निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । नेपालमा स्थानीय, प्रदेश, प्रतिनिधिसभा, राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गराउन निर्वाचन आयोगको व्यवस्था गरिएको छ । तर, निर्वाचन आयोगको कमिकमजोरी यसपालि पनि देखिँदै छ । यसरी स्वच्छ निर्वाचनमा शङ्का पैदा भइरहेको छ ।
‘नेपाल समाचारपत्र’ को वैशाख २३ गतेको अङ्कमा प्रकाशित भयो, ‘कतै जस्तापाता, कतै महिलालाई सारी बाँड्दै उम्मेदवार !’ हेटौँडा उपमहानगर – १८ का एमालेका वडाध्यक्ष उम्मेदवारले जस्तापाता बाँडेको र हेटौँडा–७ को नेका नेतृत्वको गठबन्धन दलले महिलालाई सारी बाँडेको उल्लेख छ । सोही पत्रिकामा अर्को समाचार प्रकाशित भयो – ‘निर्वाचन आचारसंहिता पालनामा ठूला दल नै अटेरी ।’
महोत्तरी जिल्ला वतना नगरपालिका – १० धमौराको मुसहर बस्तीका ६० वर्षीया बुधनीदेवी सदाले भनिन् –“हामी पैसामा भोट बेच्दैनौँ । अहिले त राति सुतेको बेला भोट माग्न आउँछन् । हजार–दुईहजारको प्रलोभन दिन्छन् । तर, यसपाली पैसा लिएर हामी भोट दिँदैनौँ ।” ‘द रिपब्लिका’ दैनिकमा प्रकाशित भयो – ‘एमाले नेता गोकर्ण विष्टको क्षेत्रमा प्रहरीद्वारा एक ट्रक खाद्यान्न जफत ।’
नेकाका केन्द्रीय सदस्य तथा प्रम शेरबहादुर देउवाकी पत्नी आरजु राणाले डडेलधुरामा भनिन् –“नेकाको मेयर नभएको ठाउँमा पैसा पठाइने छैन । प्रत्येक पालिकाबाट ५–६ जनालाई मलेसियामा वैदेशिक रोजगारीमा निःशुल्क पठाइनेछ ।”
आरजुको यो भनाइ निर्वाचन आचारसंहिताको उल्लङ्घन हो । नेका, एमाले, माओवादीलगायत शासक पार्टीले निर्वाचन मिति घोषणा भएलगत्तै आफ्नो पछि लाग्नेहरूलाई बाइकमा इन्धन हाल्दिने, भोज खुवाउने गर्दै छन् । रूकुम पूर्वमा यी पार्टीहरूले उम्मेदवारी मनोनयनपत्रमा समर्थक र प्रस्तावक बन्नेलाई ५–१० हजार रुपियाँ बाँडेको र होटलमा खाने, पिउने, बस्ने निःशुल्क गरेको समाचार पनि चर्चामा आयो ।
प्रम देउवासमेत सेनाको हेलिकप्टर चढेर विराटनगर, भरतपुर, पोखरा, धनगढीलगायत निर्वाचन सभामा बोल्न पुगे । यसबारे निर्वाचन आयोगमा उजुरी प¥यो तर कुनै कारबाही गरिएको छैन । संवैधानिक आयोगका पदाधिकारीहरू सम्बन्धित क्षेत्रबाट निर्वाचन गरी नियुक्ति गरिने व्यवस्था नभएसम्म आचारसंहिता उल्लङ्घनविरुद्ध कारबाही गर्न आयोग सक्षम हुनेछैन ।
निर्वाचन घोषणापत्रको लडाइँ हो । नेकाले भरतपुर महानगरपालिकामा माओवादीसँग गठबन्धन ग¥यो । तर, माओवादीले चाँगुनारायण नगरपालिकाको वडा नं. २ दुवाकोटमा राप्रपासँग तालमेल ग¥यो । भक्तपुर नगरपालिका वडा नं. १ मा नेका, माओवादी, राप्रपाले एमालेलाई समर्थन गरे भने वडा नं. ३ मा एमाले र माओवादीले नेकालाई समर्थन गरे । निर्वाचनमा नेकासँग पनि गठबन्धन गरेका एमाले अध्यक्ष ओलीले पोखरामा नेकाका प्रम देउवालाई असार १७ पछि कुर्सीबाट हट्नुपर्ने दाबी गरे । कुर्सीबाट हट्न लागेका देउवासँग ओलीले चुनावी तालमेल किन गर ? यसरी गठबन्धन सिद्धान्तहीन भएको र गाँठबन्धन अथवा अराजक भएको छ ।
नेकाका केन्द्रीय सदस्य खेमराज सेढाईले गठबन्धनलाई गाँठबन्धन, टाउको एउटाको खुट्टा अर्कोको, निर्दलवादी, बहुदलीय व्यवस्थाविरुद्ध आदि भनी विरोध गरेका छन् । नेका सभापतिसमेत रहेका प्रम देउवाले आफ्नो नेतृत्वको सरकार लम्ब्याउन भरतपुर लगायतमा माओवादी नजिते देश नचल्ने दाबी गरे । त्यस्तै, प्रचण्डले नेका–माओवादीको गठबन्धन नजिते देश दुर्घटनामा पर्ने दाबी गरे ।
३२ वर्षयता नेका, एमाले र माओवादीकै नेतृत्वमा सरकार बनेको हो । यसबीच राप्रपाले नेका र एमालेको साथ लिएर सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई प्रम बनायो । तर, ती कुनै पनि सरकारले जलविद्युत् उत्पादन र रासायनिक मल कारखाना स्थापना गर्ने काम गरेनन् । अहिले स्थानीय तहको निर्वाचन हुँदै छ भने ६ महिनाभित्र प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव पनि हुँदै छ । तर, किसानले मल–बिउ पाएका छैनन् । देउवा सरकारले रोपाइँको मुखमा भारतबाट रासायनिक मल खरिद गर्ने दाबी ग¥यो, आउने ठेगान छैन । हरेक वर्ष रासायनिक मलको अभाव हुन्छ । समयमा मल बिउ नपाए यो वर्ष धानको उत्पादन घट्ने भयो भनी किसानहरू चिन्तित छन् । तर, शासक दलहरू अनैतिक गठबन्धनसहित स्थानीय तहको चुनावमा साम, दाम, दण्ड, भेद नीति अपनाएर जित्न लागिपरेका छन् । यसरी देश र जनता थप सकसमा पर्दै छन् ।
नेपालको जलविद्युत् भारत हुँदै मलेसिया, सिङ्गापुरसम्म पठाउने र नेपाललाई अँध्यारोमै राख्न खोज्ने शासक दलहरू मोटा मोटा घोषणापत्र छापेर आचारसंहिता उल्लङ्घन गर्दै जनतालाई धोका दिइरहेका छन् । शासक दलहरूलाई चुनावमा पराजित गरी सजाय दिनु जरुरी छ ।
ग्योलक्सी टेलिभिजनको ‘सीधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालकले राप्रपाको बढाइचढाइँ गर्दै शासक दलहरूको हैसियत नेमकिपाको स्थितिमा पुग्ने झूटा तर्क राखे । केही पत्रकारहरू राजनीतिक पार्टीलाई निर्वाचनमा जितेको आकारसँग मात्र तुलना गर्छन्, तिनको सिद्धान्त र व्यवहारबारे मनन गर्दैनन् । राप्रपा त तीस वर्ष निर्दलीय र निरङ्कुश व्यवस्थामार्फत देश र जनतालाई पीडा दिएका पूर्वपञ्चहरूको पार्टी हो । दुईसय पचास वर्षयता सेना, प्रहरी, निजामती र अन्य आर्थिक सहुलियत लिएका अधिकारी र पञ्चहरूका सन्तान अहिले राप्रपमा पुनः लागिरहेका छन् । पञ्चायतको विघटनसँगै यिनीहरू नेका, एमाले, माओवादीमा घुसेका थिए । एमसीसी सम्झौतामा यिनीहरू एकै ठाउँमा थिए अर्थात् समर्थनमा थिए । राप्रपाका सांसद लिङदेनले संसद्मा एमसीसी सम्झौताको विरोधमा बोल्ने आँट नगरी मतदानको बेला बैठकमा समेत बसेनन् । एमालेले एमसीसीको विपक्षमा मत दिएन ।
शासक दलहरूको स्थानीय तहको पाँच वर्ष अगाडिको घोषणापत्रमा ‘गाउँ गाउँमा सिंहदरबार बनाउने’ उल्लेख छ । तर, गाउँ सबै उठीबास भए– खानेपानी, शिक्षा र स्वास्थ्य सुविधा नहुँदा । बरु, यी दलका सांसद र मन्त्रीहरूको काठमाडौँमा महल खडा भयो ।
सोलुखुम्बुको माप्यमा दुधकोशी गाउँपालिकामा वितरण गर्न लागेको ५० थान प्लास्टिकको कुर्सी प्रहरीले नियन्त्रण गरेको समाचार पनि प्रकाशित भयो । माओवादीले रूकुम पश्चिममा मासुको पोका वितरण गरेपछि नेका र माओवादीबीच ढुङ्गामुढा भयो र प्रहरीसमेत घाइते भए । मोरङका शासक दलहरूले मोटरसाइकल, सीठी र अटोरिक्सा तथा गाडीको ¥याली प्रदर्शन गर्दै छन् । एमाले र माओवादी आफूलाई कम्युनिस्ट दाबी गर्छन् तर कतै नेका र कतै राप्रपासँग चुनावी तालमेल गर्दै छन् । यसकारण, जनताले सिद्धान्तहीन गठबन्धन गरेका पार्टीलाई मत दिनु हुँदैन, सजाय दिनु जरुरी छ ।
– २०७९ वैशाख २६
Leave a Reply