भर्खरै :

नक्कली कम्युनिस्ट पार्टीहरू क्रान्तिको कुरा गर्दैनन्

नक्कली कम्युनिस्ट पार्टीहरू क्रान्तिको कुरा गर्दैनन्

ठूला भनिएका नेपालका कम्युनिस्ट पार्टीहरू पनि माक्र्सवाद–लेनिनवाद आ–आफ्नो पार्टीको मार्गनिर्देशक भएको दाबी गर्छन् । तर, तिनीहरू नै माक्र्सवाद–लेनिनवादलाई बङ्ग्याउँदै बदनाम गरिरहेका छन् या पार्टीको निर्देशक सिद्धान्तविपरीत लागिरहेका छन् । संसारका कम्युनिस्टहरू क्रान्ति चाहन्छन्, क्रान्ति गर्न जनतालाई सचेत र सङ्गठित गर्छन् । तर, नेपालका सत्तासीन र ठूला भनिएका कम्युनिस्टहरू क्रान्तिको कुरा गर्दैनन्, अझ क्रान्तिविरोधी छन् । तर, तिनीहरू नै आफूलाई सक्कली कम्युनिस्ट दाबी गर्न चुक्दैनन् । माक्र्सवाद–लेनिनवाद भनेको देखाउने दाँत होइन त्यो देश, काल र परिस्थितिअनुकूल लागु गर्ने सिद्धान्त हो ।
क्रान्ति कसैको इच्छा, भावना र भाषणले मात्र हुने होइन । क्रान्ति गर्न बाह्य र आन्तरिक परिस्थिति मिल्नुपर्छ या तयारी गर्नुपर्छ । वस्तुगत परिस्थिति र मनोगत शक्ति दुवैको ठीकठीक मूल्याङ्कन गर्नुपर्छ । परिस्थिति तयारी नहुँदै या परिपक्व नहुँदै हतार–हतारमा क्रान्ति गर्दा असफल हुन्छ, बलिदानमा टुङ्गिन्छ । माओवादीले गरेको १० वर्ष लामो ‘जनयुद्ध’ त्यसको दृष्टान्त हो । परिस्थिति तयार नहुँदै ‘जनयुद्ध’ थालेकोले त्यो असफल भयो । त्यतिमात्र होइन माओवादी नेतृत्व जनताको भावनाअनुसार भन्दा विदेशी शक्तिको इशारामा चलिरहेको छ । त्यसैले माओवादी सरकारसामु झुक्यो । अन्ततः माओवादीले क्रान्तिकारी विचार नै छोड्यो र पुँजीवादी सत्तामा गएर रजाइँ ग¥यो । सारमा, माओवादी ‘जनयुद्ध’ वामपन्थी दुस्साहसवादमा टुङ्गियो ।
उत्ताउला कम्युनिस्टहरू ‘क्रान्ति’ र ‘क्रान्तिको जबरजस्ती परिस्थिति’ को फलाको गर्छन् । तिनीहरू परिस्थिति तयारी नहुँदै क्रान्तिको निम्ति तयारी गर्न आग्रह गर्छन् । तिनीहरू क्रान्तिको जबरजस्त परिस्थिति छ भनी जनतामा सन्देश बाँड्छन् र जनतालाई ‘युद्ध’ मा फसाउँछन् । जनयुद्ध देशको कुनै एउटा जिल्लामा जनता सचेत र सङ्गठित हुँदैमा हुने होइन । चिनियाँ नेता माओ त्सेतुङले एक समयमा भनेका थिए, “जनसमूह सजग हुन नपाउँदै हामी जाइलाग्नु हुँदैन, जाइ लागेमा त्यो दुस्साहसवाद हुनेछ ।” आज नेपालका केही कम्युनिस्टहरूले माओ त्सेतुङ विचारकै बदनाम गर्दै छन् । तिनीहरूको खोटपूर्ण, अव्यवहारिक सिद्धान्त र गतिविधिले माओ त्सेतुङ विचारधारा बदनाम भइरहेको हो । माओवादीहरूले माओ त्सेतुङ विचारधारालाई ‘माओवाद’ भन्दै फलाकिरहेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सरकारले माओ त्सेतुङ विचारधारा अपनाइरहेका हुन्, माओवाद होइन । अत ः माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई साँच्चै मार्ग निर्देशक मान्ने कम्युनिस्ट दलले सिद्धान्त र विचारलाई आफ्नो देशको माटो सुहाउँदो लागु गर्न राजनीतिक गतिविधि गरिरहेका हुन्छन् । क्रान्तिलाई अघि बढाउन रातो झन्डाको विरोध गर्न रातो झन्डा हल्लाउनेहरूसँग पनि सैद्धान्तिक सङ्घर्ष गर्नुपर्छ, त्यो कार्य नेमकिपाले गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *