भर्खरै :

सिद्धान्त र विचारमा ख्याल नगर्नु राजनीतिक विचलन

सिद्धान्त र विचारमा ख्याल नगर्नु राजनीतिक विचलन

आफूलाई ठूला, शक्तिशाली, क्रान्तिकारी र समाजवादी भनी उफ्रने दलका नेताहरू जसरी भए पनि निर्वाचनमा जित्नैपर्ने दाबी गर्छन् । निर्वाचनमा हारेपछि पार्टी सुक्ने दर उनीहरूमा छ । यही कारण ती दलका नेताहरू सिद्धान्त र विचार मिले पनि नमिले पनि गठबन्धनमा जुट्छन्, जुट्दै छन् । सत्ता, शक्ति र सम्पत्तिको मोहजालमा परिसकेका कारण उनीहरू सिद्धान्त र विचारको वास्ता गर्दैनन् । पुँजीवादी सत्ताको बागडोर सम्हाल्दै उनीहरू शोषित पीडित जनताको मुक्ति खोज्छन् र संसदीय व्यवस्थाबाटै समाजवाद ल्याउने वाचा गर्छन् । त्यसैले, आफूलाई कम्युनिस्ट भनिने दल या माक्र्सवाद र लेनिनवादलाई मार्गनिर्देशक मान्ने दलका नेताहरू सङ्घर्षको कुरा गर्दैनन् । उनीहरू अब देशमा सङ्घर्षको आवश्यकता छैन भनी सामन्त र पुँजीपतिहरूको पृष्ठपोषण गर्छन् । सारमा, उनीहरू वर्गसङ्घर्ष छोड्छन् । तर, जनतालाई झुक्याउन, कम्युनिस्ट भनी देखाउन कहिलेकाहीँ उनीहरू समाजवादको कुरा गर्छन्, गरिरहेका छन् ।
सत्ताको निम्ति दलको सिद्धान्त र विचार दाउमा राख्ने कार्य सैद्धान्तिक अराजकता हो । सामन्तवादको जगमा उभेको या राजतन्त्रको छत्रछायामा हुर्किएको नेकाले सत्ताभोगको निम्ति राजनीतिक विचार या निष्ठा छोडेकोमा कुनै आश्चर्य छैन । तर, आमूल परिवर्तन गर्ने सिद्धान्त बोकेर स्थापना भएका सत्तासीन र ठूला भनिने कम्युनिस्टहरूले नै निष्ठा छोडेर राजनीति गर्दा पो आश्चर्यको विषय बन्यो । माक्र्सवाद–लेनिनवादलाई मार्गनिर्देशक मान्ने दलका नेताहरू के समाजवादी व्यवस्था ल्याउन लाग्नुपर्ने होइन ? के समाजवादी व्यवस्था आफै आउँछ ? सत्ता लोभमा फसेर, सिद्धान्त र विचार छोडेर समाजवाद आउँछ ? आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउनेतर्फ सत्तासीन कम्युनिस्टहरूले के काम गरेका छन् ? कुनै दल सत्तामा जानु एउटा पाटो हो भने विचार छोड्नु अर्काे पाटो हो । मुख्य कुरा दलको सिद्धान्त र विचार नै हो । राजनीतिक विचारलाई बेवास्ता गर्नु एक प्रकारको विचलन नै हो । सिद्धान्त र विचारको ख्याल नगर्ने दलले सही दिशा निर्देश कसरी गर्नसक्छ ?
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन गरेर सबैले बढी सीट जितेकै हुन् भनी गर्व गरे । मानौँ बढी सीट जित्नु नै क्रान्ति हो । प्रदेश र प्रतिनिधिसभामा पनि गठबन्धन हुने र माओवादी केन्द्रलाई देशको दोस्रो ठूलो दल बनाउनुपर्ने हुङ्कार पनि उनले गरे । निर्वाचन नहुँदै नेकाले माओवादी केन्द्रलाई दोस्रो ठूलो दल बनाउने प्रतिबद्धता गर्नुपर्ने या घोषणा गर्नुपर्ने अध्यक्ष दाहालको कस्तो विचार ! जनयुद्धको बेला देखिएको माओवादीको हुङ्कार अहिले पनि हटेको छैन । वास्तवमा कम्युनिस्ट भनिने दलका नेताहरूले कम्युनिस्टको सिद्धान्त र विचार उल्लङ्घन गरिरहेका छन्, कम्युनिस्टको बदनाम गरिरहेका छन् । यसरी सत्तामा जान तातिएका र लोभिएका दलका नेताहरूले जनताको रगत पसिनामा रजाइँ गरिरहेका छन्, होलि खेलिरहेका छन् । यसले राजनीतिक दलको विधान र उद्देश्यमा आघात पु¥याएको छ । राजनीतिक सिद्धान्त र प्रतिबद्धता उल्लङ्घन गरेर सत्तामुखी राजनीतिमा नेताहरू हाम फालेका छन् । यो देशकै लागि दुर्भाग्यको विषय हो ।

Leave a Reply

Your email address will not be published.