भर्खरै :

मादल र बेला बाजा तालिम सम्पन्न

भक्तपुर, ३० साउन । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उपसमितिको आयोजनामा सञ्चालित २ महिने मादल तालिम तथा ५ महिने बेला बाजा (ख्ष्यष्लि) तालिमको प्रमाणपत्र वितरण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले सांस्कृतिक विधा भनेको कर्णप्रिय हुन्छ, सङ्गीत एकमात्र यस्तो विधा हो जसले सबैभन्दा पहिला सबै प्राणीहरूको ध्यानाकर्षण गर्दछ र यसको मीठो धुनले कानलाई मात्र होइन मनलाई पनि छुने गर्दछ भन्नुभयो । कोरोना महामारीको समयमा सङ्गीतकर्मीहरू बढी सुरक्षित रहेको चर्चा गर्दै उहाँले अहिले सांस्कृतिक विधालाई मात्र होइन आफ्नो मातृभाषा पनि जोगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिले भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले आर्थिक कारोबारलाई मात्र होइन, सांस्कृतिक स्तरलाई माथि उकास्नको लागि धिम्मे बाजा, बाँसुरी बाजा, बेला बाजा र मादल बाजाको तालिमलाई निरन्तरता दिँदै आएको बताउनुभयो । उहाँले आगामी दिनहरूमा धाँ बाजा, पछिमा, पोङ्गा र सारङ्गीजस्ता लोपोन्मुख हुन लागेका सांस्कृतिक विधाहरूमा नयाँ पुस्ताहरूलाई तालिमहरू दिई हस्तान्तरण गर्दै जाने बताउनुभयो ।
प्रशिक्षक रवि कपालीले भक्तपुर आफै एउटा कला, संस्कृति र संस्कारले भरिपूर्ण रहेको र यहाँको मूर्त तथा अमूर्त कलाले गर्दा नेपालमा मात्र होइन विश्वसामु नै चिनिएको छ, आज हाम्रा कतिपय संस्कृतिहरू नयाँ पुस्तामा हस्तान्तरण गर्न नसक्दा हराउँदै गइराखेको बताउनुभयो ।
४२ जना बेला तालिमका प्रशिक्षार्थीहरू र २९ जना मादल तालिमका प्रशिक्षार्थीहरू सहभागी भएको उक्त कार्यक्रममा सञ्चालक सदस्य एवं सांस्कृतिक उपसमितिका संयोजक नारायणी खोँजु, प्रशिक्षक रोशन भासिमा, प्रशिक्षार्थी गोपालकृष्ण प्रजापति, पञ्चरेखा प्रजापति र सांस्कृतिक उपसमितिका सदस्य दिलबहादुर कासिछ्वाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *