भर्खरै :

मङ्कीपक्सः १२ देशमा ८० जनामा सङ्क्रमण पुष्टि, दर्जनौँ अरूमा सरेको आशङ्का

कम्तीमा १२ वटा देशमा ८० जनाभन्दा बढीमा मङ्कीपक्स सरेको पुष्टि भएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले थप ५० जनालाई बिफरजस्तो उक्त भाइरल सङ्क्रमण सरेको आशङ्कामा अनुसन्धान भइररहेको जनाएको छ । तर, उसले कुनै देशको पनि नाम उल्लेख गरेको छैन ।
डब्ल्यूएचओले अझ बढी मानिसमा मङ्कीपक्स सर्न सक्ने भन्दै चेतावनी दिएको छ ।
मङ्कीपक्स युरोपका नौ देश, संयुक्त राज्य अमेरिका, क्यानडा र अस्ट्रेलियामा पनि पुष्टि भइसकेको छ । मङ्कीपक्स मध्य तथा पश्चिम अफ्रिकाका दुर्गम भेगहरूमा सामान्य मानिन्छ ।
यूकेको नेसनल हेल्थ सर्भिसका अनुसार यो एक प्रकारको भाइरसले गराउने दुर्लभ सङ्क्रमण हो । सङ्क्रमण हुँदा मध्यम खालका लक्षणहरू देखा पर्छन् अनि बिरामीहरू केही साताभित्रै निको हुन्छन् ।
यो भाइरस एक व्यक्तिबाट अर्कोमा त्यति सजिलै सर्दैन । जनसाधारणमा व्यापकरूपमा फैलिने जोखिम एकदमै कम भएको बताइन्छ ।
यो रोगविरूद्ध छुट्टै खोप उपलब्ध छैन । यद्यपि, बिफरविरूद्ध निर्मित खोपले ८५ प्रतिशत सुरक्षा दिन्छ । बिफर र मङ्कीपक्स भाइरसमा निकै समानता छ ।
मङ्कीपक्सको प्रकोप कति सामान्य
अहिलेसम्म युरोपका यूके, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटली र स्वीडनका जनस्वास्थ्य निकायहरूले आफ्नो देशमा मङ्कीपक्सका बिरामी फेला परेको पुष्टि गरेका छन् ।
शुक्रबार एउटा विज्ञप्ति प्रकाशित गर्दै डब्ल्यूएचओले अहिलेका प्रकोपहरू ‘असामान्य’ र ‘गैरस्थानिक’ बनेर फैलिएको जनाएको छ ।
रोगको निगरानी गर्न अनि को प्रभावित हुनसक्छन् र कस्तो सहयोग गर्न सकिन्छ भन्ने पत्ता लगाउन प्रभावित देशहरू र अरूसँग मिलेर आफूले काम गरिरहेको उसले जनाएको छ ।
रोगका कारण कुनै समुदायविरूद्ध लाञ्छना नलगाउन पनि उसले चेतावनी दिएको छ ।
“रोगको प्रकोप अन्त्य गर्न यो एउटा अवरोध बन्न सक्छ । किनभने, यसले मानिसहरूलाई उपचार खोज्न रोकिदिन सक्छ र त्यसबाट रोग थाहै नपाई फैलिन सक्छ”, डब्ल्यूएचओले बताएको छ ।
डब्ल्यूएचओका युरोप क्षेत्रीय निर्देशक हान्स क्लुगले ग्रीष्म याम सुरू हुँदा जमघट, पर्व र भोज गरिँदा यो रोग फैलिने गति बढ्न सक्ने चेतावनी दिएका छन् ।
उनका अनुसार अहिलेको सङ्क्रमण पुष्टि भएका बिरामीमध्ये एक जनाबाहेक अरू सबैले मङ्कीपक्स भेटिने ठाउँको यात्रा गरेका थिए ।
यूकेमा यो रोगको पहिलो सङ्क्रमणको विवरण मे ७ मा आएको थियो । ती बिरामी नाइजेरिया गएका थिए र इङ्गल्यान्ड फर्किनुअघि नै उनलाई सङ्क्रमण भइसकेको ठानिएको यूकेको स्वास्थ्य सुरक्षा एजेन्सीले जनाएको छ ।
मङ्कीपक्सको अहिलेसम्म कुनै उपचार छैन । तर, सङ्क्रमण रोकथाम र प्रकोप नियन्त्रण गर्न सकिन्छ ।
अहिले यूकेमा २० जना पुष्टि भएका सङ्क्रमितहरू भएको स्वास्थ्यमन्त्री साजिद जाभिदले शुक्रबार बताएका थिए ।

के भन्छन् नेपाली अधिकारी
अहिलेसम्म नेपालमा यो सङ्क्रमण कसैमा सरेको शङ्का नभएको अधिकारीहरू बताउँछन् । परीक्षण नै नभएकोले पुष्टि पनि भएको छैन ।
यद्यपि, अहिले मङ्कीपक्स फेला परेका देशबाट मानिसहरू आउजाउ गरिरहने भएकाले नेपालमा सतर्कता आवश्यकता भएको जनस्वास्थ्यविद्हरूको धारणा छ ।
नेपालमा मङ्कीपक्सबारे चासो देखिए पनि भौतिकरूपमै सतर्कता अपनाउनेबारे अहिलेसम्म कुनै कदम नचालिएको एक अधिकारीले बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले नेपालले विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका पर्खिरहेको बताए ।
खोप निर्माणका यी अग्रणी वैज्ञानिक जसलाई विश्वले बिर्सियो
“सरूवा रोगबारे सतर्कता अपनाउनुपर्ने भएमा विश्व स्वास्थ्य सङ्गठनले निर्देशिका जारी गर्ने गर्छ । अहिलेसम्म अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिका जारी भइसकेको छैन”, लालले भने ।
लालका अनुसार अहिलेसम्म दक्षिण अफ्रिकी देशहरूमा मात्र देखिएको यो सङ्क्रमणबारे नेपालका निकायहरूले पनि निगरानी गरिरहेका छन् ।
“अहिलेसम्म मानवबाट अर्को मानवमा सङ्क्रमण सर्ने पुष्टि भइसकेको छैन । तर, कपडाहरूबाट सर्छ भनिएको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिकाको निगरानी सूचीमा प¥यो भने हाम्रोमा पनि सतर्कताका कदमहरू चालिन्छ”, उनले भने ।
बिफरको खोप
यूकेका अधिकारीहरूले आफूहरूले बिफरको खोप किनेर भण्डारण गरेको र मङ्कीपक्सको जोखिममा पर्नसक्ने मानिसहरूलाई वितरण गरिने बताएका छन् ।
स्पेनका अधिकारीहरूले पनि महामारीसँग लड्न बिफरका हजारौँ खोपहरू खरिद गरेको त्यहाँको एउटा अखबारले जनाएको छ ।
अस्ट्रेलियामा फेला परेका प्रथम सङ्क्रमित यूकेको भ्रमण गरेर फर्किएका एक व्यक्ति भएको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ ।
उत्तर अमेरिकामा अमेरिकी राज्य म्यासचूसिटसका स्वास्थ्य अधिकारीहरूले क्यानडाको भ्रमणपछि एक जना व्यक्तिमा उक्त रोग देखिएको बताएका छन् ।
ती व्यक्तिको अवस्था ‘राम्रो रहेको’ र उनका कारण ‘सर्वसाधारणलाई कुनै जोखिम नरहेको’ अधिकारीहरूले बताएका छन् ।
– बीबीसी नेपाली सेवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *