भर्खरै :

असल जनप्रतिनिधिले जनताको सेवा गर्ने

नयाँ जनप्रतिनिधि चयन गर्न शुक्रबार नेपालका सात सय ५३ स्थानीय तहमा निर्वाचन भयो । यो निर्वाचनले ३५ हजारभन्दा बढी जनप्रतिनिधि चयन गर्नेछ । हरेक दलले आ–आफ्नो प्रतिबद्धता या घोषणापत्र जारी गरेका छन् । मतगणना जारी छ र नतिजाहरू आइरहेका छन् । निर्वाचन आयोगले बहुमतको आधारमा जनप्रतिनिधि विजय भएको घोषणा गर्नेछ । निर्वाचित जनप्रतिनिधिहरूले सपथग्रहण निर्वाचनताका जनतामाझ व्यक्त गरेका प्रतिबद्धता या सङ्कल्प या घोषणापत्र नगरपालिका र गाउँपालिकाले नीति तथा कार्यक्रम अगाडि बढाउनुपर्ने हुन्छ ।
विगतमा कति निर्वाचित जनप्रतिनिधिहरूमाथि भ्रष्टाचारको आरोप लगाइएको थियो । कति आपराधिक क्रियाकलाप तथा बलात्कारसम्मका जघन्य अपराधका मुद्दा खपेका जनप्रतिनिधिहरू पनि देखिए । जनताको सेवा र विकास गर्नुभन्दा राज्यकोषमा अनियमितता गर्ने र स्रोतको दोहन गर्ने व्यक्तिहरू पनि देखिए । मतदाताले त्यस्ता व्यक्तिहरूलाई मतदान गर्नु हुँदैनथ्यो । यसले प्रजातन्त्रकै बदनाम गरायो । अब यो निर्वाचनमा राजनीतिलाई जनताको सेवा मानेर लाग्ने जनप्रतिनिधि छानिने हो या आपराधिक व्यक्तिहरू छानिने हो ? त्यो समयले देखाउनेछ ।
यो निर्वाचनमा असल जनप्रतिनिधिहरू चयन भए स्थानीय तहको विकास हुने र जनताको सेवा हुनेमा शङ्का छैन । स्थानीय तह नजिकको सरकार हो, जनताको जीवन र सरोकारसित सम्बन्धित निकाय हो । यसकारण, स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ । स्थानीय जनता र स्थानीय ठाउँको विकास गर्न नै मतदाताले असल, इमानदार, देश र जनताप्रति समर्पित उम्मेदवार चयन गर्नुपर्ने हो । मतदाताको कर्तव्य निर्वाचनमा भाग लिनेमात्र होइन, असल, योग्य, इमानदार जनप्रतिनिधि चयन गर्नु पनि हो । निर्वाचित जनप्रतिनिधिले पदअनुसार काम गर्नुपर्छ । पाँच वर्षभित्र आ–आफ्नो प्रतिबद्धता पूरा गर्न कम्मर कस्नुपर्छ ।
उम्मेदवार छान्दा हरेक मतदाताले पार्टी र उम्मेदवारको सही मूल्याङ्कन गर्नुपर्छ । विकास र समाजप्रति समर्पित व्यक्ति चयन भएमा निश्चय नै मतदाताको मत खेर जाने छैन या आफ्नो मतको सदुपयोग हुनेछ । खराब तथा समाज र जनताको मतलब नराखी व्यक्तिगत र दलगत स्वार्थ हेर्ने जनप्रतिनिधिले इमानदारीपूर्वक सेवा गर्नेछैन, देश, समाज, नगर र गाउँको लागि काम गर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *