भर्खरै :

विदेशी शासकहरू रिसाउलान् भनी देशघाती सम्झौता गर्ने ?

देशमा विदेशीको चलखेल घटेको छैन । विदेशी चलखेल बढ्नु राम्रो सङ्केत होइन । विदेशी चलखेलकै कारण नेपालमा देशघाती र जनविरोधी अनेक सन्धि र सम्झौता भएको हो । देशका शासकहरू देशको भन्दा बढी चिन्ता विदेशको लिन्छन् । देशको भूमि गुमाउनु परे पनि विदेशी शक्ति राष्ट्रले चित्त दुखाउला कि भनी नेपाली शासकहरू चिन्ता लिन्छन् । नेपाली भूमि गुमे पनि विदेशी शासकहरू रिसाउलान् भन्ने चिन्ता लिने नेताहरूले कसरी देश जोगाउलान् ? विदेशी मुलुकसँग सम्बन्ध राख्नु या सम्बन्ध सुदृढ बनाउनुको अर्थ असमान सन्धि र सम्झौता गर्नु होइन । देशघाती सम्झौता पारित गर्नु होइन ।
नेपालमा वैदेशिक ऋण बढ्दो छ । वैदेशिक ऋण र सहयोगले देशको बजेट तयार हुन्छ । लिइएको विदेशी ऋण चुक्ता गर्दैन । विदेशी ऋण बढ्दै गएपछि देशले कसरी तिर्ने ? विदेशी ऋण तिर्न नसकेरै श्रीलङ्कामा आर्थिक सङ्कट देखियो । अहिले श्रीलङ्कामा अराजनीतिक गतिविधि बढिरहेको छ । बाटा–बाटामा साङ्घातिक हमला भइरहेको छ, शारीरिक र मानसिक यातना दिइरहेको छ । परनिर्भर अर्थतन्त्रलाई सुधारेर आत्मनिर्भर बनाउने आर्थिक प्रगतिका मार्गहरू नअपनाइएसम्म समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको उद्देश्य पूरा हुनेछैन ।
श्रीलङ्काका शासकहरूमाथि राज्य शक्तिको दुरूपयोग गरेको, भ्रष्टाचार र भ्रष्टाचारीलाई प्रोत्साहन दिएको, विदेशी अनुदान र त्यसको कमिसनमा रमाएको आरोप लगाइएको छ । देशको अर्थतन्त्र दयनीय स्थितिमा पुग्दा पनि शासकहरूले सुधार्नेतर्फ ध्यान दिएनन् भन्ने आरोप उनीहरूमाथि लगाइएको छ । नेपालका शासकहरू पनि राज्यको शक्तिको दुरूपयोग गर्दै छन् । भ्रष्टाचारी, कमिसनखोर र कालाबजारीहरू सरकारको वरिपरि घुमिरहेका छन् । एमसीसी सम्झौता गर्नु अघि नै शासकहरूले कमिसन लिएको समाचारहरू आइरहेका छन् । सानोतिनो काम गर्न पनि विदेशीसँग गुहार्ने काम भइरहेको छ । केही नसोच्ने, केही नबनाउने र बनाउन अघि नसर्ने देशका शासकहरू सबै विदेशीले गरोस्, विदेशीले देओस् भनी पुकार गर्छन् । अनि देशमा कसरी विकासका पूर्वाधार तयार हुन्छ ? देशको लागि आवश्यक जनशक्ति कसरी तयार हुन्छ र नेपाल र नेपालीको लागि चाहिने आधारभूत आवश्यकताहरू कसरी पूर्ति हुन्छ ? अनि नेपाल परनिर्भर हुँदैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *