दैलेखको बिन्द्रासैनीमा कार्यकर्ता प्रशिक्षण
- आश्विन २१, २०८३
देशलाई सधैँ स्वाधीन र सार्वभौम मुलुक बनाइराख्न नेपाल मजदुर किसान पार्टी आवश्यक छ । विदेशी हस्तक्षेप रोक्न, सीमा अतिक्रमण रोक्न, विदेशी शक्ति राष्ट्रको उठबसमा चल्ने र दास मानसिकता अन्त्य गर्न देशमा नेमकिपा आवश्यक छ । विकासको निम्ति आएको रकममा अनियमितता रोक्न, भ्रष्टाचार हुन नदिन, चुहावट रोक्न नेमकिपा जरुरत छ । नेमकिपाका नेता तथा कार्यकर्ताहरू घूस खाँदैनन् । उनीहरू देश र जनताप्रति समर्पित हुन्छन् । उनीहरू पैसा र पदको निम्ति राजनीति गर्दैनन् । नेमकिपाका नेता तथा कार्यकर्ताहरू सिद्धान्त र विचारको राजनीति गर्छन् । आफूले निर्वाचनताका जनतामाझ गरेको प्रतिबद्धता लागु गर्न जोडतोड लाग्छन् ।
नेमकिपाका नेता तथा कार्यकर्ताहरू सेवा भावले काम गर्छन् । उनीहरू श्रमजीवी (बौद्धिक र शारीरिक) वर्गको पक्षमा काम गर्छन् । उनीहरू शत्रुसामु झुक्दैनन् । आर्थिक सहयोग र विकासको नाउँमा जस्तोसुकै सर्त पालना गर्दैनन् या सही गर्दैनन् । आफ्नो गाउँ, नगर या देशको अस्मितामा धक्का पर्ने र कठपुतली हुने काममा सहमति जनाउँदैनन् । नेमकिपाका नेता तथा कार्यकर्ताहरू धाक–धम्की दिँदैनन्, लोभलालच देखाउँदैनन्, पैसा बाँड्दैनन्, मत तान्ने नाउँमा भोज खुवाउँदैनन् । नेमकिपा देशलाई आत्मनिर्भर बनाउनुपर्ने पक्षमा छ । देशको सम्बन्ध भारतबाहेक अन्य देशसँग पनि राम्रो हुनुपर्छ, अन्य देशहरूसँग पनि कारोबार हुनुपर्छ भन्ने पक्षमा नेमकिपा रहेको छ ।
अरू दलका केही नेताहरूले निर्वाचनको बेला नेमकिपालाई यथास्थितिवादी भनी आरोप लगाए । वर्गसङ्घर्ष गरेर देशमा आमूल परिवर्तनको निम्ति राजनीति गरिरहेको दल नेमकिपालाई यथास्थितिवादी भनी आरोप लगाउनु सही होइन । समाजवादी गणतन्त्र स्थापना गर्न लाग्ने दल कसरी यथास्थितिवादी हुन्छ ? देश र जनताप्रति समर्पित भएर शोषितपीडित जनताको हितमा काम गर्ने दल कसरी यथास्थितिवादी हुन्छ ? शिशु स्याहार केन्द्र र कलेज खोलेर देशभरिकै जनतालाई सस्तोमा गुणस्तरीय शिक्षा दिने काममा लागिरहेको दल कसरी यथास्थितिवादी हुन्छ ?
झूटको खेती गर्ने दलका नेताहरू बुझ पचाइ पचाइ नेमकिपाको विरोध गर्छन् । इमानदारीपूर्वक देश र जनताको सेवामा जुटेका नेता तथा कार्यकर्ताहरू के यथास्थितिवादी हुन्छन् ? नेमकिपाका नेता तथा कार्यकर्ताहरू धोका दिँदैनन् । उनीहरू विकास योजनाका सबै आय–व्यय पारदर्शी गर्छन् । उनीहरू विदेशमा पैसा राख्दैनन् । जहाँ जहाँ नेमकिपा बलियो हुन्छ, त्यहाँ त्यहाँ भ्रष्टाचार हुँदैन, इमानदारीपूर्वक काम हुन्छ, सेवा भावले काम हुन्छ र विकास हुन्छ । यसकारण, भक्तपुर नगरपालिकामा झैँ चाँगु, सूर्यविनायक, मध्यपुर, जुम्ला, दैलेख, कालीकोटलगायत देशका विभिन्न गाउँपालिका र नगरपालिका तथा प्रदेश र संसद्मा पनि नेमकिपा आवश्यक छ या नेमकिपाका प्रतिनिधिहरू आवश्यक छ । यसबारे जनताले बुझ्नु आवश्यक छ ।
Leave a Reply