भर्खरै :

बाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रममा नेमकिपाको संशोधन

भर्खरै हामीले मुख्यमन्त्रीका गम्भीर कुराहरू सुन्यौँ । त्यस क्रममा यो प्रदेशलाई समाजवादउन्मुख ढङ्गमै अगाडि बढाउनेमा उहाँले जोड दिनुभयो । त्यो नक्कली समाजवाद हो भनी हामीले आलोचना गर्दा उहाँले आपत्ति जनाउनुभयो । यो प्रदेशमा ११९ पालिकाहरू छन् । तीमध्ये एउटामा ६० वर्षदेखि अर्थात् २०१९ सालदेखि कब्जा गरी बस्यो भन्ने विषय उहाँले उठाउनुभयो । हाम्रो प्रदेशभित्र यदि कसैले कब्जा जमाएर बसेको छ भने मुख्यमन्त्रीजीकै दल सरकारमा छ, के हेरेर बस्यो ? यसकारण, जनताको मतको अपमान कोही पनि जिम्मेवार व्यक्तिबाट नहोस् भन्ने यो सदनसमक्ष अवगत गराउन चाहन्छु ।
नीति तथा कार्यक्रममा हामीले केही संशोधन राखेका थियौँ । हामीले बुँदा नं. ३० मा स्थानीय तहका हरेक वडामा शिशुस्याहार केन्द्र तथा बालोद्यान सञ्चालन गर्ने भनेर संशोधन राखेका थियौँ । बुँदा नं. ३३ मा सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न अनुमति प्रदान गर्न सकिनेछ भनेर थप्नुपर्ने हामीले संशोधन राखेका थियौँ । ‘वैदेशिक रोजगारीमा जाने युवाहरूलाई’ भन्ने हटाई ‘स्वदेशमै रोजगारी दिन युवाहरूलाई आवासीय सुविधासहित सीपमूलक तालिमहरू सञ्चालन गरी सीपयुक्त बनाउने’ भनेर संशोधन राखेका थियौँ । त्यसैगरी बुँदा नं. ९८ मा भक्तपुर साना औद्योगिक क्षेत्रमा प्रदूषण फैलाउने तथा अन्य ठूला उद्योग उपत्यका बाहिर स्थानान्तरण गरी सो स्थानलाई हस्तकला ग्रामको रूपमा सञ्चालन गरिने छ भनेर संशोधन राखेका हौँ । त्यसैगरी बुँदा नं. ११३ मा बाग्मती प्रदेशका भाषा, कला, संस्कृति तथा साहित्य संर्बद्धन तथा उन्नयनका लागि बाग्मती प्रज्ञा प्रतिष्ठान गठन गरिनेछ भनेर उल्लेख गर्नको निम्ति संशोधन राख्यौँ । बुँदा नं. १२४ मा पुरानो हेटौडा – काठमाडौँ रज्जुमार्ग या रोप्वेलाई फेरि पुनर्जीवन दिने उल्लेख गर्न संशोधन राखेका हौँ । बुँदा नं. १३४ मा प्रदेश सभा सदस्यहरूका निम्ति आवासगृहको बन्दोबस्त गर्ने, पुस्तकालयको बन्दोबस्त मकवानपुरमै गर्ने, यी संशोधनहरू हामीले राखेका थियौँ र यी उचित छन् । त्यसकारण, यो फिर्ता हुन नसक्ने म अवगत गर्न चाहन्छु ।
(बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा नेमकिपाको संशोधनबारे प्रदेश सभा सदस्य तथा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले जेठ १९ गतेको बैठकमा व्यक्त गर्नुभएको विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *