भर्खरै :

भक्तपुरमा नेमकिपाको फराकिलो अग्रता

भक्तपुर, १ जेठ । स्थानीय तहको निर्वाचनको मतगणनाको क्रममा भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले फराकिलो अग्रता कायम गरेको छ । भक्तपुर नगरपालिकाको भवनमा जारी मतगणनामा शनिबार बेलुका १०ः३० बजेसम्ममा वडा नं १ देखि ७ सम्मको २७ हजार २६० मतगणना भएकोमा नगर प्रमुखमा नेमकिपाका सुनिल प्रजापतिले १७ हजार ५८२ मत र उपप्रमुखमा नेमकिपाकै रजनी जोशीले १७ हजार ८५२ मत प्राप्त गरी फराकिलो अग्रता कायम गर्नुभएको छ ।
प्रमुख पदमा नेपाली काङ्ग्रेसका रामप्रसाद कासुलाले २,६०३, एमालेका रवीन्द्र लाछिमस्युले १,९४७ र माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ५०९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवारले २,०४६, नेकांका उम्मेदवारले १,५६९, एकीकृत समाजवादीका उम्मेदवारले १,३८०, माओवादी केन्द्रका उम्मेदवारले ५९९ मत प्राप्त गर्नुभएको छ  ।
भक्तपुर नगरपालिका वडा नं. १, २, ३, ४ र ६ मा पूरै प्यानलसहित नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरू अत्यधिक बहुमतले निर्वाचित हुनुभएको छ । वडा नं १ मा नेमकिपाका उम्मेदवार श्यामकृष्ण खत्रीले २,१४३ मतका साथ विजयी हुनुभएको छ । त्यस्तै वडा सदस्यहरू सूर्यप्रसाद श्रेष्ठ, गंगा देवी बमनु तथा कल्पना शिल्पकार पनि अत्यधिक मतका साथ निर्वाचित हुनुभएको छ । त्यहाँ नेमकिपाले एमाले, नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनलाई पराजित गरेको छ । नेमकिपाबाट वडा अध्यक्ष उम्मेदवार श्यामकृष्ण खत्रीकै नेतृत्वको रहेको प्यानलले गठबन्धनलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेको छ ।
उहाँका निकततम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ८ सय ७७ मत प्राप्त गरे ।
त्यस्तै वडा नं. २ मा नेमकिपाकै हरिप्रसाद बासुकला २,६२८ मतका साथ विजयी हुनुभयो । उहाँसँगै वडा सदस्यहरू श्यामसुन्दर मातां, न्हुछेराम कोजू र मन्जुमाया लाखा पनि अत्यधिक मतका साथ विजयी हुनुभएको छ ।
वडा नं. ३ मा नेमकिपाका वडाध्यक्ष उम्मेदवार राजकृष्ण गोरा २,४४० मतका साथ विजयी हुनुभयो भने वडा नं. ४ मा नेमकिपाकै उपेन्द्र सुवाल ३,५६२ मतका साथ वडाध्यक्ष निर्वाचित हुनुभयो । वडा नं. ३ मा नेमकिपाकै वडा सदस्यहरू सुनिता अवाल, कृष्णगोपाल चगुठी तथा राजकुमार शिल्पकार तथा वडा नं. ४ मा पुरुषोतम तमखु, कृष्णसुन्दर प्रजापति र विष्णुकेशरी सुवाल सदस्य निर्वाचित हुनुभएको छ ।
त्यस्तै वडा नं. ६ मा नेमकिपाका डा. हरिरामसुवाल ३,२४१ मतका साथ विजयी हुनुभएको छ । त्यस्तैवडा सदस्यहरू गोविन्द दुवाल, रोशनमैया सुवाल, सिद्धिराम अवाल र सितादेवी नेपाली पनि भारी मतका साथ विजयी हुनुभएको छ ।
त्यस्तै भनपा वडा नं. ५ मा नेमकिपाका योगेन्द्रमान बिजुक्छेँ र वडा नं ७ मा उकेश कवां विजयउन्मुख रहनुभएको छ । समाचार तयार पार्दासम्मको मत परिणामअनुसार बिजुक्छेँले २,४९१, सुवालले ३,११२ र कवांले १,२९८ मत प्राप्त गरिसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *