भर्खरै :

नेमकिपाको जीत देशभक्तहरूको जीत

भक्तपुर, २ जेठ । स्थानीय तह निर्वाचन २०७९ मा भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू तथा वडा सदस्यहरूसहित सबै पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले विजय हासिल गरेको छ । नेमकिपाले २०७४ सालको निर्वाचनमा जस्तै नगरको १० वटै वडामा अध्यक्ष तथा सदस्य पदमा समेत दोस्रोपटक विजय हासिल गरेको हो । नगर प्रमुखमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापति २९ हजार २५२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका रामप्रसाद कासुलाले ३ हजार ३५२ मत प्राप्त गर्नुभयो ।
निर्वाचन परिणाम घोषणापश्चात मजदुर दैनिकलगायत विभिन्न सञ्चारकर्मीसित कुराकानी गर्दै प्र्रजापतिले आफूहरूको जीत नेमकिपाको घोषणापत्रको जीत र एमसीसी सम्झौताको विरोध गरिरहेका सम्पूर्ण देशभक्त जनताको जीत भएको बताउनुभएको छ ।
भक्तपुर नगरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्रको रूपमा स्थापित गर्न नगरलाई थप व्यवस्थित गरी ऐतिहासिक, सांस्कृतिक र सुन्दर नगरीको पहिचानलाई थप उजागर गर्नु तथा जनताका समस्याहरू क्रमशः हल गर्दै जानु नै भनपामा नेमकिपाको नीति रहेको बताउनुभयो ।
उहाँले १ सय शय्याको अस्पतालको रूपमा ख्वप अस्पताल सञ्चालन र ख्वप विश्वविद्यालय स्थापनाको लागि पहल नै भनपाका जनप्रतिनिधिहरूको पहिलो प्राथमिकता हुने स्पष्ट पार्नुभयो ।
त्यस्तै उपप्रमुख पदमा निर्वाचित रजनी जोशीले भनपाभित्रका सम्पदाहरूको संरक्षण र संवद्र्धन गर्दै भक्तपुरलाई व्यवस्थित सांस्कृतिक नगरको रूपमा विकास गर्न लागिपर्ने बताउनुभयो । उपप्रमुखमा नेमकिपाका रजनी जोशी २९ हजार ७५९ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी रञ्जना चापागाईं खर्बुजाले २ हजार ७८४ मत प्राप्त गर्नुभएको छ ।
दसवटै वडामा प्यानलसहित नेमकिपा
भक्तपुर नगरपालिकाको दसवटै वडामा प्यानलसहित नेमकिपाका उम्मेदवारहरू अत्यधिक बहुमतका साथ निर्वाचित हुनुभएको छ । वडा नं १ मा नेमकिपाका उम्मेदवार श्यामकृष्ण खत्रीले २,१४३ मतका साथ विजयी हुनुभएको छ । वडा नं १ का विजयी वडा सदस्यहरू सूर्यप्रसाद श्रेष्ठ, गङ्गादेवी बमनु तथा कल्पना शिल्पकार हुनुहुन्छ ।

वडा नं. २ मा नेमकिपाकै वडाध्यक्षका उम्मेदवार हरिप्रसाद बासुकला २,६२८ मतका साथ विजयी हुनुभएको छ । त्यस वडाका विजयी वडा सदस्यहरू श्यामसुन्दर मातां, न्हुछेराम कोजू र मञ्जुमाया लाखाजू हुनुहुन्छ ।

त्यस्तै वडा नं. ३ मा नेमकिपाका वडाध्यक्षका उम्मेदवार राजकृष्ण गोरा २,४४० मतका साथ विजयी हुनुभयो भने वडा सदस्यहरू सुनिता अवाल, कृष्णगोपाल चगुठी तथा राजकुमार शिल्पकार पनि अत्यधिक मतले विजयी हुनुभयो ।

वडा नं. ४ मा नेमकिपाकै उपेन्द्र सुवाल ३,५६२ मतका साथ वडाध्यक्ष पदमा निर्वाचित हुनुभयो । वडा नं ४ मा नेमकिपाकै पुरूषोतम तमखु, कृष्णसुन्दर प्रजापति र विष्णुकेशरी सुवाल सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै वडा नं ५ मा नेमकिपाका योगेन्द्रमान बिजुक्छँे २,७७६ मतका साथ वडाअध्यक्ष पदमा विजयी हुनुभएको छ भने नारायण प्रसाद त्वानावासु, कृष्णप्यारी भुजु, रीता फसिकव वडा सदस्य पदमा विजयी हुनुभयो ।

वडा नं ६ मा नेमकिपाकै डा. हरिराम सुवाल ३,२२९ मतका साथ वडाध्यक्ष पदमा विजयी हुनुभयो भने गोविन्द दुवाल, रोशनमैया सुवाल, सिद्धराम अवाल र सीतादेवी नेपाली वडा सदस्य पदमा विजयी हुनुभयो ।

त्यस्तै वडा नं. ७ मा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवां ३,९६९ मतका साथ वडाध्यक्ष पदमा विजयी हुनुभयो भने हरिरत्न गोर्खाली, हेरा ख्याजू र रन्जना त्वाती वडा सदस्य पदमा विजयी हुनुभयो ।

वडा नं ८ मा नेमकिपाकै कृष्णप्रसाद कोजू २,२८० मतका साथ वडाध्यक्ष पदमा विजयी हुनुभयो भने रामसुन्दर वासी, कृष्णलाल किसी र सुमित्रा बोहजू वडा सदस्य पदमा विजयी हुनुभयो ।

त्यस्तै वडा नं ९ मा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्व ४,२७७ मतका साथ वडाध्यक्ष पदमा विजयी हुनुभयो भने इन्द्रबहादुर प्याठ, ज्ञानबहादुर मानन्धर र छोरीमैया सुजखू (प्रजापति) वडा सदस्य पदमा विजयी हुनुभयो ।

वडा नं १० मा नेमकिपाका लक्ष्मीप्रसाद ह्यौँमिखा २,६२६ मतका साथ वडा अध्यक्ष पदमा विजयी हुनुभयो भने जितेन्द्र मुनंकर्मी, कृष्णनारायण दुमरू, तारादेवी शाक्य र विष्णुमाया कामी वडा सदस्य पदमा विजयी हुनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *