भर्खरै :

भ्रमणबारे समयमै छलफल गर्न आवश्यक

संसदीय व्यवस्थामा संसद्मा बहुमत प्राप्त राजनैतिक दलको नेतालाई बेलायतकी महारानीले र गणतान्त्रिक मुलुकहरूमा राष्ट्रपतिले प्रधानमन्त्रीको सपथ ग्रहण गराउँदै मन्त्रिमण्डल वा मन्त्रिपरिषद्का सदस्यहरूको नामावली घोषणा गर्ने गराउने प्रचलन रहिआएको छ ।
नेपालको राजनैतिक इतिहासमा नेपाली काङ्गे्रसका नेता बीपी कोइराला हुँदै मातृकाप्रसाद कोइरालालाई प्रम बनाइएकोमा प्रश्न उठेपछि मातृकाप्रसाद कोइरालाले अर्कै पार्टीको स्थापना गर्ने र पार्टी नेता घोषणा गर्ने पनि स्थिति आएको थियो ।
हालै भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका स्वास्थ्यमन्त्रीलाई भारतीय जनता पार्टीका अध्यक्ष भनी उनकै कार्यालयमा भेट्न गएकोमा आश्चर्य प्रकट गर्दै चर्चाको विषय बनेको थियो ।
तर, स्वास्थ्यमन्त्री प्रधानमन्त्रीको समकक्षी होइनन्, प्रधानमन्त्रीको समकक्षी प्रधानमन्त्री मोदी नै हुन् । भारतीय राष्ट्रिय कङ्ग्रेसमा पनि बेलामौकामा प्रधानमन्त्री र भारतीय राष्ट्रिय कङ्ग्रेस पार्टीका अध्यक्षमध्ये को औपचारिक नेता भन्ने प्रश्न उठ्ने गरेको थियो ।
हुन त नेपाली काङ्ग्रेसले भारतीय स्वास्थ्यमन्त्रीको नाम उल्लेख नगरी भारतीय जनता पार्टीका अध्यक्षको नाताले प्रम देउवा भाजपाको कार्यालय गएको बतायो ।
श्रीलङ्काबाट के सिक्ने ?
श्रीलङ्का दक्षिण एसियामा अवस्थित नेपालको मित्र देश हो । अर्थतन्त्र, क्षेत्रफल र जनसङ्ख्याको हिसाबले पनि दुई देश विकासशील देश हुन् । तर, हालै श्रीलङ्का आर्थिक सङ्कटमा फसेको भन्ने समाचारले सबै नेपाली जनतालाई गम्भीर बनाएको छ । नेपाल सरकारले अवलम्बन गर्दै आएको अर्थ नीति खोटपूर्ण भएको बुद्धिजीवी समुदायमा चर्चा हुँदै छ । नेपालको अर्थतन्त्र खस्कँदै जानुमा सरसर्ती हेर्दा प्रत्यक्ष करमा आवश्यक परिवर्तन नहुनु, प्रगतिशील कर प्रणाली लागु हुन नसक्नु, राष्ट्रिय उत्पादन पुग्दो नहुनु र सरकारी संस्थाहरूमा शासक दलहरूले मनपरी खर्च गर्नु अर्थात् राजनीतिकरण गर्नु मुख्य कारण भएको जानकारहरू मान्छन् ।
नेपालको सन्दर्भमा बारम्बार जनताले उठाउँदै आएको विषय हो – ७० लाख युवालाई विदेश पठाएर कृषि अर्थतन्त्र ध्वस्त पार्नु, घर निर्माण र अन्य निर्माण कार्यमा समेत विदेशी मजदुरहरू भित्रिनु र उद्योगहरूबाट नाममात्रको उत्पादन हुनु तर सहुलियत भने पहिले जस्तै सरकारसँग लिनु आदि समस्याका कारण हुन् । त्यस्तै, विदेशबाट आएको रेमिट्यान्स पुनः नयाँ ज्यामी विदेश पठाउने र पढ्न जाने नाउँमा विदेशी मुद्रा विदेशमै फिर्ता पठाउनु आदि कारण पनि छन् । संसद् (सरकार), प्रदेश र स्थानीय निकायमा शासक दलहरूले मनपरी आर्थिक अनुदान वितरण गरे, डोजर र भ्यूटावर जस्ता अनुत्पादक क्षेत्रमा लगानी गरे । त्यही कारणले एक–एक पाइला गर्दै देश श्रीलङ्कामा परिणत हुन बेर छैन भन्ने अड्कल काटिएको हो ।
केही दिनअघि काठमाडौँको वायु प्रदूषणले दिल्लीलाई पनि जित्यो र काठमाडौँ संसारको प्रदूषित सहरको लाममा पुग्यो । काठमाडौँमै वनजङ्गल मास्दै र भिरपाखामा समेत आवास बनाउने भन्दै डोजर चलाउँदै धुवाँधुलो फैलाइयो र बाढीपहिरोको निम्ति मलजल पु¥याइयो । घर–जग्गा र अनियमित बसोबासको निम्तिसमेत बैङ्कको थैली खोलिँदा बैङ्कहरूलाई नाफा भयो होला तर देशले त्यसको गलत परिणाम भोग्ने निश्चय छ ।
नेपालमा नेपाली काङ्ग्रेसको सरकार आउनासाथै कागज कारखाना, छाला तथा जुत्ता कारखाना, ट्रली बस निजीकरणको नाममा बेचिए । श्रीलङ्कामा हिजोआज कागज नपाउँदा विद्यार्थीले परीक्षा दिन पाएनन् । ट्रली बस सेवा बन्द गरिँदा त्यसको ठाउँ सयौँ बसहरूले लिए– महँगो शुल्क र धुलो धुवाँको मार जनताले पाए । पुँजीपति वर्गको हातमा र सल्लाहमा आर्थिक नीति बनाउँदै जाने तथा विदेशी सामान निर्वाधरूपले भित्र्याउँदै जाने हो भने नेपालले पनि श्रीलङ्काको स्थिति भोग्न आइतबार पर्खनुपर्ने छैन । ठूलो रकम भन्सारबाट उठ्छ भन्दै तेल–तरकारी, चामल–दाल र राख्ने ठाउँ नहुँदा नहुँदै वाहनहरूको आयात अनि त्यसलाई चाहिने इन्धनले पनि देशको अर्थतन्त्र र जनताको स्वास्थ्यमा समेत सङ्कट आउने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *