भर्खरै :

अश्लील तस्बिर र अश्लील खबर मन्द विष

जमाना सञ्चारको युग हो । समयको परिवर्तनसँगै सञ्चारले व्यापकता पाएको हो र सूचना प्रवाह पनि सहज र सजिलो भएको हो । संसारका प्रगतिको कुरा क्षणभरमै थाहा पाउनु राम्रै हो । तर, सञ्चार जगत्ले सूचना प्रवाहसँगै मानिसको मन बिगार्ने मन्द विष पनि छर्दै छ । कति सञ्चार जगतले भए नभएको र झूट खबरमात्र प्रचार गरेन बिस्तारै मान्छेको मन बिगार्ने अश्लील दृश्य, अश्लील खबर सूचना पनि प्रवाह ग¥यो । अर्धनग्न तस्बिरहरू, अर्धनग्न दृश्यहरू, अश्लील कुरा देखाएर सञ्चार क्षेत्रले गलत सन्देश प्रवाह गर्दै छ । यसले एकातिर युवाहरूको मन बिगार्दै छ भने अर्कोतिर विद्यालयका छात्रछात्राहरू पनि फेसबुक, टिकटक र अन्य सामाजिक सञ्जालमा परिवार र समाजमा नपच्ने, हेर्न लायक नभएका दृश्य, खबर र फोटो दिएर समाज भड्काउने काम गरिरहेका छ । जसले जस्तोसुकै भ्रम र झूटा खबर दिए पनि, अश्लील दृश्य देखाए पनि सञ्चार मन्त्रालय, सूचना मन्त्रीले बोलेका छैन या यसतर्फ सरकारको ध्यान पुगेकै छैन । यो देशकै विडम्बना हो ।
सामाजिक सञ्जालमा आउने धेरै समाचारहरू अपत्यारिला र अविश्वासिला हुन्छन् । समाचार एउटा हुन्छ शीर्षक अर्कै दिइएको हुन्छ या समाचारअनुसारको शीर्षक हुँदैन । गलत सूचना प्रवाह गरेर जनतालाई आकर्षित बनाउने या एकक्षण आनन्द दिने काम गर्नु उचित होइन । आजभोलि सामाजिक सञ्जालका अधिकांश समाचारहरू यस्तै भ्रम छर्ने खालका छन् । यस्तै समाचार र दृश्यहरू विद्यालयका स–साना विद्यार्थीको कक्षामा गफ हुन्छ या कक्षा कोठा गफको केन्द्र बन्छ । गफ गर्न पाएपछि विद्यार्थीहरू पढाइतर्फ ध्यान नै दिँदैनन् । उनीहरूलाई पाठमा रहेका कवि, कथाकारको नाउँ याद हुँदैन, पाठको शीर्षकको मतलब हुँदैन । तर, उनीहरू बाह्य जगतमा घटेका नराम्रा, अश्लील दृश्य र अश्लील समाचारको गन्थनमा भुल्छन् र मजाक लिन्छन् । यसले गर्दा विद्यार्थीको ध्यान अन्त मोड्दै छ । पढाइतर्फ चासो कम हुँदै छ । अभिभावकहरू आफ्ना सन्तानहरू के गर्दै छन्, कहाँ जान्छन्, कोसँग भेटघाट गर्छन् चासो राख्दैनन् । अभिभावकहरू आफ्ना सन्तानहरू गलत व्यक्तिहरूको फन्दामा परेको चाल पाउँदैनन् । अनि विद्यार्थीहरूको पढाइ खस्केको, बानी बिग्रेको या पढाइप्रति चासो नराखेको सबै दोष शिक्षकको टाउकोमा खन्याइन्छ । यसबारे शिक्षक, अभिभावक र विद्यालय प्रशासनले चासो राख्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *