सरकारको उपस्थिति खोइ ?
- श्रावण १, २०८३
मुलुक हिजो बाटो लागेन लागेन, आज बाटो लाग्छ कि ? नभए भोलि त बाटो लाग्छ । पक्कै पनि नेपाली जनताले प्रतिक्षा गरेको धेरै समय भइसक्यो, अझ धेरै दशकको भइसक्यो । तर, बाटो लाग्ने त प्रश्न नै छैन बरू ओरालो पो त लाग्दै छ । हिजोसम्म केही कुरामा वस्तुमा नेपाल आत्मनिर्भर थियो । तर, आज ती कुरामा पनि आफूलाई पुग्दो उत्पादन गर्न नसक्ने भो याने परनिर्भर हुनपुग्यो । यता नेपालले धरै वटा आवधिक योजना पूरा गरिसक्नुपर्ने हो र समयको हिसाबले पूरा गरी पनि सक्यो । तर, परनिर्भरताको क्षेत्र वृद्धि भएको छ । यो कुरालाई आवधिक योजना पूरा भएको मान्ने कि पूरा हुन नसकेको मान्ने ? मैले भन्नुपर्दा योजनाहरूको अवधि पूरा भइसकेका परन्तु योजना भने पश्चिम सेतीजस्ता एक कोदाली पनि नहिर्काएका धेरै वटा छन् । ती योजना किन कागजमा अघि सारियो भने जनतामा आशाको सञ्चार हुने भए । अब त केही हुन्छ कि ? केही होला जस्तो छ भनी एउटा भ्रम दिन सकियो । यस्ता भ्रम पत्याउने मान्छे नेपालमा अझै धेरै छन् । आज त भ्रम पत्याउनु नपर्ने हो तर उल्टो हिजोको भन्दा बढी पत्याउने भएर खडा छ । यस्ता भ्रम पत्याउनेहरू रहँदासम्म देश कुनै हालतमा पनि अगाडि बढ्दैन, कुनै देश पनि यस्तोमा अगाडि बढ्न सक्दैन । प्रगति हुनुपर्नेमा अगति र दुर्गति पो भइरहेको छ । सारै निराशा भो हो ?
मन्त्री भयो छवि हरायो
असार आउनुपर्ने हो यसपाला झन् बेलैमा आयो बेलैमा । सरकारसँग रासायनिक मल छ कि छैन त्यो हेरेन असारले । तर, सरकार भनेको जहिले जहिले जे जे आवश्यक पर्छ तहिले तहिले त्यो त्यो वस्तु उपलब्ध गराउने दायित्व लिएर बसेको संस्था हो । पढ्ने बेला विद्यार्थीलाई पढ्ने पुस्तक, कृषकलाई बिउ, मल छ छैन हेरेर आउनुपर्ने तर जो दुःख आउनुपथ्र्यो, आयो, जानुपथ्र्याे गयो विश्राम गरेन । कसैले मल ल्यायो ल्याए हेरेन यसपालाको असारले । असारभित्र आधा खेतमा पनि रोपाइँ सकिएन, रोपेको खेतमा पनि मल हाल्न पाइएन । पानी पर्याप्त नहुँदा रोपो चिरिएर छुट्टी छ । अब के कति धान फल्छ । आउने साल के खाएर बाँच्ने हो ? के खाएर चुठ्ने हो ? थाहा छैन । यसै त निर्यात कम भएर आयात बढी भएर वैदेशिक व्यापारघाटा १३÷१४ खर्ब रूपियाँ पुगिसकेको छ । अब देश उँभो लाग्ने कसरी ? ओखती के ? सरकार के गर्छ ? हरेक वर्ष असार आउँछ रोपाइँ हुन्छ, मल चाहिन्छ, सबैलाई थाहा छ । तर, सरकार आवश्यक मात्रामा मल ल्याउन सक्दैन । सरकार भनेको के ? प्रश्न उठ्नु स्वाभाविक भएन । यो वस्तु वस्तुसत्य सर्वसाधारण किसानहरूले कसरी बुझ्छन् र के निष्कर्ष छ यसको ? कुरो यो जे भए पनि यसरी राज्य चलाएर बस्नु के सोख होला ? तैपनि, सरकारमा भएका पार्टीका नेता सरकार छोड्न चाहँदैनन् । नयाँ मान्छे सरकारमा जान वा मन्त्री हुन हत्तेहत्ते नै गर्छन् । अब त यस्तो परिपाटी बस्यो दायित्व केही पूरा गर्नुनपर्ने । मन्त्री नहुँदासम्म स्वच्छ छवि भएको सांसद पनि मन्त्री भएपछि हरायो ।
सिप भए गा¥हो छैन
मैले बुझेसम्म सरकार भनेको एउटा दायित्व हो । सरकारमा जानै हुन्न, गएपछि दायित्व पूरा गर्नैपर्छ । एक वर्ष अपर्झटमा केही भयो दायित्व थपियो । सरकारमा रहेका मन्त्रीले जसरी पनि त्यो दायित्व पूरा गर्नैपर्छ । अन्यथा मन्त्री पद छोड्नुपर्छ । तर, हामीकहाँ मन्त्री भयो पुग्यो । दायित्व भनेको कुन जन्तुको नाम हो त्यति पनि हेक्का नराख्ने थुप्रै मान्छे मन्त्री भएका । निर्दल कालमा त यस्तो भयो भयो । तर, बहुदल कालमा यस्तै कुरा पुनरावृत्त हुँदा कस्तो कस्तो लाग्ने । के मन्त्री पद ठट्टाको पद हो ? व्यङ्ग्य हो ? आज प्रायः मन्त्री पद हास्यको व्यङ्ग्यको पदजस्तो भएको छ । राज्य प्रायः सबै क्षेत्रमा ओरालो लागेको छ । असल नाम हुन काम असल हुनुपर्छ । काम नअसल गर्ने नाम असल होस् भन्ने ¤ यो न्यून तहको प्रवृत्ति हो । यो प्रवृत्ति भएका मान्छेहरूको बोलवाला छ समाजमा । अनि त्यो समाज कस्तो होला ? जो जो व्यक्ति जुन जुन दायित्व बहन गर्न जुन जुन आसनमा आसीन छ त्यो त्यो व्यक्तिले आ–आफ्नो दायित्य ठिकसँग बहन गरिदियो भने देश बनाउन कहाँ गा¥हो छ र ? यो विशाल संसारमा कैयाँै राज्य सुचारू चलिरहेका छन् त ¤ आठ अर्ब मान्छेको पेट भर्नु छ यो पृथ्वीले अब कार्तिकपछि । यसरी हेर्दा उस्तै मान्छे आत्तिन्छ । तर, सबै मान्छे आत्तिँदैनन् । खोइ त संसार चलिराखेको छ । योग्य मान्छे ठाउँमा राखौँ उसले चलाउँछ । तर, हाम्रो नेपालमा त्यसो हुनसकेन ।
कसरी गर्ने सम्बन्धको परिभाषा ?
सफल र विफल उही तीन तीन अक्षरका शब्द हुन् । पछिल्ला दुई अक्षर पनि फल नै मा ती दुई अक्षर अगाडि ‘स’ र ‘वि’ छ । त्यो एउटा अक्षरले उल्टो वा सुल्टो परिणाम बोकेको हुनेरहेछ । ‘स’ भए असल ‘वि’ भए खराब ¤ यसपालाको प्रचण्डको भारत भ्रमण ‘स’ को ठाउँमा ‘वि’ लाग्यो । यसको माने विफल भयो । भारतका शक्तिशाली प्रधानमन्त्री मोदीले अस्ति आइतबार नेपालको प्रतिनिधित्व गर्दै भारतको दिल्ली भ्रमणमा जानुभएका प्रचण्डसँग ब्रेकफास्ट मिटिङ–भेटघाट राखिएको थियो । दिवाभोज होइन रात्रिभोज पनि होइन, खाजा पनि होइन मात्र बिहानको ब्रेकफास्ट भेट राखियो । यो सङ्केत हो भारत नेपालसँगको सम्बन्धलाई भारतका सार्वभौम नेता नरेन्द्र मोदी महत्व दिँदैनन् । अन्यथा, समय दिन नसकिने कुनै औचित्यपूर्ण कारण एवं आधार देखिएन । यो अवस्थमा अपमानको द्योतक हो कि सम्मानको ? कूटनीतिक भाषामा के अर्थ राख्छ सकारात्मक कि नकारात्मक ? गम्भीर सवाल भो । मोदीसँग ब्रेकफास्ट बैठकमा भेट र कुराकानी हुने नभएपछि प्रचण्ड किन दौडादौड गरी दिल्ली गएका ? के कूटनीति छ वा राजनीति छ यो यो घटनासँग ? सायद यति मूल्य र मान्यताहीन सम्बन्ध त यसअघि इतिहासमा कहिल्यै भएको थिएन । अब भविष्यमा पनि कहिल्यै हुनुहुँदैन । प्रचण्डले यो चरम उपेक्षालाई कसरी लिएका छन् ? यसले पनि उनको व्यक्तित्वको मूल्याङ्कन हुन्छ । लाग्छ, मलाई प्रधानमन्त्री मोदीको यो व्यवहारले नेपाल–भारत सम्बन्धको परिभाषा के–कसरी गर्न मिल्छ ?
Leave a Reply