भर्खरै :

भ्रष्टाचार र अनियमितता रोक्न सरकारको पहल के ?

देश विकास नहुनु या ढिलाइ हुनुमा पटक–पटक सरकारको नेतृत्व गर्ने सरकारमा सामेल दलका नेता, मन्त्री र सांसदहरू नै जिम्मेवार छन् । ती दलका नेता र मन्त्रीहरूले आफ्नो मातहतका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई राजनीतिक प्रशिक्षण दिएका भए, देश र जनताको इमानदारीपूर्वक सेवा गर्न उत्प्रेरित गरेका भए, निःस्वार्थपूर्वक काम गर्न उत्साहित गरेका भए देशमा भ्रष्टाचार, कमिसन, कालाबजारी हुँदैनथ्यो, घूस खाँदैनथ्यो, विकासको रकम सबै विकासमै खर्च हुन्थ्यो या बीचमा चुहावट हुँदैनथ्यो । यस्तो राजनीतिक प्रशिक्षण नभएको कारण सत्तासीन दलका नेतादेखि कार्यकर्ता, अझ आफ्नो दलप्रति झुकाव राख्ने विभिन्न क्षेत्रका कर्मचारीहरू पैसा नै सबथोक हो भन्ने कुरामा भुल्दैनथ्यो, भ्रष्टाचार, कमिसनमा संलग्न हुँदैनथ्यो । यस कार्यमा आफूलाई ठूला, प्रजातन्त्रवादी, गौरवशाली भनिएका दलका नेता तथा मन्त्रीहरूले के गरेका छन् ? के ठूलो दल हुनु भनेको सरकारको नेतृत्व गर्नमात्र हो ? सरकारमा सामेल भएर देशको सुविधामा रजाइँ गर्नमात्र हो ? के सरकारको नेतृत्व गर्नु भनेको आफ्ना नेता तथा कार्यकर्ता पाल्न हो ?
देशमा मानव बेचबिखन, हत्या–हिंसा र बलात्कार आदि घटना भइरहनुमा सत्तासीन दलका नेता तथा मन्त्रीहरू नै दोषी छन् । मानव बेचबिखन रोक्न, हत्या, हिंसा र बलात्कार घट्ना रोक्न सरकारले के अभियान सञ्चालन गरेको छ ? सामाजिक अपराधमा संलग्न दोषीहरूलाई सरकारले के कारबाही गरिरहेको छ ? भ्रष्टाचार र अनियमितता रोक्न सरकारले पहल गर्नुपर्दैन ? के ठूलो र शक्तिशाली दल बन्नुको अर्थ देशमा सामाजिक अपराधीहरू बढाउनु हो ? उनीहरूको संरक्षण गर्नु हो ? उनीहरूबाट चन्दा लिएर पार्टी चलाउनु हो ? चुनाव खर्च जुटाउनु हो ? के अपराधीहरूलाई बढावा दिनु ठूला दलका नेताहरूको प्रजातान्त्रिक अभ्यास हो ? के यही हो सरकारको सुशासन र विधिको शासन ?
सत्तासीन दलका नेताहरू इमानदार भएनन्, दूरदर्शी भएनन्, देश र जनताप्रति जिम्मेवार भएनन् भने सरकारले कसरी जनताको सेवा गर्छ, विकासको मुहान कसरी फुटाउँछ ? अनि जनताको जीनवस्तर कसरी उठ्छ ? देश विकास नहुनुको कारण पनि सत्तासीन दलका नेताहरू देश र जनताप्रति जिम्मेदार नबन्नु नै हो । उनीहरूको अधिकांश समय भागबन्डामा अल्झिनु हो । सरकार र दलको नेतृत्व गर्ने नेता, मन्त्री र सांसदहरू पनि कस्ता कस्ता ! कुनै नेता भकभके । कुनै नेता आकाश–पाताल जोड्ने । कुनै नेता जसरी भए पनि एकचोटि मन्त्री बन्नैपर्ने । कुनै नेता विदेशीको इसारामा नाच्ने त कुनै नेता विदेशीको अगाडि झुक्ने र विदेशी शक्ति राष्ट्रले नेपाल र नेपालीको अहितमा सन्धि–सम्झौता गरे पनि आँखा चिम्ली समर्थन गर्ने या विरोधमा आवाज नउठाउने ! अनि कसरी देश बन्छ ? अनि कसरी देश स्वावलम्बी बन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *