भर्खरै :

थप चुनावी टिपोटहरू

१. आचारसंहिता
मतदान केन्द्र व्यवस्थापनसम्बन्धी सर्वदलीय बैठकमा जब आचारसंहिताबारे ‘आदर्श’, ‘बौद्धिक’ र ‘भद्र’ छलफल भयो, मलाई हाँसो थाम्न हम्मेहम्मे भयो । ‘मीठो’ छलफलपछि मीठो चियाले मन हरर बनाएर सबै बाहिरिए । त्यसैदिन राति १२ बजेबाट मौन अवधि सुरु भयो ।
भोलिपल्ट बिहान मजुवा बजारमा जताततै अनाम ‘लाल पर्चा’ ले सडक भरिएको पाइयो । खैलाबैला भयो । पर्चा कसले लेखेको हो, कतै लेखिएको थिएन । ‘मादल पार्टी’ ले पर्चा फालेको हल्ला फैलाएर बाली सोहोर्ने दुस्प्रयास पनि भयो । ध्यान दिएर पढ्नाले लेखक सजिलै ठम्याउन सकिन्थ्यो । पर्चामा पुरानो ‘लाल’ ले नयाँ ‘लाल’ लाई जथाभावी लाञ्छना लगाएको थियो । मानौँ पुरानो ‘लाल’ दूधको गङ्गामा भर्खरै नुहाएर निस्केको हो ।
अघिल्लो साँझ चिया खाएर निस्केका ‘भद्रजनहरू’ वडा नम्बर ८ को दोस्रो मतदान केन्द्र पिपलपाटामा आफ्नो छातीअनुसार बाझाबाझ गरे । निर्वाचन आयोगका कर्मचारी निरीह मुकदर्शक बनिरहे । दलीय पूर्वाग्रहको दलदलबाट नउम्केसम्म कर्मचारी हैसियतको यो नियति कसैगरी फेरिनेछैन ।
२. घाटाको लेनदेन
झुर्मका बुढा बा मजुवा बजार झरेका छन् । लुगाफाटो साधारण छ, जातले ‘साना’ हुन्, तर मनोबल उच्च छ । गाउँपालिका अध्यक्षका उम्मेदवारलाई दुईचार गुनासा सुनाएर आएका थिए । उनले भने, “झुर्मबाट झर्न गाडीले १०० रुपियाँ लिन्छ । १०० रुपियाँ नतिरेर बोल्ने हक किन गुमाउने ? पार्टीसार्टीको गाडीमा म किन हिँड्ने ? चुनावपछि सित्तैमा चढाउने होइनन् क्यारे ¤”
अघिल्लो दिन म्यालपोखरा गाउँका दुईचारजना अधबैँसे बजार झरेका थिए । लुगाफाटो साधारण थियो, जातले ‘ठूला’ थिए, मनोबल अति उच्च थियो । पार्टीको प्रचारमा प्रयोग भइरहेको गाडी र त्यसमा हिँड्ने पार्टीका प्रचारकलाई उनीहरूले भने, “हामीलाई गाउँसम्म पु¥याओ । हाम्रो भोट चाहिन्न र ?” भोटको लोभ र अलिअलि दबाबले गर्दा उनीहरूलाई गाडीमा चढाएर पार्टी प्रचारकहरू रूपाकोट डाँडातिर लागे । यात्रुहरू आफ्नो बार्गेनिङ पावरका कारण मखलेल थिए । यसमा कुनै शङ्का छैन, झुर्मका बुढा बाजत्तिकै छाती तन्काएर उनीहरूले गाउँपालिका अध्यक्षका उम्मेदवारसँग सवालजवाफ गर्न सक्नेछैनन् ।
चुनावमा प्रयोग भइरहेका गाडीहरू बजारका साहुहरूका हुन् । चुनावपछि लगानी र मुनाफा दुवै उठाउनेछन् ।
३. हजारको नोट
चुनावी प्रचारमा खटिएका गाडीहरूमा दिनभरि चढेर हाहाहुहु गरेको ज्याला हजार रुपियाँको नोट हो । ९ कक्षा पढ्ने छोराले हजार रुपियाँको नोट ल्याएपछि घरका सबैजना छक्क परे । पैसा पाएर परिवार प्रफुल्ल भयो । आमाबाले केटालाई केही पनि भनेनन् । हजार रुपियाँको हर्जाना देशका सबै गरिबगुरुवाले महँगीमा पिल्सिएर चुकाउनुपर्नेछ । ती आमाबालाई कसले बताओस् ?
चुनावपछि महँगी बढ्ने कुरा नेपाली परम्परा बनिसकेको छ । यसपालि चुनावी माहोलबीच नै महँगी बढाएर शासकहरूले चन्दादाताहरूको सेवा गरिसकेका छन् । हेर्दै जाऔँ, हजारको ब्याज कति हजारले तिर्नुपर्ने हो ?!
४. हाहाकार
मङ्गोल अनुहारका काकाले चियाको चुस्की लिँदै भने:
“दिन त १० हजार रुपियाँ पनि दिन आएका थिए पार्टीहरूले । तर, आफ्नै जातका मान्छे आएपछि ८ हजार रुपियाँमै परिवारको सबै भोट दिइयो । आखिर कसैले माखो मार्ने होइन ¤ हातमा आएको पैसा किन फर्काउने ?”
“स्वाभिमानी बन ।” यी भूपू ‘गुर्खा’ लाई कसैले यस्तो जवाफ दिन सकेन । स्वाभिमानीहरूको हाहाकार हुनुपर्छ । किनभने, होटल भर्खरै हाहाहुहु गरेर फर्केका युवायुवतीले भरिएको थियो ।
५. जात र वर्ग
पार्टीले प्रकाश दाइलाई टिकट दिने पक्का भइसकेको थियो । तर, गठबन्धनले गर्दा सानो पार्टी जनमोर्चालाई ठूलो पदको टिकट नदिने भयो । प्रकाश दाइ जसरी हुन्छ, उठ्ने पक्षमा थिए । त्यसैले स्वतन्त्र चुनाव चिन्ह लिएर गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिए । गाउँमा जातीय पेशाको रक्षार्थ प्रकाश दाइले खडा गरेको संस्थामा त्यसपछि फाटो आयो । संस्थामा अधिकांश व्यक्तिहरू एमालेका थिए । एमालेका ठूलाबडाहरूले गाउँमा एउटा हल्ला फैलाए : “प्रकाशलाई भोट दिए जातीय राजनीतिलाई भोट दिएझैँ हुन्छ । भोट त वर्गलाई दिनुपर्छ । सूर्यलाई दिनुपर्छ ।”
धौलागिरी, माछापुच्छ«े र अन्नापूर्ण हिमाल देखिने मुसिकोट मैदानमा बसेर बडीगाड खोलाबाट आएको बतासले उडाएको कपाल मुसार्दै प्रकाश दाइले मलाई सोधे, “बाहुनक्षेत्री उठ्दा वर्गीय मुद्दा हुने ? म आरने उठ्दा जातीय मुद्दा हुने ? यो पनि कहीँ तर्क हो ? म जात समेट्न चुनावमा उठेको होइन, वर्गीय मुद्दामा मेरो अटल विश्वास छ ।” मैले उत्तर दिइरहनुपरेन ।
६. वितृष्णा
जुगुमका तुलबहादुर पुन एमालेको ‘लालकिल्ला”’ का पुराना कार्यकर्ता हुन् । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र मनोरञ्जन कम्युनिस्ट समाजका सात मूल मन्त्र हुन् भनी कक्षा लिन हर्दम तयार रहन्छन् । तर, ‘कम्युनिस्ट’ पार्टीमाथि पहिलेजस्तो आस्था रहेन । पार्टीले बरोबर धोका दिँदै गएपछि उनको मनमा आस्थाको साटो वितृष्णाको विषवृक्ष झाङ्गिँदै गयो ।
झन्डै १० वर्षअघि उनी आस्थाको अर्को पथका यात्री बने । उनी हाल एक इसाई पादरी हुन् । पार्टी पैसावालहरूको सेवामा चल्न थालेपछि अहिले उनी ‘परमेश्वर’ को सेवामा लीन छन् । चुनावमा एमालेको प्रचारप्रसारमा खटिएका ‘पार्टीको सिद्धान्तबारे बेखबर’ उनका छोराले कहिले बाबुको लाइन समात्ने हुन् ? थाहा छैन । एमालेको नयाँ ‘भौतिकवादी’ पुस्ताले मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित वा तुलबहादुर पुनको बाटो समात्नेमा शङ्का गर्नुपर्ने प्रशस्त कारणहरू छन् । हिजो जसलाई ‘बाहुनवाद’ भनिन्थ्यो, त्यो अलगाव आधुनिककालमा अनेक किसिमबाट अभिव्यक्त हुनसक्छ । यो घोर निराशामा डुबेर आत्महत्यामा टुङ्गिन सक्छ वा अमानव भएर अपराधको भुमरीमा जाँकिन सक्छ । अथवा एउटा अलगावबाट जोगिन अर्को अलगावको हाँगो समात्ने हुनसक्छ, मान्छे सहर वा विदेश भासिन सक्छ । सुझासुधाहरूले मात्र पुरानाले जस्तो माला जप्लान् !
७. फोन कल
मौन अवधिभन्दा ठीक एक दिनअघि रूपाकोट डाँडामा घर बनाइरहेको एउटा सिकर्मी टोलीसित भेट भयो । सबैजना गरिब परिवारका थिए । चासो लिएर राजनीतिका कुराकानी गरे । आफू ठगिएको रामकहानी हाले ।
चुनावको दिन सिकर्मी टोलीका नाइके बाटोमा भेटिए । उनी असाध्यै खुसी देखिन्थे, मानौँ एकाबिहानै उच्चताभाषको चक्की खाएर आएका हुन् । “हामीलाई नभुल्नुहोला,” एक साथीले इसारा गरे । टोली नाइकेको जवाफ यस्तो थियो, “आज बिहानै काजी साबले मलाई फोन गर्नुभयो नि !”
उनको उच्चताभाष खासमा युगौँयुग डरधम्की र घुर्की देखाएर तल्लो वर्गको अभ्यन्तरमा रोपिएको लघुताभाष थियो । मान्छेलाई कमारो बन्ने बानी परेको हुन्छ । यो कुरा मेरो साथीले बुझेनन् । त्यसैले त्यस दिन घाँटी सुकाएको सम्झेर झनक्क भए ।
८. ‘ग्रेट कन्फेसन’
पराजुली बा सिस्नोजस्ता छन् । छोयो कि पोल्यो ! जोकोही परपरै बस्न रुचाउँछ उनीदेखि । भलै उनको स्वभाव अरूसँग टाँसिँदै पोलिरहने खालको छ ।
होटल चलाइरहेका एकजना गाउँले युवाले उम्मेदवारी दिएको देखेर उनको मनमा एउटा अनौठो सहानुभूति जागेको रहेछ । स्वभावले गर्दा कोमल कुरा उनको मुखबाट प्रायः निस्किन्न । मतदान सकिएपछि कुरैकुराको वेगमा उनले भने, “हामीले त जिन्दगी बर्बाद पारियो पारियो । होटल चलाउन छोडेर रोहन किन यता लागेको होला ?”
आस्थाको राजनीति गरेकाहरूको भनाइ होइन यो । मध्यम वर्गको छुचो र भोगी मान्छे पनि “लाल” राजनीतिबाट सन्तुष्ट नभएको प्रमाण हो । “त्यसो भए किन लाग्नुभएको छ त राजनीतिमा ? किन छोड्नुहुन्न ?” मनमा प्रश्न नआएको होइन । तर सिस्नो हुन् !! यत्ति भनेँ, “ग्रेट कन्फेसन !” (गजबको स्वीकारोक्ति !)
९. ‘ठूलो मान्छे’
‘ठूलो मान्छे’ बन्ने होइन । ‘मोदिआइन’ का यी शब्द स्तुत्य छन् । तर, बाटामा ‘ठूला मान्छेहरू’ भेटिइरहन्छन् ।
मतगणना सुरु हुँदाको रात होटल फर्किँदै थियौँ । निर्वाचन आयोगको कार्यालयअगाडि जम्मा भएको मान्छेहरूको भीड देखेर दिक्क लाग्यो । हठात रोहन दाइलाई भनेँ, “यत्तिका मान्छेहरू राजनीतिमा छन् । तैपनि, किन हाम्रो देश गरिब छ ? किन हामी अशिक्षित र बेरोजगार छौँ ?” यो प्रश्न हामीभन्दा ठीक अगाडिको टोली नाइकेले सुनेछन् । संयोग उनी बुटवलबाट आएका ‘ठूला मान्छे’ रहेछन् ।
भोलिपल्ट ती ‘ठूला मान्छे’ हामीप्रति नरम भए । नजानिँदो गरी तारिफ गरे । नजानेझैँ गरी मैले एउटा प्रश्न गरेँ, “नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्य कस्तो देख्नुहुन्छ ?” उत्तर जेलिएको थियो, “उज्ज्वल छ । पढेलेखेका युवाहरू आन्दोलनमा आएका छन् । राम्रो, एकदम राम्रो छ ।” अर्को निर्दोष प्रश्न, “के कम्युनिस्ट आन्दोलनको नेतृत्व माओवादी पार्टीले गर्न सक्छ ?” उनले भने, “गर्नसक्नुपर्ने हो, सकिरहेको छैन ।” केही छुटेझैँ गरी उनले थपे, “डेलिभरी दिनुप¥यो ।” ‘ठूला मान्छेहरू’ असल हुनैपर्छ भन्ने छैन । त्यसैले मनको एउटा प्रश्न गरिन, “पुँजीपतिलाई डेलिभरी दिने कि श्रमजीवीलाई ?”
प्रश्न नाजायज नहुने रहेछ । पछि मात्र यी ‘ठूला मान्छे’ ले बुटवलका एक व्यापारीलाई राम्रै रिझाइरहेका छन् भन्ने थाहा भयो । उनको “डेलिभरी” शब्दको अर्थ तब पत्ता लाग्यो ।
१०. ‘गाउँ फर्क’
तल्लो वर्ग लगातार गाउँ छोड्दै छ । लेकतिर मान्छेहरू उतिसारो भेटिन्नन् । रित्ता घरहरू धेरै भेटिन्छन् । कतिपय परिवार स्वदेशी सहरबजारमा छन् । कोही मुगलान भासिएका छन् । केही निम्न मध्यम परिवारहरू पनि विदेशिएका छन् । चुनावको बेला माथिल्लो वर्ग सलहझैँ गाउँ पस्छ । किनभने गाउँमा शोषणको विरासत छ, त्यहाँ शोषणको जरा गहिरो गाडिएको छ । मानिसहरू डर, धम्की र घुर्कीसामु पनि तर्सिन्छन् ।
झविन्द्र यसैकारण सहरबाट गाउँ पसे । सहरमा उनीजस्ता मान्छे पार्टीमा धेरै छन् । भुरे भए पनि राजा त राजै हो ! राजा बन्न गाउँ नगई नहुने देखेर हालै उनले गाउँमा शानदार घर ठडयाए । गठबन्धनको नेता बनेर वडा अध्यक्ष पड्काए । अनौठो कुरा, चुनावमा सहयोगी र साथीहरू पनि उनले सहरबाटै झिकाएका थिए । यसरी अझै पनि गाउँ जिम्मावाल, मुखिया, जमिन्नदार, बहिदार, खरिदारकै छोराछोरीको हातमा छ । कुरा निर्दल र बहुदलको होइन, राजतन्त्र र गणतन्त्रको होइन, ‘शासक को बन्ने ?’ भन्ने हो । लाग्छ, “गाउँ फर्क” अभियानको आकाशवाणीले आकाश थर्केकै छ ।
११. ‘जय मङ्गोल’
मङ्गोल लिबरेशन पार्टीका नगरपालिका अध्यक्ष उम्मेदवारले व्यक्तिगत कुराकानीका क्रममा भने, “हामी मूलबासी हो । तर, हामीलाई आदिवासी बनाएर बाहुनक्षेत्रीले हामीलाई पछाडि पारेका छन् ।”
“मूलबासी र आदिवासीमा के फरक छ ?”
“मूलबासीले स्थानीय तह जित्यो भने अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूले सहयोग गर्न कर लाग्ने रहेछ । अन्तर्राष्ट्रिय सन्धिसम्झौता नै रहेछ । तर, यिनीहरूको बुद्धि हेर्नुस् त, एमसीसी पास गरेर देश डुबाउन खोज्दै छन् । हामी गुरुङ मगर सोझा छौँ । यिनको भाउँतोमा लागेर यत्रो वर्ष कताकता लागियो । अब हामीहरू एक हुनुपर्छ । मङ्गोल र दलितहरू एक हुनुपर्छ ।”
“एमसीसी किन गलत रहेछ ?”
“देख्नुभएन, अमेरिकी विमान आयो । नेपाल सरकारले चेक पनि गर्न नपाउने ? जापानमा, भियतनाममा परेड खेल्यो । अब यहाँ खेल्छ । नेपालीलाई दुःख दिने भयो ।”
“अमेरिकाले बाहुनक्षेत्रीलाई मात्र छानीछानी दुःख दिने रहेछ कि कसो ? हामीलाई चाहिँ मूलबासी भनेर सहयोग गर्ने ?”
उम्मेदवारको धाराप्रवाह अर्ती बन्द भयो । यो देशमा सबै जाति अल्पसङ्ख्यक हुन् । कसैको भारी बहुमत छैन । तर, खस अहङ्कारले ग्रस्त राज्य व्यवस्थाले तल्लो वर्गलाई दलित, आदिवासी, सीमान्तकृतजस्ता अनेक एनजीओजन्य शब्दमा वर्गीकरण गरेर टुक्राएको छ । यसअघि चार÷पाँच वर्णमा मान्छेलाई बाँडिएको थियो । उनीहरूबीच छुवाछूत प्रथा चलाइएको थियो, सामाजिक जीवन खण्डित गरिएको थियो, एक रोगी समाजलाई जलमल गरिएको थियो ।
कुराकानीको बिट मार्दै उम्मेदवारसित भनेँ, “यो देश हामी सबैको हो । श्रमजीवी जनताको हो । त्यसैले ‘जय मङ्गोल’ भन्न छोड्नुस् । हामीसँगै मिलेर भन्नुस्, जातको होइन, भातको कुरा गरौँ ! भातको कुरा गर्नेहरू एक होऔँ !!”
१२. हल्लैहल्लाको चुनाव
“पार्टीमा म एमसीसीविरोधी हुँ । राजीनामा दिइसकेको छु । तैपनि, श्रीमतीलाई चुनावमा उठाइदिए । त्यसैले प्रचारमा हिँड्नै प¥यो ।” प्रचण्डलाई नरुचाएर राजीनामा दिएका गाउँका यी ‘पढेलेखेका’ मनुवा अहिले ‘वर्गशत्रु’ को प्रचारप्रसारमा जोडतोडले लागेका छन् ।
गठबन्धनविरोधीहरू उनलाई १५ लाख खुवाएर गठबन्धनले प्रचारमा लगाएको हल्ला गर्दै छन् । हावा नचली पात हल्लिन्न भनिन्छ । आखिर माओवादीका पछिल्ला धेरै ‘नेताहरू’ सम्भावनाको खोजीमा रातारात पार्टी प्रवेश गरेकाहरू हुन् । गाउँमा सुरुदेखि नै दुःखदायित्व गरेका धेरै माओवादी कार्यकर्ताहरू लाखापाखा छन्, एसियाका विभिन्न कुनाकाप्चामा रगतपसिना बगाउँदै छन् । कसैको अत्तोपत्तो छैन ।
फेरि, हावा चलेको भान पार्न पात हल्लाएको हुनसक्ने सम्भावना पनि उत्तिकै छ । मन्त्रयुद्धमा ‘लालकिल्ला’ का चाणक्यहरू पोख्त छन् ।
१३. ‘सिस्टम’
उनका धेरै साथीहरू विदेशमा छन् । उनी चाहिँ गाउँमा छिन् । निर्वाचन आयोगको कार्यालयको सुरक्षा गर्दै छिन् । नेपालीमा भन्दा अङ्ग्रेजीमा बोल्न रुचाउँछिन्, फरर्र अङ्ग्रेजी बोल्छिन् । भर्खरै इन्सपेक्टर बनेजस्ती लाग्यो । किनभने ‘सिस्टम’ (व्यवस्था) माथि उनले बढी नै ‘फेथ’ (आस्था) राखेको पाइयो । “नाम के हो ? घर कहाँ हो ? कसकी छोरी, कसकी नातिनी हुनुहुन्छ ?” हाम्रोतिर यसरी तीनपुस्ते सोधेपछि कुराकानी सुरु हुन्छ । किनकिन यो तरिका मन पर्दैन । गाता हेरेर किताबबारे धारणा बनाएझैँ लाग्छ । त्यसैले ‘डिटेलहरू’ तिर नलागी बातचितमा घुसेँ । वास्तवमा निर्वाचनबारे ‘शिष्ट’ कुराकानी अपच भइसकेको थियो । सुन्न नसकेपछि कुरा टुङ्गयाइदिन मन लाग्यो ।
एमालेबाट माओवादी र माओवादीबाट नयाँ शक्ति भएका एक मतदान प्रतिनिधिले बडो शानदार ढङ्गले निर्वाचन र लोकतन्त्रमा फुलबुट्टा भर्दै थिए । मैले भनेँ, “निर्वाचन लोकतन्त्रको कर्मकाण्ड हो, पाखण्ड हो । महानगरको मेयर उम्मेदवारले पनि ५ लाखभन्दा बढी खर्च गर्न पाउन्न । तर, यहाँ सामान्य वडा अध्यक्षको चुनावी खर्च २५ लाख नाघिसकेको छ । कसले कारबाही गर्ने ? छ कुनै ‘लोकतान्त्रिक’ निकाय ?” अलिअलि स्कुलिङ बाँकी रहेछ कि कुन्नि, मतदान प्रतिनिधिको प्रवचन टुङ्गियो । ‘पाँच वर्षको अन्तरालमा जनप्रतिनिधिले राम्रो काम नगरे पनि उसलाई ५ वर्षसम्मै सहनुपर्ने हो जनताले ?’ इन्सपेक्टर युवतीको सोझो प्रश्न थियो । मैले भनेँ, “नसहेर के गर्ने ? लोकतन्त्रको रमिता हेर्नुपरेन ?! लोकतन्त्रमा पाँच वर्षमा जनता व्यवस्थासँग घाँटीघाँटी हुनेगरी चिढिन्छन् । उनीहरूको पारो चरमचुलीमा पुग्छ । कोही आजीत हुन्छन्, कोही निराश हुन्छन् । यहीँ निराशा चिर्दै आशाको मधुरो बत्ती देखाउन चुनाव गरिन्छ । खसीराँगा काटिन्छ, रङ्गरमाइलो हुन्छ, अबीरमाला चल्छ । चुनावलगत्तै महँगी बढ्न थाल्छ । निराशाको अर्को पाँच वर्ष सुरु हुन्छ । चुप लागेर थप पाँच वर्ष कटाउनुबाहेक अर्को विकल्प देख्नुभएको छ ?”
‘सिस्टम’ प्रतिको उनको आस्था उदास सुस्केरामा परिणत भयो । ‘विकल्प’ नदेखाई एउटा ‘आस्था’ को कोपिला चुँड्नु नजाती थियो । तर, चुनावी उल्झनबीच त्यसबारे छलफल गर्ने फुर्सद पनि त भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *