भर्खरै :

राजनीतिमा को किन पछि पर्छ ?

राजनैतिक कार्यकर्ताहरूको अनेक अनौपचारिक भेलाहरूमा को किन अगाडि वा पछि पर्छ भन्नेबारे अनेक प्रकारका असन्तोष, जिज्ञासा र प्रश्नहरू उठ्ने गर्छन् । फलाना नेता नै किन धेरैपटक प्रधानमन्त्री भए, फलाना नेताले धेरै दुःख पाएका थिए, प्रजातान्त्रिक आन्दोलनमा त्यस क्षेत्र र जिल्लाबाट धेरै योगदान गरिएको थियो, फलाना जातजाति र भाषा–भाषीको धेरै मेहनत र आर्थिक सहयोग भएको थियो, वा मजदुर, कम्युनिस्ट र किसान आन्दोलनमा अमुक क्षेत्र, जिल्ला वा नेताहरूको सक्रियता धेरै देखिन्थ्यो तर तिनीहरू संसद् र सरकार वा अन्य सरकारबाट प्राप्त गर्नुपर्ने स्थान र पदमा किन ल्याइएनन् जस्ता विषयहरू बारम्बार उठ्ने गर्छन् ।
केहीले महत्वपूर्ण पदमा पुग्न विषयवस्तुमा आवश्यक जानकारी, नेपाली, अङ्ग्रेजी वा कुनै विदेशी भाषामा दख्खल, राजनैतिक संस्कार भएका र सुसंस्कृत परिवारबाट आएको हुनुपर्ने, बानी व्यहोरा, व्यवहार कुशलता आदि भएमा मात्रै कुनै व्यक्ति राजनैतिक क्षेत्रको माथिल्लो पदमा पुगिन्छ र पु¥याइने हो भन्ने उत्तरमा छलफल टुङ्गिन्छ । तर, दुर्गम गाउँका एक विद्यार्थी जसलाई कलेजको प्रिन्सिपल कार्यालयमा सामान्य औपचारिक व्यवहारसमेत गर्न नआउने, बोली पनि प्रस्ट नभएको व्यक्ति बारम्बार किन माथिल्लो पदमा पुग्छन्, उनीभन्दा राम्रा उम्मेद्वारहरू किन त्यो पदमा पुग्दैनन् आदि प्रश्नहरू फेरि फेरि राजनैतिक कार्यकर्ताहरूमा उठिरहन्छन् ।

हुन त राजनीतिशास्त्र (पोलिटिकल साइन्स) एक विज्ञान भनिए पनि राजनीतिशास्त्र प्रयोगशालामा अनुसन्धान गर्ने विषय नभई समाज र देशको जटिल विविधतायुक्त प्रयोगशाला हो । राजनैतिक दलका कार्यकर्ता र नेताहरू तथा विदेशको समेत प्रभाव पर्ने भएको हुनाले कुनै पार्टी नेता, कार्यकर्ता र मतदाताहरूले अनुमान गरेको, इच्छा गरेको भन्दा फरक परिणाम व्यवहारमा देखिन्छ । यसबारे कुनै एउटा पार्टी वा देशको उदाहरणले मात्र प्रस्ट गर्दैन । छलफललाई चालु नै राख्नुपर्ने हुन्छ ।
केही जिज्ञासुहरू प्रजग कोरिया र क्युवाको नेतृत्वमा एउटै परिवार अर्थात् कोरियामा किम परिवारको तीन पुस्ता र क्युवामा फिडेल क्याष्ट्रो र राउल क्याष्ट्रोको विषयलाई लिएर कम्युनिस्ट शासन परिवारवादका पक्षपाती छ भनी गलत प्रचार गर्छन् । यसबारे घोत्लिनु मनासिब छ । सरा अमेरिकाको प्रजातन्त्रलाई प्रजातन्त्रवादीहरूले उदाहरण मान्ने गर्छन् । सैनिक विद्रोह हुने सम्भावना नभएको भए दास मालिक जर्ज वाशिङटन (१७८९–१७९७) राजा बन्ने थिए । संरा अमेरिकाका दोस्रो राष्ट्रपति जोन आडमन (१७३५–१८२८) थिए, उनी १७९७ देखि १८०१ सम्म राष्ट्रपति बने साथै उनको छोरो जोन क्विन्सा (१७६७–१८४८) रा अमेरिकाको छैटौँ राष्ट्रपति (१८२५– १८२९) भए संरा अमेरिकाको ४१ औँ राष्ट्रपति जर्ज (हर्टबर्ड वाल्कर) बुश थिए, उनको जन्म सन् १९२४ मा भएको थियो र उनी १९८९–१९९३ सम्म राष्ट्रपति भए । उनकै छोरो जर्ज डब्लु बुश ४३ औ अमेरिकी राष्ट्रपति भए । उनको जन्म सन् १९४६ मा भएको थियो भने उनी २००१ मा राष्ट्रपति चुनिएका थिए ।
त्यस्तै संसारको सबभन्दा ठूलो प्रजातन्त्र भनिने भारतका राष्ट्रिय काङ्ग्रेसका नेता मोतीलाल नेहरूका छोरा जवाहरलाल नेहरू जीवनको अन्तसम्म प्रधानमन्त्री भएपछि उनकी छोरी इन्दिरा गान्धी र नाति राजीव गान्धी प्रधानमन्त्री भए । त्यसरी नै श्रीलङ्कामा सोलोमन बन्दरनायके प्रधानमन्त्री भए, उनको हत्यापछि उनकी जहान श्रीमती सिरीमाओ बन्दरनायके र छोरी कुमारातुङ्गा समेत प्रधानमन्त्री तथा राष्ट्रपति बने । पाकिस्तानमा प्रधानमन्त्री भुट्टोपछि छोरी कुमारी भुट्टो पनि प्रधानमन्त्री भइन् । बङ्गलादेशमा शेखपछि मुज्जबुर रहमान राष्ट्रपति चुनिए । अहिले उनकी छोरी शेख हसिना वाजेद प्रधानमन्त्री छिन् । प्रतिपक्षी जातीय पार्टीका नेता जियाउर रहमान र उनकी जहान बेगम खालिदा जिया पनि सत्तामा पुगे ।
फिलिपाइनसमा फर्डिनान्ड मार्कोसपछि श्रीमती इमेल्दा मार्कोस सत्तामा पुगिन् । इन्डोनेसियामा सुकार्नो राष्ट्रपति थिए र पछि सुकानोँ पुत्री पनि सत्तामा पुगिन् । बर्मामा आङ साङ सुकीका बुबा सत्तामा थिए, आज उनी सत्तामा छिन् ।
यसकारण कम्युनिस्ट देशमा वंश परम्पराअनुसार सत्तामा जाने आरोप लगाउने हो भने सोभियत सङ्घ, चीन, भियतनाम र अन्य पूर्वी युरोपेली देशहरूमा पनि एउटै परिवारका सदस्य सत्तामा थिएनन् ।
तर, प्रजग कोरिया र क्युवामा संरा अमेरिकाको ५०–६० वर्षको नाकाबन्दी र युद्धको स्थिति भएको हुँदा ती देश सदा सतर्कताको अवस्थामा छन् । कोरिया प्रायःद्वीप संसारमा सबभन्दा विस्फोटक स्थितिमा छ । क्युवासँग संरा अमेरिकाले बाराक ओबामाको पालामा आएर मात्र कूटनैतिक सम्बन्धको पुनःस्थापना गरेकोमा ट्रम्प प्रशासनले पुनः क्युवाविरोधी कदमहरू चालेको छ । यसैको सेरोफेरोमा नेपाललाई हेर्ने हो भने २००७ सालपछि मातृकाप्रसाद कोइराला, बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालासमेत प्रधानमन्त्री भए । यसलाई पारिवारिक प्रजातन्त्र वा वंश परम्परा के भन्ने हो, नेपाली जनता आफै भुक्तभोगी छन् । आज पुनः अनेक कोइराला सत्ता हत्याउने ताकमा छन् ।
महिला सतामा आए….
महिला सत्तामा आएमा तुलनात्मक रूपले देशको शान्ति सुरक्षा र भ्रष्टाचार कम हुनेजस्ता प्रचारहरू गरिन्छ । इजरायलमा गोल्डा मायर, बेलायतमा मार्गरेट थ्याचर, बेलायतकै थेरेसा मे आदि महिला नेतृ सत्तामा पुगे तर समाजमा मौलिक परिवर्तन भएन । ग्रीस, अर्जेन्टिना, ब्राजिल, जर्मनी, आदि देशमा पनि महिला सत्तामा पुगे तर मौलिक परिवर्तन भएन । समाजको आमुल परिवर्तनको निम्ति महिला र पुरुष, जात र भाषा–भाषीभन्दा पनि व्यापक जनसमूह नै आन्दोलित, शिक्षित र उद्देश्यप्रति समर्पित हुनुपर्ने माथिका उदाहरणहरूबाट प्रस्ट छ ।
नेपालमा एमाले नेता मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति पदमा छिन् । अष्टलक्ष्मी शाक्य, हिसिला यमी आदि महिला नेतृ सरकारमा गए । तर, खोइ दहेजविरोधी, छाउपडीविरोधी ऐन बनेको ? बोक्सी आरोपमा जघन्य अपराध गर्ने र बलात्कारीलाई कडा कानुनको बन्दोबस्त गरेको खोइ ? एकैबाजी लाखौँ बाल–बालिका र महिलाहरूको हित हुने देशव्यापी शिशुशाला र बालोद्यानको स्थापना भएको खोइ ? यसकारण, लैङ्गिक भेद होइन, दृष्टिकोण र कार्यान्वयनमा प्रस्टता हुनुपर्छ शासक दल र नेतृत्वमा ।
नेतृत्व, सङ्गठन, आन्दोलन, नेता, कार्यकर्ता र जनता विजत्न्दा पहिले एकाकार देखिन्छन् भने विजयपछि ती शब्दहरूको भिन्नाभिन्नै अर्थ हुन्छ । भारतमा शिखहरूको जनसङ्ख्या २ प्रतिशत थियो भने स्वतन्त्रता आन्दोलनमा सहिद हुने र आजन्म कैदीको सजाय भोग्ने स्वतन्त्रता संग्रामीहरूको प्रतिशत ११ थियो । तर, शिख स्वतन्त्रता संग्रामी नेताहरू कोही प्रधानमन्त्री भएनन् किन ?
साँच्चै भनूँ भने इन्डोनेसिया भन्दा पनि भारत नै सबभन्दा पहिलो मुश्लिम देश थियो । स्वतन्त्रता आन्दोलनमा अब्दुल कलाम आजादको महत्वपूर्ण भूमिका भएको मानिन्छ, उनी भारतीय काङ्ग्रेसका सभापतिसमेत थिए । हिन्दू–मुसलमानको भेदभावलाई मत्थर पार्न उनको पनि योगदान जरुरै थियो होला । जवाहरलाल नेहरूको पहिलो मन्त्रीमण्डलमा उनी शिक्षामन्त्री भए । तर, उनको ‘भारतको स्वतन्त्रता’ भन्ने पुस्तक र २७ वर्षपछि छापिएका उनका लेखले धेरै गम्भीर विषयलाई उजागर गरेको छ । त्यस्तै दलितहरूको जनसङ्ख्या भारतमा झण्डै २० प्रतिशत छ । स्वतन्त्रता आन्दोलनमा तिनीहरूको पनि भूमिकालाई ध्यान दिएर उपप्रधानमन्त्री (जगजीवनराम) र राष्ट्रपति (के. आर. नारायणन) भए भने शिख जनताबाट ज्ञानीजैलसिंह राष्ट्रपति भए । तथा दक्षिणी भारतबाट सर्वपल्लि राधाकृष्ण राष्ट्रपति बने । त्यस्तै बिहारबाट डा. राजेन्द्रप्रसाद पहिलो भारतीय राष्ट्रपति बने । राणाविरोधी सङ्घर्ष र प्रजातन्त्र पुनःस्थापनामा नेपाली काङ्ग्रेस, गणेशमानजी र उपत्यकावासीको पनि उल्लेखनीय सहभागिता इन्कार गर्न सकिन्न तर गणेशमानजीले नेपाली काङ्ग्रेसको वीरगन्ज सम्मेलनमा ‘गणतन्त्र’ लाई समर्थन गरेर सुवर्ण शमशेरको विरोधमा खडा भए । जीवनको अन्तमा नेपाली काङ्ग्रेसबाट टाढा रही पाटनको खुमलटारमा बस्नुप¥यो । सम्भवतः यसको गम्भीरता प्रकाशमानजीलाई थाहा छैन तर सबै पर्यवेक्षकहरूलाई के थाहा थियो कि शेरबहादुर देउवाको विरोधमा उम्मेद्वार बनाउनु खाली नेका एक प्रजातान्त्रिक पार्टी देखाउन मात्रै गरिएको हो र प्रकाशमान कुनै पक्षको निमित्त मात्रै हो भन्नेहरू काङ्ग्रेसभित्रै छन् ।
त्यसो काठमाडौँ त उपत्यकाका नेता तथा कार्यकर्ताहरूमाथि ‘सुविधामुखी’, ‘देशभरको शोषणबाट फाइदा उठाएका’ जस्ता आरोप लगाइएका छन् । पुष्पलाल, तुल्सीलाल र अन्य नेता कार्यकर्ताहरूका बारे त्यो आरोप सत्य साबित हुँदैन । हो, गणेशमानजी बीपी कोइरालाको, सिद्धिलाल मनमोहनको, पदमरत्न तुलाधर, राजेन्द्र श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ आदि मदन भण्डारीका हनुमान हुन् भन्नेजस्ता विशेषण पनि नजोडिएको होइन । यसको अर्थ हो काठमाडौं उपत्यकावासी खासगरी नेवार नेता र कार्यकर्ता सैद्धान्तिक र बौद्धिक रूपले पछि छन् भन्न खोजिएको हो । त्यसो भनौँ भने उपत्यका बाहिरका मरिचमानसिंह ‘श्रेष्ठ’ प्रधानमन्त्री हुँदा ७० वर्षीय एक राजनैतिक कार्यकर्ताले ‘अब देश खत्तम भयो भन्ने अभिव्यक्ति दिए । यसको अर्थ हो – जात, धर्म, भाषा र क्षेत्रीय प्रभाव स्वाभाविक रूपले मत्थर पार्न ३–४ पुस्ता लाग्ने सम्भावना छ भने आर्थिक समानता भएको समाजमा २–३ पुस्तामै त्यस्ता भेदभाव मत्थर हुने देखिन्छ ।
के सत्य हो भने आन्दोलनमा भाग लिने र सक्रिय हुने सबै कार्यकर्ता, सहभागी र समर्थकहरूलाई नेतृत्वको उद्देश्य, क्षमता र राष्ट्रिय÷अन्तर्राष्ट्रिय सम्बन्ध हुँदैन, त्यसको कारण कति विषय नेतृत्वले खोल्दैन र खोल्नु आन्दोलनको हितमा देख्दैन । राणाविरोधी सङ्घर्षकै बेला साम्राज्यवादीहरूले चीन, तिब्बत, नेपाल र भारतको विषयमा के कसरी सोचेका होलान् भनी भारतीय नेताहरूलाई थाहा भएजति नेपालीहरूमध्ये केहीलाई थाहा होला । यसबारे गान्धी र नेहरूहरूको जानकारी र दृष्टिकोण जयप्रकाश नारायण र डा. राममनोहर लोहियाहरूको दृष्टिकोणमा एकरूपता नहुन सक्छ । त्यसबारे भारतीय कम्युनिस्टहरू गम्भीर थिएनन् होला तत्कालीन नेपाली कम्युनिस्ट नेताहरू तिनीहरूकै सहउत्पादन थिए ।
भारतमा बेलायती उपनिवेशवादविरोधी सङ्घर्षबाट बेलायत सतर्क थियो भने थाइल्याण्ड र बर्मालाई पूर्वतिरको कम्युनिस्ट प्रभावबाट जोगाउन खोज्दै थियो । बर्मामा बर्मेली कम्युनिस्ट पार्टीको सशस्त्र गतिविधि उत्तरी भेगमा मात्रै थियो । रङ्गुन र दक्षिणी बर्मामा समाजवादी साहित्यको प्रचार थियो । यसबीचको बर्मा र थाइल्याण्ड भारत र हिन्द चीनको कम्युनिस्ट आन्दोलनको प्रभावबाट जोगायो ।
तर, यसबारे त्यसबेलाका भारतीय कम्युनिस्टहरू नेपालबारे सचेत देखिन्थे । यसकारण विशेषतः पश्चिम बङ्गाल, बिहार र युपी वा भारतीय कम्युनिस्टहरूले नेपाली विद्यार्थीहरूमा कम्युनिस्ट विचार प्रचार गरे । तर, आज भारतीय कम्युनिस्ट आन्दोलन पनि माक्र्सवादी कम्युनिस्ट पार्टी, नक्सलवाडी र डाँगेवादी भारतीय कम्युनिस्ट पार्टीको रूपमा विभाजित छ । यदि बिहार, उत्तर प्रदेश र बङ्गालमा त्यहाँका कम्युनिस्टहरू सक्रिय भएमा नेपालका जातीवादी र क्षेत्रवादी दक्षिणपन्थी राजनीति अगाडि बढ्ने थिएन । भारतीय कम्युनिस्ट आन्दोलनको निष्क्रियताको कारण छिमेकी देशहरूमा पनि भारतीय दक्षिणपन्थी राजनैतिक प्रचारले प्रभाव पार्दैछ । त्रिपुरामा २०–२२ वर्षदेखिको माक्र्सवादी कम्युनिस्ट पार्टीको सरकारको राज्यमा हालै भारतीय फासीवादी दल–भारतीय जनता पार्टीले निर्वाचनमा विजय हासिल गर्ना साथै त्यहाँको लेनिनको सालिक भत्काउने, माक्र्सवादी कम्युनिस्ट पार्टीको कार्यालय र कार्यकर्ताहरूको घरमाथि हमला सुरु गरेको समाचारहरूले जनाएका छन् । त्रिपुराको कम्युनिस्ट आन्दोलनमा भियतनामी नेता हो चि मिन्हको पनि ठूलै चर्चा हुन्थ्यो । तर, भाजपाको हमला त्रिपुरामा छ र मोदी भियतनामसँग मित्रता बलियो बनाउन प्रयत्नरत छन् ।
हिजो लेनिनको बेला विश्व कम्युनिस्ट आन्दोलनमा सर्वहारा वर्गको शासनसत्ता कायम गर्न पुँजीवादी हिंसाको विरोधमा सर्वहारा वर्गको प्रतिकार र प्रत्याक्रमण महत्वपूर्ण विषय थियो । कम्युनिस्ट आन्दोलनलाई भित्रभित्रै खोक्रो पार्ने पुँजीवादी तत्वहरूले अहिले सरकारी पदमा जानुलाई नै ‘क्रान्ति’ भएको प्रचार गरी विश्व कम्युनिस्ट आन्दोलनलाई समेत विश्वासघात गरेको परिणाम खुल्दैछ । सोभियत कम्युनिस्ट पार्टीका महासचिव र सोभियत सङ्घको शासक मिखाइल गोर्भाचोभले समाजवाद र सोभियत सङ्घलाई विघटन गराइसकेपछि एक पत्रकारको उत्तरमा भनेका थिए– “मेरो जीवनको मुख्य उद्देश्य नै सोभियत सङ्घ र समाजवादको पतन गराउनु थियो ।”
नेपालको कम्युनिस्ट आन्दोलनमा नेपाली खुश्चेभ र गोर्भाचोभहरू चारैतिर देखिँदैछन् । एकजना डाँगेको कारण एक एक पाइला गरेर आज भारतीय कम्युनिस्ट आन्दोलन पूरै रक्षात्मक स्थितिमा पुग्यो । नेपालको कम्युनिस्ट आन्दोलन पनि आज आफ्नो अस्तित्वको लडाइँ लड्दैछ । हो, क्रान्ति र आन्दोलन ज्वारभाटा जस्तै हुन्छ, नेपालको कम्युनिस्ट आन्दोलन उठ्ने पालो पनि आउनेछ ।
तर, जहाँसम्म धेरै दुःख पाएका नेता तथा कार्यकर्ता प्रधानमन्त्री वा माथिल्लो सरकारी पदहरूमा पुगेनन् भन्ने गुनासो छ, त्यसबारे उत्तर प्रस्ट छ । दुःख पाउने सबै नेपाली माथिल्लो पदमा पुग्ने भए फकिर र गरिब–गुरुवा सबै माथिल्लो पदमा पुग्नुपर्ने हो, जसरी परीक्षा र खेलकुदमा पहिलो एउटै हुन्छ भने योग्यहरूमध्ये योग्य नै माथिल्लो पदमा पुग्ने, तर दुर्गम गाउँमा बस्ने, कुराकानीसमेत गर्न नजान्ने विषय नै राजनैतिक योग्यता मान्ने हो भने बीपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालाको भारतीय नेताहरूको सम्बन्धलाई बिर्सनु हुन्न र शेरबहादुर देउवाको सम्बन्ध बेलायत, जर्मनी र अमेरिकी राजनैतिक पक्षसँग भएको अड्कल मानिसहरू गर्छन् ।
काठमाडौँ उपत्यकाबासीले आन्दोलनहरूमा योगदान गरेको कुरा गर्दा २००७ सालको राणाविरोधी आन्दोलनमा मारबाडी परिवारहरू र भारतीय राजदूतावासका कर्मचारीहरूको भूमिकालाई जानकारी राख्नु मनासिब होला तथा काठमाडौँको आन्दोलनमा देखिने सबै जनता काठमाडौँ उपत्यकाबासी हुन् भन्ने भ्रम पाल्नु गलत हुनेछ ।
स्रोतः किसान सङ्घर्ष
(वर्ष ६, अङ्क १, २०७५)

Leave a Reply

Your email address will not be published. Required fields are marked *