भर्खरै :

दैलेख चाविनपामा विजय जुलुस

दैलेख, ३ जेठ । नेपाल मजदुर किसान पार्टीको तर्फबाट दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिको विजय जुलुस सोमबार सम्पन्न भयो ।
चामुण्डाविन्द्रासैनी नपाको वडा नं १, ३ र ७ मा विजयी तीन जना वडाध्यक्ष र १० जना सदस्यसहितको विजय जुलुसले नपाको केन्द्र जम्बुकाँध बजार परिक्रम गरेको थियो ।
विजय जुलुस जम्बुकाँध बजारबाट विशालबजार पुगेको थियो । विशालबजारबाट प्रत्येक वडाका सर्वसाधारणसहितको जुलुस आआफ्नो वडातिर गएको थियो ।
पञ्चेबाजासहितको जुलुसमा नाचगान गरेर खुसियाली मनाइएको थियो । जुलुसमा एमसीसीविरुद्धका नारासमेत लगाइएको थियो । सर्वसाधारणले नवनिर्वाचित जनप्रतिनिधिलाई ठाउँठाउँमा अबिरसिन्दुर लगाएर स्वागत गरेका थिए ।
विजय जुलुस वडा नं १ को पानीचौरमा पुगेपछि आयोजित जनसभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष जग्यबहादुर शाहीले मतदातालाई धन्यवाद दिँदै नवनिर्वाचित प्रतिनिधिहरूलाई पार्टीको घोषणापत्रअनुसार इमानदारीसाथ काम गर्न अनुरोध गर्नुभयो ।
पार्टी वडा समितिका सचिव लालबहादुर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समितिका पूर्वअध्यक्ष पूर्णबहादुर शाही, जिल्ला सदस्य केशेन्द्र कार्की, नेमकिपा सुर्खेत जिल्ला सचिव धनेन्द्र विक, निर्वाचित वडाध्यक्ष उदय विक र सदस्य सुरेन्द्र शाहीले मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *