यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
अमेरिकाको प्रजातन्त्र र मानव अधिकारको उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उर्जा सियाले जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरी तिब्बती शरणार्थीसँग भेट भएको खबरले राजनीतिक वृत्तमा चर्चाको विषय बन्यो । एक विदेशी उपमन्त्री उर्जा सरकारको अनुमतिबिना तिब्बती शरणार्थीहरूको शिविरमा कसरी पुगिन् । सरकारलाई जानकारी नदिई तिब्बती शरणार्थीहरूसँगको भेटभित्र पक्कै रहस्य लुकेको हुन्छ । दलाइ लामाको भेटपछि भएको तिब्बती शरणार्थीहरूको भेट प्रजातन्त्र र मानव अधिकारको लागि होइन तिब्बतीहरूबीच द्वन्द्व चर्काएर चीनविरोधी गतिविधिको कदम हो ।
साम्राज्यवादी देशले विश्वमा आतङ्क मच्चाइरहेको छ, पैसाको थैलो बोकेर राष्ट्रघाती सर्तमा सम्झौता गरेको छ । सैनिक धम्की, पैसाको लोभमात्र होइन देशका जनतालाई आतङ्कित पार्ने, द्वन्द्व चर्काएर देश कमजोर पार्ने काम अमेरिकी सरकारले गरिरहेको छ । साम्राज्यवाद भएसम्म आक्रमण र लुट भइरहन्छ, देश–देश जुधाएर, देशका जनताबीच द्वन्द्व चर्काएर संसारमा आतङ्क मच्चाउने काम अमेरिकाले गरिरहेको छ । अमेरिकी विदेशी मन्त्रीले मानव अधिकारको नाउँमा तिब्बती शरणार्थीहरूलाई उल्काएको छैन भन्न सकिँदैन । साम्राज्यवादी देशका नेता र मन्त्रीहरूले सहयोग, मित्रता, शान्ति, प्रजातन्त्र र मानव अधिकारको वकालत गरे पनि व्यवहारतः उनीहरू हिंस्रक स्वभावका हुन्छन् र उत्पात् मच्चाउने काम गर्छन् ।
चीन सरकारले तिब्बतमा अद्भूत ढङ्गले विकास गरिरहेको छ । त्यहाँको जनताको जीवनस्तर बढेको छ । तिब्बती जनताको जीवन सरल र सहज छ । उनीहरूको जीवन शान्तिपूर्ण छ । मानव अधिकार भनेको कुनै देशलाई टुक्राउनु होइन, देश टुक्राएपछि मानव अधिकार पाउँछ भन्ने होइन । दलाइ लामाको उद्देश्य तराईलाई ‘स्वतन्त्र’ गर्ने नाउँमा अलग्ग गर्ने हो । तिब्बतलाई अलग्ग गर्ने काम के प्रजातन्त्र हो, के त्यो मानव अधिकार हो ? ‘स्वतन्त्र’ को नाउँमा तिब्बत टुक्राउन चाहने दलाइ लामा र उनका समर्थक तिब्बतीहरूलाई उक्साएर के मानव अधिकार पाउँछ ? दलाई लामाको विचारलाई चीनले कहिले पनि समर्थन गर्दैन । तर, अमेरिकी सरकार तिनै व्यक्तिहरूलाई उक्साएर चीनविरोधी गतिविधि गर्दै छ । दलाई लामालाई अमेरिका र भारतले उक्साइरहेका छन् ।
भारतको हिमाञ्चलस्थित शिविरमा दलाई लामाले शान्ति सन्देश दिएको भनी उपमन्त्री सियाले कृतज्ञता व्यक्त गरिन् । अमेरिकाले दलाई लामाको उत्तराधिकारी छनोट गर्ने, तिब्बतको वातावरण संरक्षण गर्ने, तिब्बती जनताको पूर्ण अधिकारलाई फेरि पुष्टि गर्ने कानुन लागु गरेर चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको थियो । यसरी अमेरिका अरू देशको आन्तरिक मामिलामा ठाडो हस्तक्षेप गर्दै छ । अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेर, अरू देशका जनतालाई उल्काएर उत्पात् मच्चाउने काम प्रजातान्त्रिक हुनैसक्दैन । यो प्रजातन्त्रविरोधी कदम हो । प्रजातन्त्रविरोधी काम गर्नेहरू प्रजातान्त्रिक र मानव अधिकारका मन्त्री ? अमेरिकी विदेशमन्त्री उर्जाको नेपाल भ्रमण चीनविरोधी गतिविधि गर्न र गराउन भएकोमा शङ्का छैन । अतः तिब्बती शरणार्थीहरूसँगको भेटलाई चीनले असहमति जनाउनु स्वाभाविक हो ।
Leave a Reply