो महाधिवेशनमा विभिन्न भड्कावहरू र क्रान्तिकारीहरूका बीच सङ्घर्ष, एकता महाधिवेशन र सही दिशाको निर्माण र निष्कर्ष गरी कार्यपत्र जम्मा ७ खण्डमा विभाजित छ । आफ्नै मौलिक शैलीमा लेखिएको कार्यपत्रमा २–४ वटा शब्दहरूमा अप्ठ्यारो हुनुबाहेक लेखाइ राम्रो छ ।
छिटो–छिटो हेरेर हो वा कम समय पाएरै हो कार्यपत्रमा नेपाल कम्युनिस्ट आन्दोलनका सबै पत्रबारे विवेचना गरिएको पाइन ।
डार्बिन, मोर्गन र समाज विकासको सिद्धान्तले राज्य उत्पत्तिको दैवी सिद्धान्त र शक्ति सिद्धान्तलाई तासको घर साबित गर्यो । पूर्वी समाजमा दास मालिक र सामन्त वर्गको दैवी सिद्धान्त, स्वर्ग नर्क र पुनर्जन्मको अध्यात्मवादी चिन्तनलाई चार्वाक वा महावीर बद्र्धमान र बुद्धका भौतिकवादी सिद्धान्तले हाँक दियो । पश्चिमी संसारमा पनि पुनर्जागरणपछि भौतिकवादी चिन्तनले नै निरङ्कुश राजतन्त्रलाई उन्मूलन गरेको थियो र पुँजीवादी क्रान्तिलाई मानसिक बल प्रदान गरेको थियो ।
हो, संसार परिवर्तनशील छ, त्यस्तै मानव समाज पनि । वस्तुविपरीत तत्वहरूको सङ्गम हो, एउटै वस्तु पनि विपरीत दिशामा अस्तित्व रहन्छ । जीव, मानिस वा बिरुवाको वृद्धि स्वयं पनि नासोन्मुख हुन्छ । हरेक वस्तुमा एउटा ¥हासोन्मुख र एउटा विकासोन्मुख वस्तुको अन्तरविरोध स्वयं एक अस्तित्व हो । त्यस्तै मानव समाजमा पनि एउटा वर्ग र व्यवस्थाको विकास स्वयं त्यसको पतन पनि सँगसँगै भइरहेको हुन्छ ।
तर, हरेक परिवर्तन र विकासको एउटा भौतिक नियम भएजस्तै मानव समाजको विकास र परिवर्तनको पनि एक निश्चित नियम हुन्छ । त्यसलाई व्यक्तिको इच्छाले बदल्न सक्दैन । एउटा ऐतिहासिक अवस्थामा एक निश्चित ढङ्गको विकास वा परिवर्तन हुन्छ अर्थात् तल्लो स्तरको समाजमा तत्काल ठूलो विकास सम्भव छैन । त्यसको आफ्नै विकास क्रम हुन्छ । ऐतिहासिक भौतिकवादको सार यही हो । सामन्तवादी समाजमा वा दासयुगमा वैज्ञानिक समाजवादको कल्पना गर्न सकिन्न वा औद्योगिक क्रान्तिबिना औद्योगिक मजदुर वर्ग र वैज्ञानिक समाजवादको कल्पना गर्न सकिन्न ।
चेतनाको अगुवाइले समाजको परिवर्तन र विकासमा महत्वपूर्ण भूमिका खेल्छ भने यान्त्रिक भौतिकवाद अँध्यारोमा छामछाम र छुमछुम हो ।
कार्यपत्रमा ठाउँ–ठाउँमा ‘बल प्रयोग’ मा जोड दिइएको छ । तर, राज्यको उत्पत्तिको सिद्धान्तमा बल सिद्धान्त (force theory) पुँजीवादी सिद्धान्त हो । दासयुग, सामन्तवादी व्यवस्था र पुँजीवादी व्यवस्थाको रूपान्तरणमा शक्तिको पनि भूमिका रह्यो । तर, उत्पादनका साधनहरूको विकास र सम्बन्धमा अन्तरविरोधविना त्यो सम्भव छैन । साथसाथै सद्भावनाविनाको बल प्रयोग आतङ्कवाद हो भने बलविनाको सद्भावना निस्तेज हुन्छ ।
‘विचार’ वस्तुको यान्त्रिक प्रतिछाँया होइन । तर, विचार वस्तुको रासायनिक प्रक्रियाकै फल हो । वस्तुविना विचारको कल्पना गर्न सकिन्न । साथसाथै क्रान्तिकारी रूपान्तरण पनि ऐतिहासिक भौतिकवादकै कसीमा घोटिन्छ । इतिहासको अनुकूल दर्शनले परिवर्तन ल्याउन सहयोग पु¥याउँदछ । नत्र त्यो ज्ञानको रूपमा मात्रै रहन्छ । के गौतम बुद्धको समकालीन हेराल्कितुले ‘सङ्घर्ष नै सबै घटनाहरूका आमा हुन्’ भनेका थिएनन् ?
समाजको परिवर्तन वा इतिहासमा व्यक्ति र बलको भूमिकालाई माक्र्सवादी ढङ्गले हेरिनुपर्छ वा व्याख्या गरिनुपर्दछ ।
जहाँसम्म कार्यपत्रमा उल्लिखित ‘राज्यसत्ता प्राप्त गर्ने’ विषय हो– सायद पेरिस कम्युनको असफलतापछि माक्र्स र एङ्गेल्सले प्राप्त गर्नुभएको अनुभवभन्दा भिन्न छ । बनिबनाऊ पुँजीवादी राज्यसत्ता हातमा लिनुभन्दा त्यसलाई ध्वंस गर्नु हो ।
२००६ सालमा अर्थात् आजभन्दा ४८ वर्षअगाडि नेपालको कम्युनिस्ट पार्टीको स्थापनालाई ‘कार्यपत्रले भारतीय कम्युनिस्ट पार्टीको प्रभाव र पिछलग्गूपन’ भनिएको छ । वास्तवमा त्यसबेला नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र लेख्नमा भारतीय पार्टीका एक नेता नृपेन चक्रवर्तीले सहयोग गरेका थिए, किनभने त्यसबेला ‘रिम’ बनिसकेको थिएन ।
कार्यपत्रमा चीनको सांस्कृतिक क्रान्तिभन्दा पछिका कम्युनिस्टहरूमा ‘रुसी क्रान्तिको अन्धानुकरण’ वा ‘सशस्त्र विद्रोह’ लाई ‘दक्षिणपन्थी’ सोच भनिएको छ । तर, जहाँसम्म मलाई थाहा छ, २००८ देखि २०१३ सालसम्मको बारा, पर्सा, रौतहट, सिराहा, सप्तरीको किसान आन्दोलनमा हुनान प्रान्तको किसान आन्दोलनको प्रभाव पनि थियो । साथसाथै रुसी ढङ्गको ‘सशस्त्र विद्रोह’ लाई चीनमा ‘दक्षिणपन्थी’ सोच होइन ‘वामपन्थी साहसवाद’ भनिएको थियो । यसका प्रणेता लि लि सान थिए ।
कार्यपत्रमा ‘का. रोहित (नेमकिपा) …… जसोतसो आफ्नो अन्यमन्यस्क भाव बोकेर’ बसेको र ‘उहाँको स्कूलिङ नै गलत रहेछ’ भनिएको छ ।
यस अभिव्यक्तिमा का. रोहितलाई नेमकिपाको पर्यायवाची शब्द बनाइनु स्वयं राजनैतिक पूर्वाग्रह भन्न सकिन्छ । यसको जवाफमा कसैले ‘माओवादी’ को मुख्य नेता एउटै व्यक्ति हुन्छ, प्रचण्ड, बाबुराम र भक्तबहादुरजीमध्ये को हुनुहुन्छ भनी प्रश्न गरेको खण्डमा के त्यो समीचीन हुनेछ ? साथै के पनि भन्नैपर्छ भने का. रोहितको स्कूलिङ भारतीय विस्तारवादको केन्द्र दिल्लीमा भएको अवश्य होइन ।
कार्यपत्रले वर्तमान नेपाल कम्युनिस्ट आन्दोलनको तीन धारमध्ये सुधारवादी अवसरवादी धारको प्रतिनिधित्व ‘एमाले’ ले गरेको स्वीकार्छ । साथै कार्यपत्रले अगाडि नै भन्छ– “आज एमाले कम्युनिस्ट पार्टीको सबै आधारभूत सिद्धान्त, ‘वर्गसङ्घर्ष’, ‘सर्वहारा अधिनायकत्व’, ‘बल प्रयोगको सिद्धान्त’ आदि सबै त्यागेर शान्तिपूर्ण ढङ्गबाट सत्ता प्राप्त गर्ने वर्ग समन्वयको बाटो समातेर प्रतिक्रियावादी वर्गका बीच आत्मसमर्पण गरिसकेको छ र जसरी हुन्छ सत्तामा पुगेर नवधनाढ्य बन्ने होडमा लागेको छ ।” साथै कार्यपत्रमा भनिएको छ– “एमालेको वर्तमान क्रियाकलापले, जनघाती र राष्ट्रघाती कदमहरूले त्यसमा देखिएको पुँजीवादी विकृत संस्कृति छर्लङ्ग पारेका छन् ।”
एमालेप्रतिको सोच साँच्चै यही हो भने के एमालेलाई कम्युनिस्ट आन्दोलनकै एक पक्षको रूपमा स्वीकार्नु आवश्यक छ ? कार्यपत्रकै भाषामा एक ‘जनघाती’, ‘राष्ट्रघाती’, ‘पुँजीवादी’ र ‘आत्मसमर्पणवादी’ लाई कम्युनिस्ट भन्न मिल्छ ? एमालेप्रति ‘क्रान्तिकारी’ पार्टीको दृष्टिकोण यस्तै हुन्छ ? यो स्वयं अवसरवादी दृष्टिकोण हो, एमालेप्रति लोलोपोतो हो ।
कार्यपत्रले नेपाल कम्युनिस्ट आन्दोलनको दोस्रो ‘छद्म सुधारवादी तथा मध्यमार्गी नवसंशोधनवादी’ धारमा मसाल र एकता केन्द्रलाई राखेको छ । अर्थात्, कार्यपत्रको भाषामा त्यो धारले मुखले क्रान्तिको कुरा गर्छ र व्यवहारमा सुधारवादको बाटो समात्छ ।
कार्यपत्रले तेस्रो ‘सही क्रान्तिकारी धार’ मा ‘माओवादी’ लाई राखेको छ । यसैलाई भनिन्छ– आत्मवञ्चना वा आत्मश्लाघा ।
कार्यपत्रलाई मनन गर्दा मैले लेनिनको ‘वामपन्थी कम्युनिज्म एक केटाकेटी रोग’ र अध्यक्ष माओको ‘वामपन्थी अवसरवाद’ बारेका भनाइहरू, नक्सलवादी आन्दोलन, उत्तरी बर्माको थाकिन्वा थिनथिनहरूको लालइलाकालाई सम्झन पुगेँ । नेमकिपाको बारे यस कार्यपत्रको दृष्टिकोणलाई रुख देख्ने तर जङ्गल नदेख्ने भनेमा फरक पर्दैन । पार्टीको नाउँ कार्यपत्रको लेखकलाई थाहा छ । तर, नेपाल कम्युनिस्ट आन्दोलनमा त्यसको योगदानलाई अस्वीकार गर्छ । यस अर्थमा यो कार्यपत्र निन्दा र अस्वीकार गर्ने ल्ष्जष्ष्किm को रोगबाट पीडित भनेमा फरक पर्दैन ।
यस कार्यपत्रको एकोहोरो र वामपन्थी सङ्कीर्णताहरूलाई देख्दा मेरो ध्यान तीन वटा अन्तर्राष्ट्रिय घटनातिर गयो– ठीक १०० वर्ष अगाडिको बक्सर आन्दोलन, कम्बोडियाको फ्रान्सेलीहरूद्वारा स्थापित ‘गणतान्त्रिक’ कम्युनिस्ट पार्टी र त्यहाँको इशाराक आन्दोलन ।
मेरो विचारमा माक्र्सवाद वा माओवादको नाममा आफ्ना सबै भावुकता र वामपन्थी रोमानीवाद र मनोगतवादी वैचारिक दरिद्रतालाई लुकाउन सकिन्न ।
साथै कार्यपत्रमा उल्लेख गरिएका केही शब्द वा वाक्यांशलाई बुझ्न नसक्दा पनि मैले माथिको टिप्पणी गर्न पुगेको हुनसक्छ । तिनीहरू हुन्, ‘माक्र्सवादी द्वन्द्वात्मक भौतिकवाद’, ‘निम्न माक्र्सवादी भौतिकवादी द्वन्द्ववाद’, ‘भडकावहरू’, ‘रूपान्तरको प्रक्रियामा छलाङ्ग’, ‘स्वतन्त्र, सार्वभौम, जनवादी देश बनाउनु’, ‘निम्न पुँजीवादी बाहुल्य भएको देश’, ‘आत्मैदेखि क्रान्ति’, ‘परिपक्व माक्र्सवादी दर्शन’, ‘संसदीय बहुदल’, ‘आत्मगत कमजोरीका कारण धोखापूर्ण सम्झौता’, ‘द्वन्द्ववादी छलाङ्ग’, ‘आत्मगत शक्ति’ आदि ।
अन्तमा, कार्यपत्र प्रस्तुत गर्नुहुने का. भक्तबहादुर श्रेष्ठलाई स्पष्ट भाषामा नेपालको कम्युनिस्ट आन्दोलन र नेमकिपाबारे आफ्नो ठम्याइ राखिदिनुभएकोमा धन्यवाद दिन चाहन्छु । त्यसबाट सबै पक्षलाई आत्मचिन्तन गर्ने अवसर प्राप्त हुनेछ ।
साथै नेपालका सबै कम्युनिस्ट समूहको सकारात्मक र नकारात्मक शिक्षालाई नै नेपालको कम्युनिस्ट आन्दोलनको सिङ्गो अनुभवको रूपमा लिनुपर्छ भन्ने मेरो आग्रह हो । बोल्नेको पिठो बिक्ने र नबोल्नेको चामल नै नबिक्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनको निमित्त सुहाउँदैन । बलेको आगो ताप्ने प्रवृत्ति झनै कम्युनिस्ट चरित्र होइन । कम्युनिस्ट आन्दोलनमा सबैको थोरै वा धेरै योगदानहरू होलान्, ती सबैको उचित मूल्याङ्कन हुनैपर्छ नत्र सबैमा मेरो गोरुको बा¥है तक्का भन्ने भावना उठ्नेछ । त्यस भावनाले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकै सूत्रमा बाँध्न बाधा पर्नेछ । यसकारण, सबै सहभागी मित्रहरूले यसबारे संवेदनशील भएर वा गम्भीरतापूर्वक चिन्तन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।
Leave a Reply