निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
टनेल
पुलकामुख गाउँभन्दा अलि माथि लागेपछि एउटा यामानको सेतो टनेल देखिन्छ । अघिल्लो स्थानीय निकायको निर्वाचनपछि काङ्ग्रेसका एक कार्यकर्ताले १० लाख कृषि अनुदान पचाउन बनाएको त्यो टनेल अहिले बेवारिसे छ । टनेलभित्र बाक्लै घाँस उम्रेको छ । ठाउँठाउँमा प्लास्टिक च्यातिएको छ । नदीको बतासले हानिरहँदा टनेल कुनै भूतघरजस्तो देखिन्छ । स्थानीय तहको दोस्रो निर्वाचनको सङ्घारमा भूतघरका मालिक ती काङ्ग्रेसीको घरमा पुनः ‘चार तारा’ फहरिँदै छ । लाग्छ, छिट्टै अर्को टनेल बन्नेछ । हाम्रो देश र त्यो टनेलमा धेरै भिन्नता छैन ।
खेलो
राधा दिदीले उपप्रमुखको पाँचवर्षे कार्यकाल पूरा गरिन् । दोस्रो कार्यकाल खाने तयारीमा छिन् । पति कृष्ण आजभोलि जोडतोडले प्रचारमा लागेका छन् । एकाबिहानै झोला बोकेर गाउँतिर लागिहाल्छन् । ३३ वर्ष एमालेको ‘लालकिला’ बनाएको गाउँ गठबन्धनको आकार देखेर गुमाइहाल्ने पक्षमा छैनन् । पाँच वर्ष पत्नीको पीए बन्नु चानचुने पनि भएन । त्यसैले “हामीलाई जिताउनुहोला ¤” भन्ने उनको अनुरोधको बीचमा ‘सपरिवार’ पनि छ भनी बुझ्नुपर्छ । यसअघि युरोपमा बस्ने छोराबुहारीलाई पैसा पेलेका लोग्नेस्वास्नी आफ्नो खेलो पुनः पाँच वर्ष लम्ब्याउन चाहन्छन् । बुढेसकालमा ‘युरोप जिन्दावाद ¤’
कसैको त मुख खुल्नै थियो । घरदैलोमा हिँडेका उपप्रमुख दम्पतिलाई एक पसलेले भनिदिएछन्, “पाँच वर्षमा आउनुभयो, अलि खाइलाग्दी र अग्ली हुनुभएछ ।”
भय
गाउँमा सबै साहसी हुँदैनन् ।
मेलापर्ममा आएकी एक दिदीले मकै खन्दै गर्दा भनिन्, “यसपालि त नेतालाई मन फुकाएर भन्ने हो । हाम्रो गाउँको सक्कल फेर्छु भन्थे । सिन्को भाँचेनन् ।”
दिदीकी दौँतरीको उत्तर यस्तो थियो, “चुप लाग । यत्तिका गुन्डाहरू लिएर हिँडेका छन् । मार्लान् ।”
माहोल नै तैँ चुप मै चुप भयो । यति त पक्का भयो – विवेकको शासन टाढा छ ।
गठबन्धन
उम्मेदवारी दर्ताको दिन शान्तिपुरमा लीला देखियो । बसपार्कबाट माओवादी केन्द्रको जुलुस बाजागाजाका साथ अघि लाग्यो । माथिल्लो बजारबाट आएको काङ्ग्रेसी सुकिलामुकिलाहरूको जुलुस माओवादी जुलुसमा मिसियो । कुनै बेला यिनै काङ्ग्रेसी ‘सामन्त’ हरूले भूमिगत माओवादी पार्टीका ‘सर्वहारा नेताहरू’ को टाउकाको मूल्य तोकेका थिए भनी सम्झिन धेरैलाई हम्मेहम्मे प¥यो ।
एक एमाले नेताले भने, “यो अपवित्र गठबन्धन हो । काले–काले मिलेर भाले खाने खेल हो ।” उनको ‘सन्तवाणी’ बन्द गर्न मैले यति भन्नैप¥यो, “एमालेले पनि मिलेर भाले खाएकै हो र खानेछैन भनेर ठोकुवा गर्न सकिन्न । कम्तीमा एमालेलाई यस्तो टिप्पणी गर्ने नैतिक अधिकार छैन ।”
‘शिक्षक’
सात कक्षा पढ्दै गरेको एक बालकले भन्यो,
“ठूलो भएर म गाउँपालिका अध्यक्ष बन्ने हो ।”
“कुन पार्टीबाट ?”
“एमालेबाट ।”
“एमाले त एमसीसी पास गर्न सहयोग गर्ने पार्टी हो नि ¤”
“एमसीसी ठिक्कै त हो ।”
“किन ?”
“एमसीसीले विकास हुन्छ ।”
“तर धेरैले एमसीसीको विरोध गरे त ¤”
“विरोध गर्नेहरू अनपढ हुन् ।”
“कसले भनेको ?”
“सरले… ।”
त्यो बालकको शिक्षक ‘लालकिलाको रक्षक’ भएकोमा अब ममा भ्रम रहेन । एमसीसीका दफाहरू २.७, ५.१, ५.५, ६.८, ७.१ र अनुसूची ५ बारे बताएपछि मैले बालकलाई शिक्षकको परीक्षा लिन ‘एमसीसी कति पेजको छ भनेर सोध्नु है’ भनेँ । बालकले के सोच्यो कुन्नि फ्याट्ट भन्यो, “सरले एमसीसी पढ्नुभएको रहेनछ ।”
गाडीभाडा
तम्घासबाट फर्किरहेको गाडी गौँडाकोटमा रोकियो । ड्रात्र धेरै समयसम्म नआएपछि म निर्वाचन अधिकृतको कार्यालय पसेँ । गाउँपालिका कार्यालयको पुस्तकहरू भरिएको एउटा कोठामा खासखुस चलिरहेको थियो । ड्रात्रले “मेरो छिमेकको सबै भोट काङ्ग्रेसलाई नै हो” भन्दै थिए । एक महिला कर्मचारीले “भोलि गाडी लिएर चुनाव प्रचारमा आउनु” भन्दै थिइन् ।
बाटोमा ड्रात्रसँग कुराकानी भयो । मोटामोटी समस्या यस्तो थियो । अघिल्लो संसदीय निर्वाचनमा गाडी प्रयोग गरेबापत विभिन्न शासक पार्टीहरूले उनलाई मनग्य गाडीभाडा तिर्न बाँकी रहेछ । यो चुनावमा बक्यौता असुल्ने ड्रात्र दाइको दाउ रहेछ । त्यसैले काङ्ग्रेसकहाँ “काङ्ग्रेसलाई भोट हाल्छु” भन्दा रहेछन्, एमालेकहाँ “एमालेलाई भोट हाल्छु” भन्दा रहेछन् । उनको दाबी थियो, “जसरी हुन्छ, ३० गतेवरि पैसा तिर्नैपर्ने बनाउँछु यिनलाई !… यहाँ गरेर खान पनि गा¥हो छ… !”
होटल
गोलमङ्गोल अनुहारको एक युवकले आँखा सन्काएर साथीलाई भन्यो, “क्यान्टिन त टनाटन छ क्यारे ! यसपालिको चुनाव फाप्ने भयो जस्तो छ !”
‘पातकी’
कुमाल गाउँमा रक्सी, मासु र चिउराको खानपानबीच शासकहरू झैझगडामा उत्रे ।
गठबन्धन प्रतिनिधि, “हाम्रो इलाकामा भोज खुवाउन पाइन्न ।”
एमाले प्रतिनिधि, “यो देशभरि जहाँ पनि भोज खुवाउन पाइन्छ ।”
जनतालाई राजनीतिक विचार दिनुभन्दा पनि भोज दिन रूचाउने शासकहरूको यो भनाभन हेर्नलायक थियो । कहिले एमालेमा त कहिले माओवादीमा गएर सङ्गठनहरू बनाइदिने दलबदलु बोहराजीमाथि गठबन्धनले सुल प्रहार ग¥यो, “तँ पार्टी फेर्दै हिँड्ने पातकी ¤”
“तँ को होस् त ? काङ्ग्रेस–माओवादी गठबन्धनको पातकी होइनस् ?”
यी दुईजनाबीच लामो भनाभन भयो । तर आफू “पातकी” नभएको दाबी कसैले गरेन । आवेशमा उनीहरूले लुगा लगाउने टन्टै गरेनन् । उनीहरूलाई कसैले नाङ्गै देख्यो कि देखेन, चुनावी परिणामले भन्नेछ ।
देशाटन
यसपालि पनि गाउँमा दुई भुरे राजाको सवारी भयो । दशैँमा प्रत्येक बोटेजनलाई ५० रूपैयाँको खाम दिएर आफ्नो पोल्टोमा ल्याएको बोटे गाउँमा काङ्ग्रेसी राजा गए । स्थानीय चुनावमा पार्टीहरू उठ्नै नहुने कुरा गरेर पार्टीविरोधी बन्न पुगेका युवाहरूको मन जिते । एमालेका राजाले दुईचार मान्छेलाई भेटेर “अहिले हाम्रो सेवा गर्नुहोस्, पछि हामीले सेवा गर्नेछौँ” भने । यी दुवै राजा एमसीसीका मतियार हुन् । अमेरिकी परराष्ट्रमन्त्री माइक पोम्पेओसँग हात मिलाएर नेपाल आएपछि एमालेका राजाले नेपालमा प्रजग कोरियाका १२ कम्पनीहरू बन्द गराएका थिए । अमेरिकी राजदूतले “एमसीसी लगानी हो” भन्दाभन्दै पनि उनले “चन्दा हो” भनेका थिए ।
देशाटनमा दुवै भुरे राजाले आफ्नो ओठमा लागेको एमसीसीजन्य रगतको दाग लुकाउन भरसक मुस्काएको दृश्य सचेतजनले बिर्सनेछैनन् ।
भोट लिने तरिका
तल कहिल्यै नहेर्ने गाउँपालिका अध्यक्ष उम्मेदवार बस्नेतको छोरो बाबुगोता गएको छ । सूर्यको स्टिकर उसको टिसर्टमा जहिल्यै देखिन्छ । सडकमा भेटिएको आफ्नो एक रैतीसित हात मिलाउँदै बस्नेतपुत्रले भन्यो, “मैले किन हात मिलाएँ, बुझ्नुभयो होला नि !”
युगौँसम्म नमिलेका यी हातहरू अर्को पाँच वर्षसम्म पनि मिल्नेछैनन् भन्ने रैतीले सजिलै अनुमान ग¥यो ।
पानीमाथिको ओभानो
‘नेपाली कम्युनिस्ट आन्दोलनलाई एकढिक्का पार्न र एमसीसीविरोधीलाई जिताउन सूर्यमा भोट हालौँ !’ चुनावी प्रचारप्रसारको अन्तिम दिन यही नारा घन्काउँदै एमालेको बोलेरो गाडी दिनभरि गाउँगाउँ चहारिरह्यो ।
एमाले न कम्युनिस्ट पार्टी हो, न एमसीसीविरोधी – कसले हाँक हाल्ने ?! एमसीसी संसदमा दर्ता गर्ने दल एमाले नै हो । डोनाल्ड लुले केपी ओलीलाई पनि धम्क्याएका हुन् । मौनम् सम्मति लक्षणम् गरेर एमालेले पनि एमसीसी पास गरेकै हो । आफूले पाएको भए व्याख्यात्मक टिप्पणीको झन्झट नगरी एमसीसी बहुमतले पारित गर्ने केपी ओलीले सङ्केत गरेर पछि मालिक रिझाउन खोजेकै हुन् । एमसीसी अनुदानमात्र हो भनी एमालेकै विष्णु पौडेल, विष्णु रिमाल र प्रदीप ज्ञवालीलगायतले हाकाहाकी बोलेकै हुन् ।
(वैशाख ३० गतेको लागि)
Leave a Reply