भर्खरै :

पद र पैसाको निम्ति तँछाडमछाड

पार्टीको निर्णय या आदेश नेता तथा कार्यकर्ताले पालना गर्नुपर्छ या मान्नुपर्छ । पार्टीको सिद्धान्त र विचार नेता तथा कार्यकर्ताले आत्मसात गरेर अघि बढ्नुपर्छ । तर, ठूला र सत्तारुढ दलका नेता तथा कार्यकर्ताहरू पद र पैसाको निम्ति राजनीति गर्छन् । सिद्धान्त र विचारको राजनीति नहुँदा पार्टीभित्र पद र पैसाको निम्ति उम्मेदवार बन्ने तँछाडमछाड हुन्छ । पार्टीले छानेका उम्मेदवारप्रति असन्तोष व्यक्त गर्दै कति नेता तथा कार्यकर्ताहरू बागी उम्मेदवारी दिन्छन् । यो स्थानीय तहको निर्वाचनमा पनि विभिन्न दलका कार्यकर्ता बागी उम्मेदवारी बनेका छन् । शुक्रबार प्रकाशित नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार एमालेका ६५, नेकाका ४७, माओवादी केन्द्रका ३८ जनाले बागी उम्मेदवारी दिए । पार्टी निर्णयविपरीत उठेका बागी उम्मेदवारहरूलाई सम्बन्धित दलले कारबाही गरेको समाचार पनि प्रकाशित भयो ।
स्थानीय तहको निर्वाचनमा पार्टीको विधान र अनुशासन गरेको भन्दै दलहरूले बागी उम्मेदवारलाई कारबाही गरेका छन् । नेकाले चितवनका पाँच जना नेता–कार्यकर्तालाई निष्कासन ग¥यो । एमालेले मकवानपुरका ६ जनालाई पार्टीबाट निष्कासन ग¥यो । माओवादी केन्द्रले बागी उम्मेदवारीलाई कारबाही गरेको छ । एकीकृत समाजवादीले गोदावरी नपाको मेयर टेकबहादुर विकलाई कारबाही गरेको छ । त्यसरी नै अन्य स्थानमा पनि बागी उम्मेदवारहरूलाई विभिन्न दलले कारबाही गरेका छन् । यी सबै कारबाहीहरू स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय र हितविपरीत क्रियाकलाप गरेको आधारमा भएका हुन् । एमाले, नेका र माओवादी केन्द्रमा यति धेरै बागी उम्मेदवारहरू कसरी देखिए ? यति धेरै बागी उम्मेदवारहरू देखिनुमा पार्टीले गरेको गठबन्धन, पार्टीको निम्ति काम गरेको भन्दा धनाढ्य उम्मेदवार छनोट, नेताका आ–आफ्ना पक्षधर उम्मेदवार चयन आदि परेका छन् । दलले आफ्ना नेता तथा कार्यकर्तालाई सैद्धान्तिक र वैचारिकरूपले प्रशिक्षित नगरेको कारण नेता तथा कार्यकर्तामा असन्तोष बढेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *