भर्खरै :

समस्या बुझेर सरकार कहिले अघि बढ्ने ?

अहिले देश कता गइरहेको छ र देशको स्थिति कस्तो छ भन्ने कुरा विभिन्न पत्रपत्रिकामा छापिएका शर्षिकले नै थाहा हुन्छ । असार १७ को ‘राजधानी’ दैनिकमा ‘काङ्ग्रेसमा असन्तुष्टि समूहको बैठकः एकलौटी गरे विद्रोह गर्ने चेतावनी’, ‘भट्टराई–यादव सहमतिमा सम्बन्ध विच्छेद’, ‘मुख्यमन्त्री पाण्डे पद छाड्न अनिच्छुक’ आदि शीर्षकका समाचारहरू छापिए । सारमा देशको नेतृत्व गरिरहेका दलका नेताहरूभित्र असन्तोष छ, विवाद छ, एक समय मिलेका दलहरू पनि फेरि फुट्दै छन् भन्ने थाहा हुन्छ । त्यस्तै सोही दिनका अन्य पत्रिकाहरूमा ‘केयुकेएल र ट्याङ्करको पानीमा भेटियो झाडापखाला र हैजाको जीवाणु’, ‘जताततै पिउन अयोग्य पानी वितरण’, ‘भ्रष्टाचार मुद्दाः ठूलालाई सफाइ, सानालाई ठहर’, ‘दिनहुँ थपिँदै हैजाका बिरामी’, ‘बाढी पहिरोबाट १५ ले ज्यान गुमाए’ आदि शीर्षकका समाचारहरू छापिए । यी समाचारले वितरण भइरहेको खानेपानी शुद्ध नभएको, भ्रष्टाचारमा ठूलाले सफाइ पाउने र सानाले सजाय पाउने कुरा बताउँछ । एकातिर सत्तासीन दलका नेताहरू जुँगाको लडाइँ लड्दै छन् भने अर्काेतिर जनताको जीवन कष्टकरमात्र होइन सरकारको बेवास्ताले मर्दै छन् ।
केही दिनदेखि सुरु भएको मनसुनी वायुले १५ को ज्यान गइसकेको छ, सयौँ घर डुवानमा परिसकेका छन् भने कति घर बगाइसकेको छ । केयुकेएलले वितरण गर्दै आएको खानेपानीमा हैजा र जीवाणु भेटिएको जानकारी प्रकाशमा आएको छ । स्वास्थ्य कार्यालय काठमाडौँले सो पानी परीक्षण गर्दा पिउन योग्य नरहेको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्क रहन अपिल गरे पनि नियन्त्रणमा वास्ता नगरेको कारण हैजाको सङ्क्रमण बढ्दै गएको हो । यसतर्फ सरकारको ध्यान गएको देखिँदैन । दलभित्र पनि समस्या, देशभित्र पनि समस्या । समस्यै समस्या हेरेर या सहेर नेपालीहरू जिउन बाध्य छन् । समस्या समाधान गर्नेतर्फ सरकार लागेको देखिँदैन । यसरी नै दिन बित्दै गयो भने देश कहाँ पुग्ला ? देशलाई ठीक ठाउँमा पु¥याउने काम कसले गर्ला या जिम्मेवारी कसले बोक्ला ? समस्या समाधान गर्ने निकाय नै जिम्मेवार नभएपछि देशको विकास कसरी हुन्छ ? देशको मुहार कसरी फेर्छ ? एउटै पार्टीभित्रका नेताहरूको विचार किन फरक फरक भयो ? पार्टी एकताको सार लिन नपाउँदै या अनुभव नबटुल्दै किन फेरि फुट्छ या फुटाउन राजी हुन्छ ? पार्टी एकता हुँदा छाएको खुसी किन तीन चार वर्ष पनि टिक्दैन ? आफ्नै गठबन्धनका मुख्य मन्त्री हटाउन गठबन्धन दलकै सांसदहरूको हस्ताक्षर किन ? देशको यो गतिले के देशमा सङ्कट आउँदैन ? समस्या बुझेर सरकार कहिले अघि बढ्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *