भर्खरै :

ठेकेदार र बिचौलियाहरू नेताहरूको संरक्षणमा !

ठेकेदार र बिचौलियाहरू नेताहरूको संरक्षणमा !

सत्तासीन र ठूला दलका नेताहरू ठेकेदार, बिचौलिया, ठूलठूला व्यापारी र आपराधिक व्यक्तिहरूको वरिपरि घुमिरहेका छन् भन्ने समाचार सञ्चारमाध्यममा बेलाबखत आएकै हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ठेकेदार शारदाप्रसाद अधिकारीको आलिसानमा महलमा बसिरहेका छन् । बदनाम भएको शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिका ठेकेदार अधिकारीको घरमा नबस्ने उद्घोष दाहालले पहिले नै गरिसकेका थिए । तर, उनले आफ्नो उद्घोष आफैले उल्लङ्घन गरिरहेका छन् र ठेकेदार अधिकारीको संरक्षण गरिरहेका छन् । माओवादी अध्यक्ष दाहालले बदनाम भएका ठेकेदार अधिकारीको आलिसान भवन किन छोडेनन् ? आम जनताको चर्चाको विषय बनेको छ । यतिबेला दाहालका घरबेटी अधिकारीको कम्पनी शैलुङ कालोसूचीमा पर्ने खबर प्रकाशमा आएको छ । सम्झौताअनुसार ठेकेदार अधिकारीले समयमा सडकको काम नगरेपछि सडक विभागले शैलुङ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।
ठेक्का लिएर काम नगर्ने, काम निकै ढिलो गर्ने र काम नगरी विकासको रकमको ब्याज लिएर पैसा असुलिरहने अधिकारीको कम्पनीलाई कालोसूचीमा राखेर पुग्दैन । समयमा काम नभएर विकासमा धेरै काममा बाधा पुगेको छ । त्यसको क्षतिपूर्ति पनि राज्यले तिराउनुपर्छ । कारबाही गर्नुपर्ने ठेकेदारलाई पटक–पटक म्याद थप गरेर सरकारले मौका दिइरहेको छ । यसबारे भदौ २ को कान्तिपुर दैनिकमा ‘सडक अलपत्र पार्दै घरबेटी’ शीर्षकको समाचार छापियो । समाचारमा ‘१० आयोजना अलपत्र, अधिकारीका ठेक्कामा आठौँ पटकसम्म म्याद र बजेट थप्दै सरकार’ शीर्षक पनि छापियो । कमलविनायक–नगरकोट सडक २०७२ मै बनाउनुपर्ने थियो । तर, हालसम्म पूरा भएको छैन । ढोलाहिटी–सुनाकोठी–चापागाउँ सडक २०७४ मा पूरा गर्नुपर्ने थियो, त्यो पनि पूरा भएको छैन । त्रिपुरेश्वर कलङ्की नागढुङ्गा सडक २०७३ मै पूरा गर्नुपर्ने थियो ।
यसरी विकासको बजेटमा खेलबाड गर्ने ठेकेदारहरूलाई सातौँ, आठौँ पटक म्याद थप गरेर राज्यले किन प्रोत्साहन गरिरहेको हो ? समयमा सडक पनि नबनाउने अनि ठेकेदारले रकम बढाएर लिने काम भइरहेको छ । नगरकोट सडक निर्माणबारे सरकारको सदन र सडकमा धेरै पटक ध्यानाकर्षण भइसकेको थियो । नेमकिपाका सचिव एवम् सांसदले सदन र सडकमा धेरै पटक आवाज उठाए पनि सरकारले टेरपुच्छर गरेको छैन । यसले थाहा हुन्छ, सत्तासीन दलका नेताहरू ठेकेदारको पछि लागिरहेका हुन्छन् । त्यस्तै ठेकेदारहरूबाट पार्टीले धेरै पैसा असुलिरहेको हुन्छ । त्यो पैसा नै निर्वाचनमा प्रयोग हुन्छ । त्यो पैसाले सामान बाँड्न र भोज खुवाउन प्रयोग भएको हुन्छ । यसरी सत्तासीन दलका नेताहरूले देशको राजनीतिलाई गलत बाटोमा लगिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *