जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने दलका उम्मेदवारलाई निर्वाचनमा जिताउनुपर्छ भन्ने आम जनताको धारणा हो । कुन कुन राजनीतिक दलले जनताको सेवा गरे र कुन कुन जनप्रतिनिधिले जनताको भावनाबमोजिम काम गरे ? यसको सही मूल्याङ्कन हुनुपर्छ । जनताको चाहना र आवश्यकता पूरा गर्ने दलका उम्मेदवारहरूलाई जनताले चिन्नुपर्छ, चिनेर मतदान गर्नुपर्छ । हो, यो बेला हामीले हरेक दलको घोषणापत्र पनि हेर्छाैँ, बुझ्छौँ र अध्ययन गर्छाैँ । आफ्नो दलका उम्मेदवार निर्वाचित भएपछि स्थानीय तहमा कसले के के गर्ने उद्घोष गरेका छन् या प्रतिबद्धता जनाएका छन् ? यसबारे समाजका सचेत, शिक्षक, प्रबुद्ध तथा बुद्धिजीवीहरूले पनि ध्यान दिनुपर्छ र विश्वासिलो दलका उम्मेदवारलाई जिताउनुपर्छ ।
कुनै दल या उम्मेदवारले जनताको विश्वासमा लात मारेका छन्, झूटको खेती गरेका छन्, धाक धम्की दिएका छन् भने त्यस्ता दल र दलका उम्मेदवारलाई जनताले मत हाल्नु हुँदैन या जिताउनु हुँदैन । कुन कुन दल र दलका उम्मेदवारहरू भ्रष्टाचार, अनियमिततामा फसेका छन् ? यसबारे जनताले राम्ररी पर्गेल्नुपर्छ । विगतका जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी छन् कि छैनन्, विकासमा ध्यान दिएका छन् कि छैनन् ? यसबारे पनि मतदाताले ध्यान दिनुपर्छ । विकासको कुरा फलाकेर, विकासकै रकममा अनियमितता गरेर पदको दुरूपयोग गर्ने उम्मेदवारहरू छन् कि छैनन् ? निर्वाचनमा उठेका दलका उम्मेदवारहरू कलुषित छन्, आपराधिक क्रियाकलापमा संलग्न छन्, देश र जनताभन्दा व्यक्तिगत र दलगत स्वार्थ पूरा गर्छन् भने ती उम्मेदवार जनताका सच्चा प्रतिनिधि होइनन् भन्ने थाहा हुन्छ, त्यस्ता उम्मेदवारलाई पाखा लगाउनुपर्छ ।
कुनै पनि मतदाता अन्धभक्त हुनुहुँदैन । कुनै पनि मतदाता लोभलालचमा फस्नु हुँदैन । कुनै पनि मतदाता कसैको लहैलहैमा जानुभन्दा बुझेर या अध्ययन गरेर अघि बढ्नुपर्छ । जनताको साथमा रहने, जनताको दुःख बुझ्ने, उम्मेदवारहरू हामीले छान्नुपर्छ । जनताबीच उठेका विवाद सुल्झाउन जनताबीचमै छलफल गरेर समाधान गर्ने उम्मेदवार हामीलाई खाँचो छ । जनताको समस्या या पीडा बताउँदा झर्कने, वास्ता नगर्ने उम्मेदवारले जनताको दुःख बुझ्नेछैन र समाधान गर्नसक्नेछैन । यी सबै मूल्य र मान्यता बुझ्ने उम्मेदवारलाई चुन्नुपर्छ । अनिमात्रै आफ्नो अमूल्य मतको सदुपयोग हुन्छ ।
Leave a Reply