भर्खरै :

भक्तपुर दरबारमा राष्ट्रिय कला सङ्ग्रहालय

पुरातत्व विभागको निर्देशक रहँदै मैले गरेको अर्को एउटा काम भक्तपुरमा राष्ट्रिय कला सङ्ग्रहालयको स्थापना पनि हो ।
२०१६ सालताकै पुष्करलाल मास्के भक्तपुरको मजिस्ट्रेट थिए । उनी त्यस बखत नारायणहिटी राजदरबारका शक्तिशाली बडाकाजी पुष्पराज राजभण्डारीका ज्वाइँथिए । त्यसबेला उपत्यकाका तीनवटै सहरमा मजिस्ट्रेटको नियुक्ति पाएकाहरूलाई अत्यन्तै प्रभावशाली प्रशासकको भूमिका दिइएको थियो, निकै पछिका अञ्चलाधीशहरूजस्तै ।
पुष्करलाल मेरा पुराना चिनारू । उनी हवाई विभागमा रहँदै मेरो परिचय भएको थियो । पोखरास्थित हामी दुवैका मित्र प्रेमराज मुल्मीमार्फत राम्रै हिमचिम थियो । पछि आ–आफ्नो काममा लागेका थियौँ ।
पुरातत्व तथा संस्कृति विभागको निर्देशक नियुक्त भएपछि उनीसँग मेरो फेरि जम्काभेट भयो । नियुक्ति पाएपछि विभागअन्तर्गत सरोकारका विभिन्न क्षेत्रमा म घुमफिर गर्न थालेँ । त्यसै क्रममा एक दिन भक्तपुर पुगेँ ।
भक्तपुरमा पुष्करलालको धाक र रमझम बेग्लै थियो । म पुगेको थाहा पाएपछि उनले नै मलाई चिया पिउनका निम्ति निम्त्याए । म गएँ। कुराकानीका क्रममा मैले मेरो कामको प्रसङ्ग उप्काएँ । त्यसैबेला उनले भक्तपुरमा मलाई केही गर्ने चाहना छ कि भनेर सोधे । मैले पनि राम्रो स्थान मिलेदेखि भक्तपुरमा एउटा गतिलो सङ्ग्रहालय स्थापना गर्ने चाहना रहेको सुनाएँ । त्यसबेला उनले प्रयोग गरिरहेको सबैभन्दा ठूलो र भव्य बैठक दरबार क्षेत्रभित्रकै ‘लाल बैठक’ थियो । मैले काम गर्ने हो भने प्राचीन कालको त्यो बैठक उनले मलाई प्रदान गर्ने जानकारी दिए ।
“यदि त्यो ठाउँ पाउने हो भने म यहाँ एउटा ठूलो म्युजियम बनाइदिन्छु ।”, मैले पनि भनिहालेँ ।
त्यसबेला वीर पुस्तकालय मेरै विभागअन्तर्गत पथ्र्यो । त्यहाँ भएका सरसामग्रीको हरहिसाब पनि मसँगै थियो । मुलुककै त्यत्रो सम्पन्न सङ्ग्रहालय आफू मातहत भएपछि म यस विषयमा ढुक्क निर्णय लिनसक्ने अवस्थामा पुगिसकेको थिएँ ।
त्यसपछि पुष्करलालले मलाई सुम्पन तयार रहेको लाल बैठक देखाउन लगे । हल पनि गजबकै लाग्यो । पाटन दरबारमा रहेका बहादुर शाहको बैठक जत्तिकै गजबको त्यो बैठक देखेर मेरो उत्साह झनै बढ्यो । दायाँबायाँ भव्य मूर्तिहरू राखेर सजाइएको त्यो लाल बैठक यता पाटनको भन्दा अझ बढी भव्य थियो । त्यसमाथि संरचनाका हिसाबले पनि बलियो देखियो ।
मैले त्यतिबेलै त्यहाँ राष्ट्रियस्तरकै भव्य सङ्ग्रहालय बनाइदिने घोषणा गरेँ । उनले पनि त्यो बैठक मलाई सुम्पने मात्र नभई मजिस्ट्रेटका हैसियतबाट सक्दो सहयोग पनि गर्ने वचन सुनाए ।
त्यसलाई राष्ट्रिय कला सङ्ग्रहालय नामकरण गरियो ।
त्यसबेला फेरि चाहना राखेरमात्रै पनि धेरैथोक गर्न सकिँदैनथ्यो । न पर्याप्त बजेट हुन्थ्यो, न पुग्दो कर्मचारी थिए । तैपनि मैले दुई–चारवटा शोकेसहरू तयार पारेर त्यहाँ राख्न लगाएँ । वीर पुस्तकालयबाट केही महत्वपूर्ण कलाकृतिहरू पठाएँ । केही प्राचीन ग्रन्थ र ताडपत्रहरू पनि पठाइदिएँ । राजा प्रताप मल्ल तीर्थयात्राका निम्ति जान लाग्दा स्नान गरिरहेको चित्रसहित वर्णन गरिएको हस्तलिखित पुस्तक पनि थियो । पुस्तकालयमा रहेका उत्कृष्ट हस्तलिखित चित्रहरू, विष्णु धर्मोत्तरका दस अवतारका चित्रहरू, बज्रयानी चक्रसंवर आदिका पौभा चित्रहरू, शैव र बौद्ध देवीदेवताका चित्रहरू, जीव–जनावरका चित्रहरूका साथै अनेक तन्त्रमन्त्र र मण्डलका चित्रहरू पनि मैले वीर पुस्तकालयबाट भक्तपुरस्थित सङ्ग्रहालयमा पठाइदिएँ । त्यसबाहेक भक्तपुर आफैँ पनि जताततै मन्दिर र कलाकृतिहरूको केन्द्र । त्यहाँ पुराना मठमन्दिरहरू भत्किएर त्यसका ‘महत्वपूर्ण प्रस्तर मूर्ति एवम् कलाकृतिहरू जताततै असरल्ल परेका थिए । मैले त्यस्ता मिल्किएका मूर्ति र कलाकृति पनि त्यहाँ सजाएर राख्न लगाएँ । भक्तपुरको सम्पत्ति भक्तपुरमै सुरक्षित तवरले राखिदिन्छु भनेपछि कसैले विरोध गर्ने कुरा पनि आएन । यसरी हेर्दाहेर्दै त्यसले गतिलै सङ्ग्रहालयको रूप लियो । त्यसपछि मैले यी सारा कुराको जानकारी विभागीय मन्त्री परशुनारायण चौधरीलाई गराएँ । उनी पनि दङ्ग परे । त्यस सङ्ग्रहालयको उद्घाटन प्रधानमन्त्रीबाटै गराउने इच्छा मैले मन्त्रीसमक्ष राखेँ हुन्छ, म भनिदिन्छु भनेर चौधरीले मलाई जवाफ दिए । नभन्दै एउटा सार्वजनिक दिवस पारेरै हामीले त्यस राष्ट्रिय कला सङ्ग्रहालयको उद्घाटन तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाबाट गरायौँ ।
त्यसबेला विभागसँग यातायातको साधन थिएन । म ट्याक्सी चढेर भक्तपुर पुगे तापनि मेरा पिताजी पैदल हिँडेरै त्यस सङ्ग्रहालयको उद्घाटनमा सरिक हुन पुग्नुभएको सम्झना अहिले पनि मलाई मीठो लाग्छ ।
प्रधानमन्त्री कोइराला आएपछि चोकभित्रै सभाको आयोजना गरिएको थियो । उद्घाटन गरेपछि प्रधानमन्त्री कोइरालाले मसँग बेग्लै कुराकानी गरेका थिए । “मलाई त कुनै नियमित तवरले आयोजना भइरहने औपचारिक सभा समारोहमा बोलाउनुभएको होला भन्ने लागेको थियो । कोइरालाले मलाई भनेका थिए, “यति महत्वपूर्ण कामको उद्घाटन गर्न पाएकोमा असाध्यै खुसी लागेको छ ।
“यस्तो ठूलो सङ्ग्रहालय बनाउन कसरी सम्भव भयो ? भनेर प्रधानमन्त्रीले मसँग जिज्ञासा राख्दा मैले त्यतिबेलै सबै वृत्तान्त छोटकरीमा सुनाइदिएको थिएँ ।
भक्तपुरको राष्ट्रिय कला सङ्ग्रहालय आज पनि मुलुककै एउटा महत्वपूर्ण दर्शनीय स्थल बनिरहेको छ । बेला–बेलामा म त्यसबारेका समाचारहरू पनि पढिरहन्छु । त्यस्ता क्षणहरूमा मलाई त्यो पुरानो दिनको धमिलो सम्झनाले पनि छोपिरहेको हुन्छ ।
(संस्कृतिविद् तथा वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको जीवनीमा आधारित लेखक गिरीश गिरीले लेख्नुभएको ‘सत्यमोहन’ पुस्तकबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *