भर्खरै :

सत्तासीन दलका नेताहरूप्रति जनताको विश्वास गुमेकै हो ?

समाज र देशलाई परिवर्तन गर्नु छ भने मानिसमा राजनीतिक चेतना जरुरी छ । राजनीतिक चेतनासँगै मानिसमा नागरिक भावना र सांस्कृतिक स्तर पनि त्यत्तिकै आवश्यक छ । त्यस्तै सिद्धान्त र विचारप्रति पनि आस्था र विश्वास हुनुपर्छ । सत्तासीन दल र ठूला दलहरूले जनतामा विश्वास नगरेको, विश्वासघात गरेको, झूटको खेती गरेको या प्रतिबद्धता लागु नगरेको कारण हो या अन्य यस पटकको स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरूको नतिजा नसोचेझैँ भयो । हुन त अहिले मतगणना जारी छ । अरू थप के कस्ता अद्भूत नतिजा आउने हो, त्यो हेर्न बाँकी नै छ ।
यो चुनावमा सत्तासीन दलको नेतृत्व गर्ने नेका र प्रमुख प्रतिपक्ष दल एमालेको गठबन्धन भयो । गठबन्धन गर्दा तुलनात्मकरूपमा बढी सीट जित्नु स्वाभाविक हो । अहिलेसम्मको नतिजा हेर्दा कहीँ गठबन्धनको प्रमुख जितेका त कहीँ उपप्रमुख हारेको, कहीँ उपप्रमुख जितेको त कहीँ प्रमुख हारेको देखियो । पहिले ठूला दलहरूको पकड रहेको क्षेत्रमै स्वतन्त्र उम्मेदवार जिते । अरू त अरू एक्लै माइकिङ्ग गरेर चुनाव प्रचार गरेका व्यक्ति पनि जिते । कहीँ ठूला र सत्तासीन दलका उम्मेदवारसित स्वतन्त्र उम्मेदवारहरूले कडा प्रतिस्पर्धा गरे । चुनावको यो नतिजालाई कसरी मूल्याङ्कन गर्ने ? जनताको राजनीतिक चेतना बढेको मान्ने कि जनतामा ठूला र सत्तासीन दलका नेताहरूप्रति जनताको विश्वास गुमेको ठान्ने ¤
जेठ ८ गते प्रकाशित नागरिक दैनिकको पत्रिकाको शीर्षक छ, ‘दलभन्दा व्यक्तित्वलााई मत ।’ धरानका जनताले सामाजिक अभियन्ता हर्कराज राई (साम्पाङ) लाई अत्यधिक मत दिए । स्थानीय जनताले मुलुकको नेतृत्व गरिसकेका दलका उम्मेदवारलाई पत्याएनन् । ठूला दलका जनप्रतिनिधिहरूदेखि स्थानीय जनता वाक्कदिक्क या निरास छन् । धनगढी उपमहानगरपालिकामा पनि नेकाका उम्मेदवारलाई पछारेर स्वतन्त्र उम्मेदवार गोपाल हमालले धेरै मत ल्याए । व्यावसायिक र उद्योगी पृष्ठभूमि भएका हमाललाई जनताले पत्याए । सोही दिनको नागरिक पत्रिकामा लेखिएको थियो, ‘एक्लै लड्दा जितैजित, गठबन्धनमा हारैहार ।’
भ्रम फैलाउने, विश्वासघाती, देशविरोधी र भ्रष्टाचारी उम्मेदवारहरूलाई हराउनु राम्रो पक्ष हो । जनविरोधी उम्मेदवार सत्तासीन या जस्तोसुकै ठूलो दल भए पनि निर्वाचित गर्नु ठीक होइन । हरेक राजनीतिक दलले इमानदारीपूर्वक राजनीति गरेका भए, देश र जनताप्रति समर्पित भएर निःस्वार्थपूर्वक सेवा गरेका भए यस्तो स्थिति आउने थिएन । तर पनि किन्न हो कुन्नि ठूला र सत्तासीन दलका नेताहरूको घैटोमा अहिले पनि घाम लागेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *