भर्खरै :

भक्तपुरमा नेमकिपाको विजय

वैशाख ३० गते सम्पन्न स्थानीय चुनावमा नेपाल मजदुर किसान पार्टीले भक्तपुर नपामा उत्साहप्रद विजय हासिल गरेको छ । पाँच वर्षअघि सम्पन्न स्थानीय तह निर्वाचनमा भक्तपुर नपाका दसवटै वडाका सबै पदाधिकारी निर्वाचित गर्न सफल नेमकिपाले यस पटक पनि अत्यधिक मतका साथ आफ्ना उम्मेदवार निर्वाचित गरेको छ । नेमकिपाप्रति भक्तपुरका जनताको विश्वास अझ प्रगाढ बन्दै गएको मत परिणामले प्रस्ट पारेको छ । दसवटै वडामा नेमकिपाका उम्मेदवारहरूको मत अघिल्लो निर्वाचनभन्दा बढेको देखिन्छ । नेमकिपाका उम्मेदवार र विपक्षी दलबीचको मतान्तर अझ फराकिलो बनेको छ ।
केही पर्यवेक्षकहरूको निम्ति भक्तपुरको चुनावी परिणाम अनौठो लागे पनि भक्तपुरको राजनीतिक इतिहास बुझ्ने जो कोहीको लागि यो परिणाम त्यत्ति आश्चर्य मान्नुपर्ने खालको होइन । नेमकिपाले भक्तपुरमा विगत पाँच दशकमा गरिरहेको सिद्धान्तनिष्ठ राजनीति, देश र जनताको निःस्वार्थ सेवा गर्ने भावना बोकेका कार्यकर्ता र जनताको साथ सहयोगमा आत्मनिर्भर बन्ने विचार नै भक्तपुरमा नेमकिपाले पाउँदै गरेको जनविश्वासका आधार हुन् । राजनीतिलाई ऐनकेनप्रकारेन पैसा कमाउने र व्यक्तिगत स्वार्थ सिद्ध गर्ने थलो बनाइँदै आएको परिस्थितिमा नेमकिपाले भक्तपुरलगायत आफूले स्थानीय पालिकामा जित्दै आएका क्षेत्रमा स्थानीय तहलाई प्राप्त अधिकारको अधिकतम प्रयोग गरी जनताको आधिकारिक सेवा गर्दै आएको छ । निःसन्देह पुँजीवादी संविधान र राज्य व्यवस्थाभित्र रहेर कुनै पनि स्थानीय पालिकामा समाजवादी व्यवस्था लागु गर्न सम्भव हुँदैन । तथापि, पुँजीवादी संविधानले कोरेको घेराभित्रै बसेर पनि जनताको सेवा गर्न केही गर्न सकिने र सिद्धान्तनिष्ठ राजनीतिले पुँजीवादी राजनीतिका विकृत पाटोको प्रतिरोध गर्न सकिने दृष्टान्त नेमकिपाले भक्तपुरमा प्रस्तुत गरेको छ ।
नेपालमा अहिले पुँजीवादी व्यवस्था भएको विषयमा कुनै सन्देह पाल्नुहुन्न । तथापि, भक्तपुर नपाले पुँजीवादी सीमितताको घेराभित्र पनि जनताको जीवनस्तर र सांस्कृतिक स्तर उकास्न उल्लेखनीय प्रयास गरेको छ । कुनै बेला नगरपालिका भवनभित्र पस्न सेवाग्राही नगरवासीले औँलाको नङ काट्नुपर्ने निर्णयदेखि ख्वप विश्वविद्यालय स्थापना गरी भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने लक्ष्यसम्मको दशकौँ लामो यात्रा मुख्यतः जनताको निःस्वार्थ सेवा गर्ने नेमकिपाको निःस्वार्थी भावनामा आधारित छ ।
यही सिद्धान्तको बाटोमा अघि बढेको नेमकिपाले भक्तपुरमा जनताको सेवामा प्राप्त सफलता आज देशको लागि उदाहरणीय बनेको मात्र छैन, भक्तपुरको उदाहरण देशका शासक दलको निम्ति निल्नु न ओकल्नु बन्दै आएको छ । आफूले अनेकन आरोप लगाउँदै आएको दलले नेतृत्व गरेको स्थानीय पालिकामा भएका काम र त्यहाँका जनताले दिँदै आएको विश्वासले शासक दलहरू वास्तवमै तिर्मिराएका छन् । त्यही भएर उनीहरू अनेकन अनर्गल प्रचार र झूट बोलिरहेका छन् । तर, जनताको आँखा दूरबिनसरह हुन्छ भन्ने कुरा भक्तपुरमा पटक–पटक पुष्टि भएको छ । पञ्चायतकालमा नेमकिपाको समूल नष्ट गर्न बुनिएको षड्यन्त्रदेखि आजका प्रचारयुद्धबीच भक्तपुरका जनताले नेमकिपालाई लगातार साथ दिँदै आएका छन् । पुँजीवादी शासक दलहरूको निम्ति आँखामा परेको धुलो बराबर बनेको भक्तपुर नपा र नेमकिपा सिध्याउन हरप्रयास भए । अन्ततः धर्तीमा टेकेको हर्कुलसलाई कसैले पराजित गर्न नसकेजस्तै भक्तपुरका जनताको अथाह समर्थनमा नेमकिपा अझ शक्तिशाली बन्दै गएको छ ।
नेमकिपाप्रति जनताको यो विश्वास नेमकिपाको निम्ति जिम्मेवारी पनि हो । जनताले नेमकिपाका प्रतिनिधिहरूलाई काम गर्न सहज अवस्था बनाइदिएका छन् । भक्तपुरलाई अझ उदाहरणीय बनाउन निर्वाचित जनप्रतिनिधिसँग धेरै बाटा छन् । अब विगतमा जस्तै नेमकिपाका निर्वाचित जनप्रतिनिधिहरूले जनताको सेवामा अझ दत्तचित्त भएर लाग्नुका साथै नयाँ परिस्थितिका नयाँ चुनौती सामना गर्न सधैँ जनताको साथमा हुन जरुरी छ । हिजोका धेरै अधुरा काम पूरा गर्न थप पाँच वर्ष समय जनताले दिएका छन् । यो अवधिमा नेमकिपाका जनप्रतिनिधिहरूले आफ्ना प्रतिबद्धताअनुसार जनतासामु गरेका वाचा पूरा गर्दै जानुपर्नेछ । आज नेमकिपाको विजयमा खुसी हुने जनताले आगामी दिनमा वाचा पूरा भए नभएका कुरा मिहीनरूपमा नियालिरहेका हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *