भर्खरै :

सहकारीमा देखिएका समस्या तथा समाधान विषयक अन्तरक्रिया

सहकारीमा देखिएका समस्या तथा समाधान विषयक अन्तरक्रिया

भक्तपुर, ३० साउन । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को आयोजनामा सहकारीमा देखिएका समस्या तथा समाधान विषयक अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा उपरजिष्टार खिमानन्द आचार्यले तत्कालीन डिभिजन सहकारी कार्यालय खारेज भएपछि सहकारी अनुगमन कार्य कमजोर भएको स्वीकार्दै सहकारीको समस्या समाधान पनि सहकारीसँगै रहेको बताउनुभयो । सहकारी ऐनका व्यवस्थाहरू कार्यान्वयन गर्ने क्रममा कर्जा सूचना केन्द्रको मस्यौदामाथि छलफल भइरहेको उल्लेख गर्दै उहाँले कर्जा असुली न्यायाधीकरणको कार्यविधि स्वीकृतिको लागि मन्त्रालय पठाइसकेको बताउनुभयो । उहाँले सहकारीहरू बैङ्क हुन खोज्दा समस्या देखिएकोले समुदायमा आधारित शब्दलाई मूल मर्ममा रहेर सहकारी सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
नेफ्स्कुनका पूर्वअध्यक्ष कैलाशभक्त प्रधानाङले भक्तपुरमा अधिकांश सहकारी समुदायमा आधारित भएकोले राष्ट्रियस्तरमा देखिएको सहकारीको समस्या भक्तपुरमा नभएको बताउनुभयो । काठमाडौँ र ललितपुरमा देखिएको समस्या भक्तपुरलाई पनि असर गर्नेतर्फ उहाँले सचेत हुनुपर्ने बताउनुभयो । उहाँले स्थिरीकरण कोष गठन विधि सहकारी भावना तथा मर्मविपरीत रहेकोले संशोधन गर्नुपर्ने विचार राख्नुभयो ।
चाँगुनारायण नगरपालिकाका सहकारी शाखा प्रमुख शर्मिला पोखरेलले सहकारी दर्ता तथा सिफारिस गर्ने कार्य बन्द रहेको बताउनुभयो ।
सूर्यविनायक नगरपालिकाका सहकारी शाखा प्रमुख राजेन्द्रकुमार श्रेष्ठले सहकारीको मूल कुरा पत्ता लगाई समाधान गर्नुपर्ने विचार राख्नुभयो ।
भक्तपुर नगरपालिकाका वडाध्यक्ष हरिप्रसाद बासुकलाले सहकारीलाई उत्पादनमूलक क्षेत्रमा जोड्नुपर्ने विचार राख्नुभयो ।
सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीमा देखापरेका समस्या तथा समाधान विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । उक्त भेलाले वित्तीय अनुशासनमा रहेका र समुदायमा आधारित सहकारी संस्थामा सातातिना सङ्कटले असर गर्दैन, त्यस्ता संस्थाको विकास तथा प्रवद्र्धनमा टेवा पु¥याउने, सञ्चालकले बचत दुरूपयोग गरेको संस्थामा हाल सङ्कट आएको हुँदा उक्त कुरा जनतालाई जानकारी गराउने र सदस्यहरूलाई सहकारीको निरन्तर शिक्षा प्रदान गर्ने निष्कर्ष निकाल्यो । त्यस्तै, तरलता अभाव अवस्थामा संस्थाबाट घरजग्गा खरिद नगर्ने र क्षमताभन्दा ठूलो ऋण लगानी नगर्ने, सदस्यकेन्द्रित सेवा र व्यवसाय तथा कार्यक्रमहरू सञ्चालन गर्ने, सहकारीबाट आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको सकारात्मक प्रभावका बारेमा प्रचारप्रसार गर्ने निर्णय पनि सो भेलाले ग¥यो ।
वित्तीय अनुशासनका मापदण्डहरू पूर्णरूपमा पालना गरी कारोबार गर्ने, सदस्यहरूको बचत दुरूपयोग गर्ने सञ्चालकहरूलाई कारबाहीको माग गर्ने, सहकारी संस्थाहरूको समयमै साधारणसभा सम्पन्न गरी सदस्यलाई सुसूचित गर्नुपर्ने र सहकारीको पैसा सहकारीमा राखी अभियानलाई बलियो बनाउँदै लाने निष्कर्ष पनि भेलाले ग¥यो ।
कार्यक्रममा सङ्घका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य र सचिव जगनाथ प्रजापतिले कार्यक्रमको आवश्यकतकबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *