भर्खरै :

चित्रकला प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम

भक्तपुर, १८ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा युथ कर्नर टीमको आयोजनामा शनिबार भक्तपुरको दरबार क्षेत्रमा आयोजित तेस्रो विद्यालयस्तरीय बृहत् चित्रकला प्रतियोगिता २०७९ को समापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थीहरूलाई नगद पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले सम्पदाको परिचय र पहिचान जोगाउन नयाँ पुस्ताका विद्यार्थीहरूलाई विद्यालयस्तरदेखि पढाउनुपर्ने बताउँदै भक्तपुर नपाले स्थानीय पाठ्यक्रम ख्वपको पहिचानमार्फत यहाँका ९२ वटा विद्यालयका विद्यार्थीहरूलाई सम्पदाको महत्वबारे अध्ययन अध्यापन गराउँदै आएको बताउनुभयो ।
असल गुरु बन्न असल विद्यार्थी हुनु आवश्यक भएको बताउँदै उहाँले विद्यार्थीले आफूलाई रुचि भएको विषयमा निरन्तर लाग्नुपर्ने र कुनै पनि प्रतियोगिता जित्नको लागि नभई केही नयाँ कुरा सिक्नको निम्ति हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले क्यामेराको विकास नहुँदाको समयमा चित्रकलाको धेरै महत्व भएको उल्लेख गर्दै भक्तपुर नपाले आत्मनिर्भरतालाई जोड दिँदै यहाँका सम्पदाहरू जनताको सहभागितामा गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले चित्रकला देशको कला संस्कृति र धरोहर जोगाइराख्न महत्वपूर्ण विषय भएको बताउँदै चित्रको भावबाट जनतालाई सचेत पार्ने काम चित्रकारहरूले गर्ने बताउनुभयो ।
नेपाल ललितकला प्रतिष्ठानका कुलपति केके कर्माचार्यले युथ कर्नर टीम सबै क्षेत्रमा क्रियाशील र सक्रिय क्लवको रूपमा रहेको उल्लेख गर्दै यस किसिमको प्रतियोगिता आयोजनाले विद्यार्थीहरूमा उत्साह थप्ने बताउनुभयो ।
कार्यक्रममा युथ कर्नर टीमका अध्यक्ष नविन श्रेष्ठ, रामबहादुर श्रेष्ठ, टीमका कोषाध्यक्ष हरिराम जोशी, निर्णायकहरू गोविन्दलाल सिंह डङ्गोल, श्रीभक्त प्रजापतिले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा काठमाडौँ, भक्तपुर र ललितपुरका ६०० जना विद्यार्थीहरूले भाग लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *